कविता : हराएको मान्छे
नाम – थाहा छैन
ठेगाना- थाहा छैन
उमेर त्यो पनि थाहा छैन
उसलाई थाहा छ केबल म हराएको हुँ
उ दूर गाम्को मान्छे
गरिबीले पेटमा लात हान्यो
र
बा को हात समाउँदै समाउँदै शहर छिर्यो
कलिलो मन
कलिलो सपना लिएर
भब्य शहरको झिलिमिलीमा
खै कता बा को हात छुट्यो
र
हरायो भिडमा
उ चिच्यायो, रोयो, करायो
अह ! बा भेटिएन
मन्दिरको घण्टी बजिरहयो
स्वयंभूको दुई आँखाले हेरिरहयो
तै पनि उसको बा भेटिएन
उसको घर फिर्ने बाटो हरायो
आफन्त नाता गोता
साथीभाई सप्पै हरायो
उ शहरमा हरायो
समयले हुत्यायो हिमाल तिर
नचिनेका मान्छे- आफ्नो भो
नचिनेको गाउँ आफ्नो भो
भेडा बाख्रा चौरी सप्पै आफ्ना भए
आफ्नो चाहिँ जन्मेको गाउँ हरायो
विश्राम गर्ने चौतारी हरायो
पढने स्कुल हरायो
माछा मार्ने खोला हरायो
हरायो जीवनका सप्पै उर्वर समय
हो उ हराएको मान्छे।
No ads found for this position




Facebook Comment