मिथिलाञ्चलमा आज सतुवाइन पर्व मनाइँदै, भोलि जुडशीतल
धनुषा। नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ ।
कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ। देउतालाई प्रसादको रुपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ। चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ। प्रायले देउतालाई चढाउने सातु जौको हुने गर्दछ।
त्यस्तै सतुवाइन पर्वको भोलिपल्ट मधेसमा जुडशीतल पर्व मनाउने चलन छ। जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन्।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । यो पर्वमा चना बदामको सातु, दाल, मनुंगा को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा छ ।
जुडशीतल पर्वमा खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। यस क्षेत्रमा यो पर्व सबै समुदायले मनाउने गर्दछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment