कतारमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन सम्पन्न
काठमाडौं। कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो।
महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए।
कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए। कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कुटनीतिक जिम्मेवारी सम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा योगदान दिएको उल्लेख गरे ।
गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष भट्टले साहित्यकार क्षेत्रीको एकल वाचन कार्यक्रमबाट नेपाली भाषा साहित्यमा टेवा पुगेको बताए। सो अवसरमा कवि क्षेत्रीलाई सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment