माल्दिभ्सका नयाँ राष्ट्रपति मुइज्जुले टर्की गएर भारतलाई अर्को झट्का दिए

डिसी नेपाल
१३ मंसिर २०८० १२:००

काठमाडौं । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति डा. मोहम्मद मुइज्जुले सपथ ग्रहण गरेपछि पहिलो विदेश भ्रमणका लागि इस्लामिक राष्ट्र टर्की रोजेका छन् । आइतवार मुइज्जु टर्कीको लागि प्रस्थान गरे।

यससँगै मुइज्जुले माल्दिभ्सको त्यो परम्परा पनि तोडेका छन् जसमा माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति आफ्नो पहिलो विदेश यात्रामा भारत जाने गर्दथे ।

चीनको समर्थक मानिने मुइज्जुले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो विदेश यात्रामा भारतको सट्टा टर्की गएकाले भारतप्रति माल्दिभ्सको दृष्टिकोणमा कति ठूलो परिवर्तन आएको छ भन्ने देखाउँछ।

भारतको सम्बन्धमा मुइज्जुको अडान निकै कडा छ । राष्ट्रपति चुनावी अभियानका क्रममा मुइज्जुले माल्दिभ्समा रहेका भारतीय सैनिकलाई देश बाहिर पठाउने वाचा गरेका थिए । जितपछि पनि मुइज्जु आफ्नो अडानमा अडिग छन् तर अहिले उनको मनोवृत्ति अलि नरम भएको देखिन्छ ।

समाचार एजेन्सी एएफपीलाई दिएको भर्खरैको अन्तर्वार्तामा मुइज्जुले आफ्नो देश भूराजनीतिक प्रतिस्पर्धामा फस्न निकै सानो भएको बताएका थिए । उनले माल्दिभ्सले भारत र चीनलगायत सबै देशसँग मिलेर काम गर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘भूराजनीतिक प्रतिद्वन्द्वीतउमा फस्न माल्दिभ्स निकै सानो छ । मलाई माल्दिभ्सको विदेश नीतिमा यस प्रकारको शत्रुताको परिचय दिन कुनै रुचि छैन। हामीले भारत र चीनलगायत सबै देशसँग मिलेर काम गर्ने छौं ।’

राष्ट्रपति पदको सपथ लिनुअघि दिएको अन्तर्वार्तामा मुइज्जुले सबै देशसँग मिलेर काम गर्ने बताएका थिए ।

अन्तर्वार्ताका क्रममा मुइज्जुले भारतीय सैनिकलाई माल्दिभ्सबाट बाहिर पठाइने र उनीहरुको ठाउँमा चीन वा अन्य कुनै देशका सैनिकलाई माल्दिभ्समा बस्न नदिने पनि बताएका थिए ।

उनले आफू चीनसँग नजिक रहेको सबै खबरलाई पनि अस्वीकार गरेका थिए । उनले आफू माल्दिभ्सको समर्थक मात्र भएको बताए ।

मुइज्जुले माल्दिभ्सबाट ५०–७५ भारतीय सैनिक फिर्ता गर्ने सम्बन्धमा भारतसँग छिट्टै औपचारिक वार्ता सुरु हुने विश्वास व्यक्त गरेका थिए ।

उनले भनेका थिए, ‘माल्दिभ्सका जनताले मलाई भोट दिए किनभने म अरू कुनै देशको सेनालाई माल्दिभ्समा बस्न दिनेछैन। त्यसैले भारतीय सेनाले माल्दिभ्स छाड्नका लागि भारत सरकारसँग कुरा गरिरहेका छौँ । यो काम शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले सम्पन्न होस् भन्ने मेरो पूर्ण आशा छ ।’

भारतीय सेनाले माल्दिभ्समा भारतीय प्रायोजित राडार स्टेशनहरू र निगरानी विमानहरू राख्छन्। भारतीय युद्धपोतहरूले माल्दिभ्सको विशेष आर्थिक क्षेत्रमा गस्ती गर्न मद्दत गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *