मिथिलामा आज कठोर विधिको निराहार जितीया व्रत बस्दै

डिसी नेपाल
१९ असोज २०८० ७:३८
104
Shares

महोत्तरी। सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन्। असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन्।

बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन्।

असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ। एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ। तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि (९.२७) सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत सुरु गरेका हुन्।

सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ। पितृपक्ष सुरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे नौ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन्। व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरेका थिए।

मधेसको प्राचीन मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै सुरु हुन्छ। यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ।

व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ। त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ। आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने बर्तालु आमा बताउँछन्।

सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित बर्तालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ। यस व्रतमा पुरुषले पितृपक्षमा दिवंगत आफन्तलाई तर्पण दिएजस्तै बर्तालुले दिवंगत आफन्त महिलालाई तर्पण दिने गर्दछन्।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत संकल्प गरिन्छ।

बर्तालुुले दिवंगत सासू, जेठानी, बूढीसासू, नन्द-आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितको भनाइ छ। ती सबै दिवंगत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ। त्यही नै व्रतका आराध्यदेव जितवाहनको कथा सुन्ने परम्परा छ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन्। द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन्।

राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको मानिन्छ। यस क्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा सजिलोका लागि मधेसका कैयन स्थानीय तहले बर्तालुका लागि बिदाको घोषणा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *