सामाजिक सञ्जालमा आपत्तिजनक पोष्ट नगर्न काउन्सिलको आग्रह
काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका सामग्रीहरु सामाजिक सन्जालमा पोष्ट नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय मुलुकका केही ठाउँहरुमा सामाजिक सद्भावमा असर गर्ने खालका गतिविधिहरू भइरहेकोप्रति लक्षित गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा मुलुकका केही भागमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेका छन् । यस्ता कार्यमा फेसबुक, ट्वीटर, युट्युब टिकटकजस्ता सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा भ्रम समेत सिर्जना गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
काउन्सिलले भनेको छ, ‘परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरूपमा सामाजिक सञ्जालमा गलत र मिथ्या सूचना राख्नु, जातजाति, धर्म, सम्प्रदाय, सार्वजनिक शिष्टता र नैतिकताको प्रतिकूल सामग्री पोष्ट हुनु यसको दुरुपयोग हो । काउन्सिल यस्ता आपत्तिजनक सामग्री पोष्ट नगर्न/नगराउन सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गर्दछ ।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment