शिवलिंग के हो ? 

हरिप्रसाद सोडारी
२८ साउन २०८१ ७:२४
204
Shares

अद्भूत यन्त्र, ऊर्जाशील मूर्ति, ईश्वरको स्वरूपलाई शिवलिंग भनिन्छ। ब्रम्हाण्डका ऊर्जालाई तान्न, प्रकृतिलाई सन्तुलनमा राख्न, सबै रहस्यलाई बुझ्न, परमात्मालाई बसाउन शिवलिंगले सहयोग गर्छ।

ईश्वरको स्वरूप, ब्रम्हाण्डको आकार, वेदको ज्ञान, पौरस्त्य विज्ञानलाई समेटेर निर्माण गरिएको परमात्माको बिम्ब नै शिवलिंग हो। पर्वत, यज्ञकुण्डमा प्रज्वलित अग्नि, उदाउँदै गरेको सूर्य, अंकुराएको विऊलाई आधारमा लिंग बनाइयो, अनेकौँ लोक तथा ब्रह्माण्डको स्वरूपअनुसार जलहरी निर्माण गरियो।

प्रकृतिले बनाएको पहिलो शिवलिंग कैलाशपर्वत, सगरमाथा, किलिमञ्जारो, हिन्दकुश, पाथीभरा आदि पर्वतश्रृङ्खलाहरू हुन्, हिउँले निर्माण गरेको शिवलिंग अमरनाथ हो, परमात्मा स्वयंले तयार गरेको पहिलो शिवलिंग  ब्रम्हाण्ड हो।

मुन्धुमका अनुसार “सुम्निमा र पारुहाङले पृथ्वीलाई छोडेर आकाशतिर गएपछि उनीहरूको शरीर नै ढुङ्का भयो, त्यसलाई उभौलीउधौलीमा पूजा गर्न थाले। यस शिलालाई साकेन्वालुङ भनिन्छ।

होङछा भन्ने व्यक्तिले साकेन्वालुङ (सुप्तुलुङ) स्थापना गरी दिवालुङ, दिमालुङ र तायालुङलगायतका शक्तिका रूपमा विभाजन गरेको किंवदन्ती पाइन्छन्। अरूण उपत्यकाको तुम्लिङ्टारस्थित लुङपोखरीनजिकै रहेको एक शिलालाई पारुहाङ र सुम्निमाको रूपमा दर्शन गर्दछन्, उनीहरूकै यादमा शिवलिड्डकै पूजा गरिन्छ।

कालीगण्डकी किनारमा अवस्थित गलेश्वरधाममा शालग्रामका रूपमा शिवलिंगको उत्पत्ति भएको छ, जसलाई ‘ढुंगा पलाएको’ भनिन्छ। नेपालका केही देवस्थलमा शिवलिंग आफैँ बन्छन्, अचानक फेला पर्छ। कतै ढुंगा पलाएर, कतै पहाड उठेर, कतै माटो थुप्रिएर, कतै बालुवा जम्मा भएर, कतै हिउँ जमेर शिवलिंग जन्मन्छन्।

नेपालका अधिकांश पुराना धारापँधेराको स्वरूप पनि शिवलिंगको आकारमा निर्माण गरिएका छन् ।

आकाशीय पिण्डहरू मिलेर शिवलिंग बनाएका छन्। ब्रम्हाण्डमा  चौध लोक छन्। प्रत्येक लोकमा ३३ कोटी देवीदेवताहरूको निवास छ।

चौध लोकका सबै देवीदेवतालाई अल्पज्ञान र छोटो आयुवाला कलियुगका मानिसबाट पूजा, उपासना सम्भव छैन। सबै देवीदेवतालाई एकै ठाउँमा राखेर पूजा गर्न जुन आकार बनाइयो, त्यसलाई शिवलिंग भनियो।

शिवलिंगको स्वरूपले ब्रम्हा, विष्णु, महादेव, न त पशुपंक्षी, धर्मगुरु र लोकसँग मेल खान्छ। यसको न त टाउको छ, न त हात खुट्टा, न त शरीर नै छ, त्यसकारण शिवलिंग र शालग्राम परमात्माका साक्षात् मूर्ति हुन्। शिवलिंगको सार ॐ र शालग्रामको सार श्री हो।

न लिंगाच्चापरो देवो धर्मकामार्थ मोक्षदः ।
इदं चैव जगत् सर्वं लिंगरूपे लयं गतम् ।।
लयं गताश्च कल्पान्ते लिंगे जीवानुरूपकाः ।
उद्भूतं च पुनर्लिंगाज्जगत्स्थावरजंगमम् ।।-अपराजितपृच्छा (१९६।५५–५६)

अर्थात् “शिवलिंगबाहेक अरू कुनै देवता धर्म, अर्थ, काम र मोक्षका दाता छैनन्। सबै जगत् लिंगरूपमा छन्, कल्पको अन्तमा सबै जीवहरू लिंगमा विलीन हुन्छन्। लिंगबाट उत्पन्न भएर स्थावर, जंगमरूपमा जन्मन आउँछन्।” ब्रम्हाण्ड नष्ट हुँदा प्रकृति र प्राणीको अस्तित्व सुरक्षित रहने ठाउँलाई शिवलिंग भनिन्छ ।

युरोपको पुनर्जागरणपछि जन्मिएको दर्शन र विज्ञानले प्रत्यक्षवादलाई मात्र पत्याउँछ, स्वीकार गर्छ। प्रविधिले देख्न र आधुनिक विज्ञानले बुझ्न नसकेको विषयलाई अध्यात्मले बताउँछ, साधनाले अनुभूत गराउँछ। भौतिकविज्ञानलाई सत्यतथ्य पत्तालगाउन यन्त्र, प्रयोगशाला र जत्था चाहिन्छ।

अध्यात्मविज्ञानमा  साधना, गुरुकृपा, श्रद्धा र विश्वास आवश्यक पर्छ। अविनाशी तत्वलाई चिनाउने ब्रम्हा, विष्णु, महादेव, देवी, ऋषिमुनिहरू आध्यात्मिक ज्ञान र दैवी विज्ञानका स्रष्टा हुन्।

शिवलिंगचाहिँ अध्यात्म विज्ञानको उपलब्धी, प्राचीन खोजको मानक, गणितको पहिलो रेखाचित्र, अक्षरको पहिलो स्वरुप तथा नेपालको अविनाशी सम्पत्ति  हो। अनेकौँ रहस्य र शक्ति लुकेको हुनाले शिवलिंगलाई बुझ्न सूक्ष्मबुद्धिको उच्चतम विकास हुनुपर्छ।

आफूले नदेखेका, नभोगेका, अनुभव नगरेका ज्ञान पाउन अदृष्टार्थे श्रुतिरेव बलीयसी अर्थात् श्रुति (वेद)को शरण लिनुपर्दछ। सृष्टिलाई अनादि, ज्ञानलाई सनातन, श्रुति (वेद)लाई जेठो शास्त्र भनिन्छ। यसकारण वेदबाट जगत् जानिन्छ, शिवल्गिंबाट दृश्य र अदृश्यको भेद बुझिन्छ, संसार चिनिन्छ।

सृष्टिकै मिति थाहा छैन भने सृष्टिकर्ता शिवलिंगको कसरी हुन सक्छ? अहिले अठ्ठाइसौँ कलियुग चल्दैछ। यसअघि २७ वटा कलियुग गइसकेका हुनाले सृष्टि प्राचीनतम हो। पुराणहरूका अनुसार क्षीरसागरमा सुतेका विष्णुका नाभीकमलमा ब्रम्हाजी ध्यानमग्न थिए।

कमलको फूल जलहरी हो, ब्रम्हा लिंग हुन्, कमलको डाँठ जलहरीभन्दा तलको ब्रम्हाभाग हो अर्थात् शिवलिंगबाट ब्रह्माण्डको सृष्टि भयो। तन्त्रात्मकरावणसंहिताको (ज्ञानखण्ड, अ. १  कुण्डलिनी ध्यानाभिधान चतुर्थपटलमा मूलाधारदेखि ब्रम्हारन्ध्रसम्मका हरेक चक्रमा शिवलिंग रहेको वर्णन छ।

शिवलिंगबाट सबै देवताको उत्पत्ति भए तर कुनै पनि देवताबाट शिवलिंगको उत्पत्ति भएको होइन। यसकारण जीव र जगत्का इष्टदेव, देवीदेवता र साधकहरुका कुलदेवता नै शिवलिंग हुन्। ईश्वरको मूर्ति हुनाले यसको पूजा गर्दा सबै देवीदेवता पूजित हुन्छन्।

त्रेतायुगमा भगवान् रामले रावणसँग युद्ध गर्न लंका प्रवेशअघि रामेश्वरशिवलिंगको पूजन गरेका थिए।  ब्रम्हा, विष्णु, रुद्र, इन्द्रादि लोकपाल, मुनिगण आदिले शिवलिंगको पूजा गरे। महाभारतको अनुशासनपर्व तथा सौप्तिकपर्वमा शिव र शिवलिंगको उपासना बारेमा व्यापक चर्चा छ।

भारतमा गणराज्यकालमा यौधेयको स्थान प्रमुख थियो। नेपालको मुद्रामा मात्र होइन यौधेयलगायतका आर्यावर्तका राष्ट्रहरुको सिक्कामा नन्दीसहित शिवको प्रतीमा पाइन्छ। पैसामा परमात्माको तस्बिर राख्दा ईश्वरको याद हुन्छ, भ्रष्टाचार हुँदैन भनी यसो गरियो।

मानिसको शरीरमा बहत्तर हजार नाडी हुन्छन्, तीमध्ये १४ वटा मुख्य छन्। हातका पाँच औँलामा (चारवटा औँलामा तीन खण्ड छन्, बुढीऔँलामा दुई खण्ड) चौध खण्ड छन्, प्रत्येक खण्डले एउटा लोकको प्रतिनिधित्व गर्दछ। पाँच औँलालाई जोड्दा शिवलिंग बन्दछ, हत्केलाले जलहरीको आकार लिन्छ।

चौध लोकहरूलाई एकमाथि अर्को खप्ट्याउँदा शिवलिंग बन्छ। पृथ्वीलाई जलहरीको रूपमा लिइन्छ, जहाँ ब्रम्हाण्डका सम्पूर्ण देवीदेवताको निवास रहन्छ।  कान्छीऔँलामा पृथ्वी, साहिँलीऔँलामा जल, माझीऔँलामा तेज, चोरऔँलामा वायु र बुढीऔँलामा आकाशतत्व रहन्छ।

शिरमा आकाश, दुई काँधमा अग्नि, नाइटोको फेदमा वायु, घुँडामा पृथ्वी, पैतालामा जलतत्व रहने हुँदा औँला र शरीर नै पञ्चतत्वको पुञ्ज अर्थात् पञ्चतत्वको आधार नै शिवलिंग हो। मेरुदण्डमा ३२ वटा जोर्नी अर्थात् ३३ वटा खण्डित हाड छन्।

हामी ३३ कोटी देवीदेवताको उपासक हौँ, यी खण्डहरूको सम्बन्ध विभिन्न लोक, तत्व, ज्ञान आदिसँग रहेको छ। ८४ लाख योनि पार गरेपछि मानव जीवन पाइन्छ भन्ने शास्त्रका वचन छन्। ८४ मुद्रा, ८४ आसन, ८४ वर्षमा चन्द्रमाको दर्शनसहित गरिने अनुष्ठान, ८४ सिद्ध, ८४ व्याञ्जनबीच शिवतत्वको रहस्य लुकेका छन्।

शिवलिंग सबै देवीदेवताको आश्रयस्थल, जगत्को उत्पत्ति र विनाशको मालिक भएकाले नमस्कार गर्दा सबै पापबाट मुक्ति मिल्छ। प्राणी, प्रकृति र ब्रम्हाण्डको प्राण शिवलिंग हो। यसले विज्ञानका दृष्टि, ज्ञानका भाषा, शास्त्रको संकेत, परम्पराको भण्डारलाई मलजल गरेको छ।

यतो जातमिदं सर्वं त्रैलोक्यं सचराचरम्।
लीयते प्रलये यत्र तदिदं लिंगमुच्यते।।

-प्रतिष्ठालक्षणसारसमुच्चय (१।६)

अर्थात् “जहाँबाट यो जगत्लगायतका त्रिलोक, चराचरको उत्पत्ति र लय हुन्छ त्यसलाई लिंग भनिन्छ।” मन्त्र र श्लोकका व्याख्याहरू सम्प्रदाय, गुरु एवं व्यक्तिअनुसार फरक परेको मौका छोपी केहीले स्वार्थ पूरा गर्न शिवलिंगको गलत अर्थ र प्रचार गरे।

अर्कोतर्फ विधर्मीहरूले मूर्ति र मन्दिर बनाइदिने बहानामा दैवी ऊर्जालाई नष्ट, परम्परालाई भ्रष्ट, शास्त्रलाई दुरूपयोग गराए। शिवलिंगका बहुआयामिक पक्षलाई पाठ्यपुस्तक, परिवार, सरकारबाट संरक्षण, अभ्यास गराउनुपर्छ।

जसरी ज्वारभाटाको उत्पत्तिस्थल, निवासस्थल एवं विलयस्थल पानी हो त्यसरी नै चराचर जगत्को उत्पत्ति, विकास र विनाशको आधार शिवलिंग हो। शिवलिंगको स्वरूपलाई आधार मानेर ब्रम्हाले सृष्टि गरे, प्रकृतिले मातृत्वको भूमिका खेलिन्, जीवात्माले जीवनचक्र पूरा गरे।

यही कारण परमात्माको स्वरूपलाई शिवलिंग मानिन्छ। केही विदेशी विद्वान्हरूले शिवलिंगको बारेमा अतिभक्ति गाएका छन्, कतिले विना आधार खण्डनसहित सतही भविष्यवाणी गरे।

यी विषय न शास्त्र र तथ्यसँग मेल खान्छ, न त जीवन र परम्परामा जोडिन्छ। पार्वतीका पति, गणेशका बुबा, हिमालयपर्वतमा बस्ने जटाधारी, नन्दीमा चढ्ने, आद्ययोगी महादेव हुन् शिव होइनन्।

शिवलिंगले परमात्माको स्वरूप वा आकारको बोध गराउँछ, न कि महादेव र पार्वतीको अंग। शिवलिंगबाटै शास्त्र, देवीदेवता, मन्त्र, तन्त्र, यन्त्र, जीव र जगत् उत्पन्न भएकाले परमात्माको रूपमा बुझ्न, पुज्न र चिन्तन गर्न आवश्यक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *