लाइसेन्समा जन्ममिति बिक्रम संवतमा लेखिँदा पोल्याण्डमा नेपाली पक्राउ, ५ वर्ष जेल हुन सक्ने

डिसी नेपाल
७ जेठ २०८१ ११:३९

काठमाडौं । सवारी चालक अनुमति पत्रमा जन्ममिति बिक्रम संवतमा लेखिएका कारण पोल्याण्डमा एक नेपाली नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । ती नेपालीलाई ५ वर्षसम्मको जेल सजाय हुन सक्छ ।

पोल्याण्डको राजधानी वार्साबाट दक्षिणतर्फ रहेको गारवालिन सहरमा गाडी चलाइरहेका ती नेपाली नियमित सडक जाँचको क्रममा पक्राउ परेका हुन् । चेकजाँचका क्रममा प्रहरीले उनीसँग कागजपत्र मागेका थिए । ती नेपालीले आफ्नो नेपाली सवारी चालक अनुमति पत्र देखाए ।

उनको लाइसेन्समा उनको जन्ममिति बिक्रम संवतमा लेखिएको थियो । २१ वर्षका ती नेपालीको जन्ममिति २०५९ लेखिएको थियो र उनले आफू २१ वर्षको भएको पनि प्रहरीलाई बताएका थिए । तर, प्रहरीले इस्वी संवतअनुसार अहिले २०२४ साल चलिरहेको र २०५९ साल आउन अझै ३५ वर्ष बाँकी रहेको अर्थ लगाउँदै उनलाई पक्राउ गरेको हो ।

उनको लाइसेन्समा जारी मिति २०२३ र म्याद सकिने मिति २०२८ लेखिएको छ । जारी मिति र म्याद सकिने मिति इस्वी संवतमा तर जन्ममिति बिक्रम संवतमा हुँदा उनी समस्यामा पवरेका हुन् । प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको छ । नक्कली कागजात प्रयोग गरेकोमा दोषी ठहरिए उनलाई ५ वर्षको जेल सजाय हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *