टी-२० सिरिज : नेपालसामु ११६ रनको लक्ष्य
काठमाडौं। चार देश सम्मिलित टी-२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्दै सात विकेट गुमाउँदै एक सय १५ रन बनायो। तान्जानियाका लागि हुड्डा ओमरेले २५, ऐशा मोहमदले २१, साउम मातेले १६, कप्तान फतुमा किबाशुले ११ तथा मोनिका पाश्कलले १० रन बनाइन्।
बलिङतर्फ नेपालका लागि संगीता राईले दुई तथा रुविना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले एक एक विकेट लिइन्।
ब्याटिङ गर्ने क्रममा केहीबेर अघिसम्मको खेलमा नेपालले ६ ओभरमा पाँच विकेट गुमाउँदै १९ रन बनाएको छ। नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगाेल, संगीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।
कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो। क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन्।
नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment