दक्षिण एसियाली कराँते च्याम्पियनसिप मंसिर १६ देखि

डिसी नेपाल
१ मंसिर २०८० १८:०१

काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप मंसिर १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदैं प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने समेत जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ ।

क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराँते महासंघका महासचिव दावा गुरुङले जानकारी दिए । क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । जम्मा ३ सय ५३ खेलाडीको सहभागिता रहने जनाइएको छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउँदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराँते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । खेल खेलाउन ३ टाटामी (म्याट) प्रयोग गरिने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिता अघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराँते एकेडेमी हलमा हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *