मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

डिसी नेपाल
१९ फागुन २०८० १८:२५

चितवन। रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले हात पारेका छन्। उनले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गरे।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुंगिएको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ रहे । उनले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गरे। उनलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो।

जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए। उनलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरियो।

त्रिभुवन आर्मीका टंक कार्की चौथो र सुवास कार्की पाँचौँ भए । उनीहरूले क्रमशः रु १० हजार र पाँच हजार प्राप्त गरे। छैटौँदेखि १०औँ स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर भए। उहाँहरूले जनही रु तीन हजार प्राप्त गरे।

महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम भइन्। उनले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गरिन्। उनलाई रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो। दोस्रो भएका त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गरेकी थिइन्। उनले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

सशस्त्रकी आशा राउत तेस्रो भइन्। उनले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गरिन्। उनले रु पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

सशस्त्रकै सीमा चौधरी चौथो भइन्। उनले रु तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। पाँचौँ स्थानमा रहेकी स्मिता बुढाले रु दुई हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहने क्रमशः अस्मिता भुजेल, नम्रता गुरुङ, वर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गरे।

खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुई हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो। उनीहरुलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गरे। क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ राखे।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गरेकी थिइन्। उनले भरतपुर भ्रमण वर्षलाई टेवा पुर्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताइन्।

प्रतियोगितामा सात सय ६५ धावकले सहभागिता जनाएका थिए। जसमध्ये खुलातर्फ चार सय ९४ जनाको सहभागिता थियो। महिलातर्फ दुई सय ७१ जनाले सहभागिता जनाए। जसमध्ये खुलातर्फ ६८ र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागिता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *