रौतहटमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

डिसी नेपाल
३० वैशाख २०८१ ९:४०

रौतहट। जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ ।

विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा उपभोक्ताहरु म्याद गुज्रिएका खाद्यवस्तु खरिद गर्न बाध्य भएका छन् ।

त्यस्तै जिल्लाकै प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुरमा रहेका होटलहरू समेत अनुगमन नभएका कारण उपभोक्ताले होटलमा गुणस्तरहीन खाना खान बाध्य भएको गुनासो आइरहेको छ ।

पहिला पहिला चन्द्रपुर नगरपालिकाले एक वर्षमा एक दुई पटक बजार अनुगमन गर्ने गरेको भएपनि पछिल्लो समय आएर बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी तीव्र रुपमा बढेको स्थानीय बासिन्दा प्रल्लाद गौतमको भनाइ रहेको छ ।

जिल्लाका प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया लगायतका स्थानमा बजार अनुगमन नभएका कारण व्यापारीको मनोमानी तीव्र रुपमा बढ्दै गएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।

स्थानीय पालिकाहरू र जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेलामा बजार अनुगमन गरेजस्तो गर्ने गरेको र अन्य बेला कानमा तेल हालेर बसेका कारण उपभोक्ताहरु ठगिन बाध्य भएका छन् ।

खाद्यान्न पसल कोल स्टोर्स, होटल, तथा किराना पसलहरू अनुगमन नभएका कारण उनीहरूको मनोमानी बढ्दै जाँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ ।

जनतासँग प्रत्यक्ष सरोकार भएका चन्द्रपुर नगर क्षेत्रका अस्पताल मेडिकल तथा क्लिनिकहरू समेत नगरपालिकाले नियमित अनुगमन नगरेका कारण उनीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहेको गिरिको भनाइ रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरूमा उपचार गर्न आउनेहरूले ज्यान गुमाउँदै आएको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको गिरीको कथन छ ।

रौतहट जिल्लाकै पालिकाहरूले बजार अनुगमनतर्फ ध्यान नदिएका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्न बाध्य भइरहेको गुनासो आउँदा पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको कटहरियाका सञ्चारकर्मी आरके श्रीवास्तवको भनाइ रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्दै आएकोमा पछिल्लो समय त्यसको सम्पूर्ण स्वामित्व पालिकाहरूलाई गएको भएपनि पालिकाहरूले बजार अनुगमन गर्ने तर्फ ध्यान नदिएका कारण उपभोक्ताहरुले त्यसको मार खेप्न बाध्य भएका छन् ।

जिल्लाका प्रमुख व्यापारिक बजारहरूमा नियमित रूपमा बजार अनुगमन हुनुपर्नेमा पालिकाहरूले बजार अनुगमन गर्नेतर्फ ध्यान नदिएका कारण समस्या उत्पन्न भएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *