टी-२० त्रिकोणात्मक सिरिज : फाइनलमा यूएईसँग नेपाल पराजित

डिसी नेपाल
१० कार्तिक २०८० १५:१२

काठमाडाैं। नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा नेपाललाई चार विकेटले हराउँदै यूएईले सिरिजको उपाधि हात पारेको हो।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे। मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए।

अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए। नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए।

त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए।

आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए। यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए। जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो।

नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो। लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *