गृहमन्त्री लामिछानेसँग चिनियाँ र पाकिस्तानी राजदूतको भेटवार्ता

डिसी नेपाल
१४ चैत २०८० २२:२९

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले आज भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखे।

मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवद्र्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औँल्याए। उनले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूतले अधिकतम प्रयास भइरहेको जानकारी दिए।

सो क्रममा नेपालको बृहत्तर हितका लागि सधैँ सहकार्य हुने भन्दै राजदूत सोङले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औँल्याए।

उनले कानुन कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभुवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटका क्रममा चिनियाँ राजदूतले समकक्षी वाङ छियाहङका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रण दिएका थिए।

यसैबीच आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले पनि भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारी–पत्र उपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म थप असल सम्बन्ध स्थापित गराउनुपर्नेमा जोड दिएका थिए। सो क्रममा गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *