नेपाल प्रहरी श्रीमती संघद्वारा रौतहटमा छात्रवृत्ति वितरण

डिसी नेपाल
१३ जेठ २०८१ १९:१५

रौतहट। नेपाल प्रहरी श्रीमती संघले रौतहटको गरुडास्थित प्रहरी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरेको छ।

‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघले प्रहरी विद्यालय जिंगडियामा अध्यनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले संघ स्थापनाकालदेखि नै सेवा मन्त्रलाई आत्मसात गर्दै सेवामूलक कार्यहरू गर्दै आइरहेको बताएकी छिन्।

विपद व्यवस्थापनको क्षेत्र अथवा जुन अवस्थामा पनि संघले सधै सकारात्मक कार्यहरू गर्दै आएको उनले बताइन्।

उनले प्रहरी विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई संघले विशेष प्राथमिकतामा राखेर ३० जनालाई छात्रवृत्ति प्रदान गरेकी थिइन्।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कुँवरले प्रहरी विद्यालयको लाइब्रेरीका लागि पठ्यपुस्तक तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख तथा डिआइजी यज्ञविनोद पोखरेलले रौतहटमा २२ वर्षअघि स्थापना भएको प्रहरी विद्यालय जिल्लामा उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुन सफल भएको बताएका थिए।

शिक्षाको ज्योति नेपाल प्रहरीका सन्तानलाई मात्र नभई सर्वसाधारण सबै नेपालीका छोराछोरीले  पाइरहेकोमा आफू गौरवान्वित भएको डिआइजी पोखरेलको भनाइ थियो।

उक्त अवसरमा रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, डिएसपीद्वय ओमप्रकाश खनाल र गौरव महत, विद्यालयका समादेशक इन्स्पेक्टर पप्पु नायक, नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सचिव, सहसचिव, मधेश प्रदेश अध्यक्ष लगायतका नेपाल प्रहरीका अधिकृतहरूको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *