उपनिर्वाचन : आ-आफ्नै उम्मेदवार उठाउने भएपछि सत्ता गठबन्धनमा किचलो
काठमाडौं। सत्ता गठबन्धनका प्रमुख घटकहरुले आगामी उपनिर्वाचनमा आआफ्नै दलबाट उम्मेदवारी दिन लागेका छन्।
परिवर्तित सत्ता गठबन्धनमा आबद्ध दलहरुले रिक्त एक प्रतिनिधिसभा र एक प्रदेशसभातर्फ आआफ्नै दलगत उम्मेदवारी दिने निर्णय गरेपछि चुनावी सहकार्य नहुने देखिएको छ।
यही बैशाख १५ गते प्रतिनिधिसभातर्फ रिक्त इलाम २मा एमाले, माओवादी र रास्वपाले उम्मेदवारी दिने निर्णय गरिसकेका छन् भने प्रदेशसभातर्फ बझाङ १(१)मा पनि एमाले र माओवादीले आफ्नै उम्मेदवारी दिने भएका हु्न्।
पछिल्लो समय वैकल्पिक राजनीतिको दाबेदारको रुपमा उदाएको रास्वपाले प्रदेशसभातर्फ भने उम्मेदवारी नदिने बताएको छ। तर इलाम २ मा भने उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारको टुंगो लगाउन गृहकार्य गरिरहेको छ।
गत २०७९ मंसिर ४ को निर्वाचनमा कायम गरिएको चुनावी सहकार्य पुस १० सम्म यथावत रहेको थियो। माओवादी केन्द्रका अध्यक्ष रहेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न चुनावी सारथीलाई लत्याउँदै एमालेसँग सहकार्य गर्न पुगेका थिए।
यद्यपि आफू प्रधानमन्त्री बनेर पहिलो पटक विश्वासको मत आर्जन गरेपछि फागुन १३ मा राष्ट्रपतिको निर्वाचनको मनोनयन दर्ता गर्ने समयमा एमालेसँगको सहकार्य तोडेर पुरानै सहयात्री कांग्रेससँगकै सत्तायात्रामा फर्किएका थिए।
सोही गठबन्धनबाट एक वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डले भर्खरै फागुन २१ देखि फेरि कांग्रेसलाई लत्याएर एमालेसँग लहसिन पुगेका छन्। अहिले प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक गठबन्धन परिवर्तन गरेर सरकारलाई निरन्तरता दिइरहेका छन्।
आसन्न उपनिर्वाचनमा नयाँ परिवर्तित गठबन्धनले आआफ्नै उम्मेदवारी दिएर मित्रवत प्रतिस्पर्धा गर्ने जनाए पनि यसले गठबन्धनमा दरार ल्याउनसक्ने आँकलन राजनीतिका जानकारहरुले गरेका छन्।
एमालेले हाल रिक्त रहेको इलाम २ बाट यसअघि निर्वाचित भएका पार्र्टीका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई नै उम्मेदवार बनाएको छ। यता सुदूरपश्चिम प्रदेशसभातर्फ बझाङमा भने दमन भण्डारीलाई उठाउने निर्णय गरेको छ।
सत्ता गठबन्धनका दुई मुख्य घटक माओवादी र रास्वपाले पनि उम्मेदवारी दिने भए पनि अझै उम्मेदवारको टुंगो लगाइसकेका छैनन्। रास्वपाले इलाम २ मा मिलन लिम्बूलाई उठाउने चर्चा चलेको छ। तथापि आधिकारिक निर्णय भने गरिसकेको छैन।
यस्तै गठबन्धनकै एक घटक नेकपा(एकीकृत समाजवादीले) पनि इलाम २ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।यसअघि सत्ता गठबन्धनबाट साझा उम्मेदवारको रुपमा आफ्नो दलले बझाङमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेको थियो।
पार्टी अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशसभातर्फ आफ्नो दलले पाउनुपर्ने दाबी गरेका थिए। गत निर्वाचनमा सो जिल्लाबाट प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीकै भानुभक्त जोशी निर्वाचित भएका थिए।
यता एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालले पनि संसदमा पुनरागमनको दाउमा थिए। यसअघि इलाम १ बाट पराजित भएका खनाल २ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनको संयुक्त उम्मेदवारको रुपमा आकांक्षा व्यक्त गरेका थिए। तर एमालेले सुवास नेम्वाङकै छोरा सुहाङलाई नै उम्मेदवार बनाएपछि उनको सम्भावना टरेको छ।
माओवादीको पनि आज बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय पछि अब सत्ता गठबन्धनभित्रै आपसी प्रतिस्पर्धा हुने हालसम्मको घटनाक्रमले देखाउँछ। यसले आगामी सत्तायात्रा पनि असहज हुने आँकलन गरिएको छ।
राजनीतिका जानकार श्याम श्रेष्ठले अहिलेको गठबन्धन स्वार्थप्रेरित गठबन्धन भएकाले सबैका आआफ्नै उम्मेदवारीले समस्या निम्तिने सम्भावना औंल्याउँछन्।
उनले यसलाई कार्यनीतिक गठबन्धनका रुपमा लिएको बताउँदै सबैले उम्मेदवारी दिँदा आपसमा प्रतिस्पर्धा हुने र सोही कारणले दलहरुमा चिसोपना बढेर सत्तागठबन्धनमा दरार आउने खतरा रहेको जनाए।
‘यो अहिलेको गठबन्धन कांग्रेसको पेलानमा परेर प्रचण्डले काँध फेर्नैपर्ने बाध्यता र एमाले अध्यक्ष केपी ओलीलाई टुटाउनै पर्ने आवश्यकताको संयोजन स्वरुप बनेको हो’, उनले डिसी नेपालसँग भने, ‘त्यसैले स्वार्थप्रेरित गठबन्धनमा स्वार्थ नमिल्दा समस्या निम्तिनु स्वाभाविकै हो। चुनावी परिणाम आआफ्नै कारणले हात नलाग्दा दरार आउने सम्भावना छ।’
अहिलेको गठबन्धनमा आबद्ध दलहरुले आआफ्नै उम्मेदवारी दिने निर्णयले आगामी दिनमा यसको यात्रा सहज नहुने उनको ठहर छ। आपसमै प्रतिस्पर्धा गर्दा पराजित भएपछि तुष बढेर गठबन्धनको भविष्य नै संकटमा पर्ने उनले बताए। यद्यपि त्यसलाई आगामी चुनावी परिणामले निर्देशित गर्ने उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment