गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेस्ट्स क्वालिटी’ अवार्डबाट सम्मानित
काठमाडौं। भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेस्ट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ।
उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता थियो। कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षितसमेत रहेको संकेत बैंकले महसुस गरेको छ। कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाइ प्रमुख नकुल पौडेलको उपस्थिति थियो।
सोही अवसरमा आयोजित ड्राइभिङ इफिसियन्सी एक्रस द भ्यालु चेन विषयक प्यानल डिस्कसन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको समेत प्रतिनिधित्व गरी वक्ताका रुपमा सहभागी भए। कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीको सम्बन्धमा आफ्नो धारणासमेत प्रस्तुत गरे।
कार्यक्रममा उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजीव रञ्जन प्रसाद र न्युजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताका रुपमा रहेर आआफ्ना धारणा प्रस्तुत गरेका थिए।
कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशकसमेत वक्ताका रुपमा सहभागी भएका थिए।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५० वटा एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment