के आज भारतले टि-२० क्रिकेटमा पाकिस्तानको विश्वरेकर्ड तोड्न सक्ला ?

डिसी नेपाल
१२ मंसिर २०८० १३:४३

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेल आज गुवाहाटीमा हुँदैछ । यदि भारतीय टोलीले यो खेल जित्यो भने सिरिज जित्नुका साथै विश्व कीर्तिमान पनि बनाउनेछ । भारतीय टोलीले पाकिस्तानलाई पछि पार्दै सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने टोली बन्नेछ ।

भारतले अहिलेसम्म २११ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । उसले ६६ खेलमा हार बेहोरेको छ, ४ खेल बराबरी र ६ खेल निष्कर्षविहीन छन् । जहाँ पाकिस्तानले २२६ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ ।

उसले ८२ हार बेहोरेको छ भने ३ खेल बराबरीमा परेका छन् । पाकिस्तानका ६ खेल भने निष्कर्षविहीन भएका छन् । अर्को जितसँगै भारतीय टोलीले पाकिस्तानलाई उछिन्नेछ ।

पाकिस्तान प्रतिद्वन्द्वी टोलीको घरेलु मैदानमा सबैभन्दा बढी टी–२० खेल जित्ने मामिलामा पनि शीर्षमा छ । पाकिस्तानले हालसम्म प्रतिद्वन्द्वी टोलीको घरमा ८४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये ४७ मा जित र ३२ मा हार बेहोरेको छ ।

भारतीय टोलीले प्रतिद्वन्द्वी टोलीको घरेलु मैदानमा ७४ खेल खेलेको छ । जसमा भारतले ४५ जित र २५ हार बेहोरेको छ । भारतले आफ्नो घरेलु मैदानमा ५२ खेल जितेको छ । विश्वको कुनै पनि टोलीले घरेलु मैदानमा यति धेरै खेल जित्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *