हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुँदै

डिसी नेपाल
१२ मंसिर २०८० १२:१२

मकवानपुर। हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए। अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उनले बताए।

प्रतियोगिताका विजेताले रु एक लाख २५ हजार, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ४० हजार नगदसहित प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले जनाए। यसैगरी प्रतियोगितामा चौथो हुनेले रु २५ हजार र पाँचौँ हुनेले २० हजार जित्नेछन्।

यस्तै छैठौंँदेखि दशौँं स्थानसम्मका प्रत्येक प्रतियोगिले रु १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले रु ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए।

प्रतियोगिता आयोजना गर्नका लागि करिब रु ६२ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वीस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले रु दश हजार तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ।

प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले बेहोर्ने छ । प्रतियोगिता मङ्सिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
(((




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *