कविता : निद्राको तर्कना

शंकरप्रसाद रिजाल
१७ चैत २०८० ७:१८
68
Shares

रात आइ लुकी बस्छ, अध्याँरोमा वरिपरी

निद्रा आइ सुती बस्छ, झूम्छ आँखा घरिघरी

अध्याँरो रातको रात निष्पट्ट छ सबैतिर

सारा दृश्य सुतेको छ, निद्रामा कतैतिर

आशा भोक र लोभ, निद्रामा छैन है कतै

तृष्णा मोह पनि छैन, निद्रामा छैन है कतै

निद्राको बसमा योग, हुर्किन्छ जहाँ त्यहीँ

रातको मध्य निद्रामा योग निद्रा सरिबनी

सारा रातको भुबनमा सागर उठ्छ अघिसरी

पानीका बुँदका फोका, नाच्न थाल्छन् मरीमरी

निद्राको झोकमा दिन, आउँछ नभमा तब

सूर्यको लालिमा देखिन्छ ,दिनको सब झलमल

आँखाको मोतीमा हेर, सारा विश्व वरिपरी

नाची हिँडछन् इसारामा, आफ्नै दृश्य घरिघरी

अरुको आशामा हैन, आफ्नो देश बनाउने

हाँसी के गरुन् नेता, आफ्नै मुख गनाउने

राजनीति भयो हाम्रो, विश्व नै हसाउँने

अवस्था रुग्ण भयो हाम्रो, सारा विश्व रुवाउने

नेताको गोजीमा नेता, बस्न सबै रुचाउने

खोक्रो आश्वासनमा नै सबै जनता अघाउने

व्यवस्था मनमा कस्तो, जस्तो छ बिचारमा

त्यस्तै बन्दछ आचार, आ-आफ्नो नजरमा

रोएको छ आज नेपाल, गरीब मनको बनी

हाँसेको छ संसार, मानिस कर्मशील बनी

मानिस भजनमा रम्छन्, देबी देवता पाउन

पाउँदैनन् ती देवता, जत्ति मन्दिर धाएपनि

एकोरो ज्ञानको पोको, स्वकर्म गरिकन

पाउँदैनन् तिनले ईश्वर, त्यही ज्ञान भजिकन

संसार शून्यमा देख्छन्, ती बेदान्ती बनिकन

कर्मको काम गर्दैनन्, रामराम भजिकन

कर्मशील बनी हेर, अध्यात्म कति रम्दछ

खियाउ हातका नंग्रा, भाग्य कति जम्दछ

रातको बेगमा निद्रा, हुत्तिएको नदेखिने

दिनको सूर्यमा घाम चम्किएको नसम्झिने

पूजा कर्म तिम्रो हो, इमान्दारी बनिकन

गर लौ देशको काम, एक दुई तीन चुनिकन

नेताको भरमा पर्ने, काम कैले नगर्नु है

भ्रष्टाचार गरि हिँड्ने, मान्छेलाई भकुर्नु है

रात दिन गनी बस्ने, सत्ताको आडमा बसी

रोएका छन् निमुखा जनता, यिनैको साथमा रही

नेता छैनन् यहाँ राम्रो, हाम्रो जस्तो बिचारको

छन् त नेता सबै हाम्रो, एकतन्त्री स्वभावको

ओहो रात आइ सुती बस्छ, अध्यारोमा लुके सरी

निद्रा आयी सुती हाल्छ, झट्ट निद्रा परेसरी

निद्रा आइ सुती हाल्छ, झट्ट निद्रा परेसरी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *