रेशम-रञ्जिताको दाम्पत्य जीवनमा राजनीतिक दरार

डिसी नेपाल
१५ चैत २०८० १२:०७

काठमाडौं। टिकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागाारमा रहँदा रेशम चौधरीले निर्माण गरेको नागरिक उन्मुक्ति पार्टीमा उनकै आफ्नै दम्पत्तिबीचमा विवाद बढेको छ।

स्थापनाकालमा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका रेशम गत महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपनि निर्वाचन आयोगले फौजदारी अभियोगमा दोषी ठहर भएको भन्दै उनको पद खारेज गरिदिएको थियो।

टिकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भएका रेशम राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका हुन्। उनलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ।

रेशमको अध्यक्ष पद खारेज भएपछि अहिले सो पार्टीको अध्यक्षमा उनकै श्रीमती रञ्जिता रहेकी छिन्। आफैंले पार्टी निर्माण गर्दा अध्यक्ष बनाइएकी आफ्नै श्रीमतीसँग उनको कटुता बढ्दै गएको छ।

रेशमले परिवर्तित वर्तमान सत्ता गठबन्धनको पक्षमा नरहने बताइरहँदा उनकी श्रीमतीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकी थिइन्।

पारिवारिक रुपमा सुमधुर सम्बन्ध रहेको रेशम रञ्जिताको दाम्पत्य जीवनमा राजनीतिक रुपमा भने दरार पैदा हुँदै गइरहेको छ । उनीहरुको व्यक्तिगत जीवनमा प्रवेश गरेको राजनीतिले सिंगो पार्टीको भविष्य नै संकटमा परेको बताइन्छ।

यसको पराकाष्ठा बुधबार पार्टीको बैठक बसालेर रेशम जापानमा रहेको बेला श्रीमती रञ्जिताले वर्तमान केन्द्रको गठबन्धन अनुरुप बन्ने सबै प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गराएकी छिन्।

अहिले यही विषयलाई लिएर दुई दम्पतिको बीचमा देखिएको मतभेदले सिंगो पार्टी पंक्तिमा असहजता निम्तिएको छ । सुदूरपश्चिम प्रदेशमा सात सिट रहेको नाउपाले हाल कांग्रेसका मुख्यमन्त्रीलाई समर्थन गर्दै सोही सरकारमा सहभागी भएको छ ।

तर, संरक्षक रहेका रेशमले भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको आफ्नो दलले पाउनु्पर्ने दाबी गर्दै आइरहेका छन् भने रञ्जिताले हालको गठबन्धन अनुरुप सबै प्रदेश तहमा बन्ने समीकरणमा साथ दिने निर्णय गराएकी छिन्।

यसले एकै परिवारका श्रीमान श्रीमतीबीच निजात्मक सम्बन्धलाई राजनीतिक कारणले मतभेद उत्पन्न भएको छ। अहिले देशभर रेशम रञ्जिताको कारणले पार्टीमा स्पष्ट दुई धार देखिएको छ।

रेशम वर्तमान सरकारलाई समर्थन गर्न नहुने अडानमै गठबन्धन परिवर्तन भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने पक्षमा थिए। तर चार सांसद रहेको नाउपामा संसदीय दलको नेता समेत रहेकी रञ्जिताले पति रेशमको इच्छा बेगर प्रचण्डलाई तेस्रो पटक विश्वासको मत दिन निर्देशन दिएकी थिइन्।

त्यतिबेला रेशमले पार्टीमा आफू र श्रीमतीको राजनीतिक धार अलग भएको सार्वजनिक रुपमा बताएका थिए। उनले पत्नी रञ्जितालाई राजनीतिक रुपले सम्झाउन नसकेको दुखेसो सामाजिक सञ्जालमै पोखेका थिए।

रेशम रञ्जिताको परिवारभित्र छिरेको राजनीतिले उनीहरुको व्यक्तिगत जीवनमा समेत दखल पुर्याएको छ। उनीहरुको लामो समयदेखिको वैवाहिक जीवनमा राजनीतिले खडा गरेको दरारले नवगठित पार्टी र दाम्पत्य जीवनमा पनि अनिष्टका संकेत देखिएको छ।

हाल जापानमा रहेका रेशमले थारु कल्याणकारी सभाले त्यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै श्रीमतीकै आलोचना गरेका थिए। यसअघि कांग्रेससहितको गठबन्धनमा भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेकी उनले परिणाममुखी काम गर्न नसकेको आरोप लगाएका थिए।

एकै परिवारभित्र श्रीमान श्रीमतीकाबीचमा देखिएको राजनीतिक मतभेदले व्यक्तिगत जीवन हुँदै भखैरै निर्माण भएको पार्टीका सिंगो भविष्य नै संकटमा परेको नागरिक उन्मुक्तिका नेताहरु बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *