विश्वकप फाइनल : अस्ट्रेलियाले टस जितेर बलिङ रोज्यो

डिसी नेपाल
३ मंसिर २०८० १३:५९

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दैछन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ रोजेको छ ।

यी दुई टिम एकदिवसीय विश्वकपको फाइनलमा दुई दशकपछि भिड्न लागेका हुन् । यसअघि २००३ को विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया भिडेका थिए । त्यतिबेला रिकी पोन्टिङको कप्तानीमा रहेको अस्ट्रेलियाले उपाधि जितेको थियो ।

फाइनलको यात्रा तय गर्न भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले हराएको थियो। यसैगरि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको हो।

लिग चरणमा दक्षिण अफ्रिकासँग पराजय व्यहोरेर सेमिफाइनलमा दक्षिण अफ्रिकालाई नै रोक्दै फाइनल पुगेको अष्ट्रेलिया भारत विरुद्ध पनि फाइनल जित्ने लक्ष्यमा छ।

उता लिग चरणका सबै ९ खेलमै जित हासिल गरेको भारतले अष्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो। यही मनोबलमा भारत आज मैदानमा उत्रँदैछ।

विगतमा हेर्दा विश्वकपमा १३ खेलमा अस्ट्रेलिया ८-५ ले अगाडि छ। तर पछिल्लो ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ। जारी विश्वकपको फाइनल सम्म आइपुग्दा भारत अपराजित टोली हो।

उत्कृष्ट प्रदर्शन गरिरहेको भारतीय खेलाडीहरु बलिङ र ब्याटिङमा अब्बल देखिएका छन्। जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा भारतीय विराट कोहली नै छन्। उनले अहिलेसम्म ७११ रन बनाएका छन्। त्यस्तै बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन्।

त्यसैले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको भारत घरेलु मैदानमा उपाधि जित्दै इतिहास बनाउने लक्ष्यमा छ। पाँच पटक उपाधि जितिसकेको अस्ट्रेलिया आठौंपटक विश्वकपको फाइनलमा खेल्दैछ भने दुई पटक उपाधि जितेको भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ।

समग्रमा विश्वकपको इतिहास र वर्तमानको प्रदर्शन हेर्दा फाइनल खेल रोचक हुने निश्चित छ। सन् १९७५ बाट खेलाउन थालिएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन्। यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक(एक पटक उपाधि जितेकाछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *