सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्।
चारवटै समितिको सभापतिमा एक/एकजनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।
विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएका छन्।
त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीरबहादुर थापा निर्वाचित भए। सत्तारुढ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेबीच पाँचवटै पार्टीले एक/एकवटा समितिको नेतृत्व लिने समझदारी बनेपछि चारवटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो।
प्रदेश सभा नियमावलीमा भएको व्यवस्थाअनुसार विशेषाधिकार समिति गठन गर्ने र उक्त समितिको नेतृत्व माओवादीलाई दिने सहमति दलहरूबीच सोमबार सहमति भएको थियो। प्रदेश सभा सुरु भएपछि उक्त समिति गठन हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment