कथा : बुढी हजुरआमा

प्रकाशचन्द्र खतिवडा
२९ भदौ २०८१ ७:११
160
Shares

“नाति, ए नाति उठ, नुहाउनु पर्दैन? धारामा पानी जान लागि सक्यो।” बुढी हजुरआमा मलाई दैनिक भने जस्तो ढोका ढक्ढक्याउँदै बोलाउनु हुन्छ। म सात बजे सम्म सुतिरहेकै हुन्छु। हजुरआमाले बोलाए पछि उठ्छु। जिउ तन्काउँछु र बाहिर निस्कन्छु। सूर्यले आफ्नो यात्रा दुई जुवा हाँकिसकेको हुन्छ। म उठेर नित्य कर्ममा लाग्छु। हजुरआमा चिया लिएर आइसक्नु भएको हुन्छ।

बुढी हजुरआमा (आमाको बडाबाको बहिनी साइनोले आमाकी फुपू दिदी) बस्नु भएको घर तीन तले छ। यो उहाँको आफ्नै घर होइन रे। परिवारकै नाता पर्नेले निःशुल्क बस्न दिएको घर हो। यो घर सैनिक ब्यारेक मुनि भोजपुर बजारको पूर्वपट्टि पोखरे लाइनबाट केही अगाडि छ। घरमा तल माथि, बुइगल र भूँइतला  बाहेक पाँच कोठा  छन्।

म तलको देब्रे कोठामा बस्छु। दाहिने कोठामा अरुनै साथीहरु छन्। माथिल्लो तलाको बीच कोठामा बुढी हजुरआमा बस्नु हुन्छ। दाहिने र देब्रे कोठामा कलेज पढ्ने छात्राहरु प्रभा र तारा बसेका छन्। भूँइतलामा एक जना हुलाकी दाइ बस्नु हुन्छ। हजुरआमाको भान्सा बुइगलमा छ।

डेरावाललाई छोड्ने हो भने घरमा बुढी हजुरआमा नितान्त एक्लो हुनुहुन्छ। उहाँका आम्दानीका स्रोतहरु के के छन्? त्यो त मलाई पूरा थाहा छैन। डेरा भाडा पनि  आम्दानीको एउटा स्रोेत हो।

त्यहाँ बस्नेहरुले महिनै पिच्छे हजुरआमालाई भाडा बुझउनु पर्छ। हजुरआमा नुन, तेल, चिनी, साग सब्जी, साबुन, मरमसला र चिया जस्ता दैनिक आवश्यकीय कुराहरु डेरा भाडाबाट नै किन्नु हुन्छ।

हजुरआमा उमेरले सत्तरीको हाराहारीमा हुनु हुुन्छ। सेतै फूलेको कपाल, गोरो र लाम्चो मोहडाको हँसिलो अनुहार र अग्ली कदकी हुनु हुन्छ। उहाँका माइती दिङ्लाका लम्साल हुन्। उहाँ पोखरे कोइराला परिवारकी बुहारी हुनुहुन्छ।

पूजा पाठ गर्नु उहाँको दैनिक नित्य कर्म हो। विहान सबेरै उठ्ने। नुहाइ धुवाइ गर्र्ने। एक चित्तले  पूजा पाठ गर्ने। ध्यान भक्ति गर्ने उहाँको आदतै हो। उहाँ सिद्धकाली माताको खुवै आरधना गर्नुहुन्छ। उहाँलाई सुनेका भरमा भजन कीर्तन र श्लोकहरु  कण्ठस्थ छन्।

एक चित्तले पूजा पाठ गर्नुको के रहस्य छ। हजुरआमा? भनेर सोध्दा उहाँ मलिन स्वर पार्दै भन्नु हुन्छ , “के गर्छस् नाति यो बुढेसकालमा बाँच्ने सहारा नभए पछि, भगवानको भर पर्नु शिवाय अरु के नै उपाय छ र? एक मात्र साहारा यिनै भगवान त छन् नि। भगवानकै भर परेर आजसम्म बाँचिरहेकी छु। मलाई थाहै नदिइ बुढाले सौता हाले। म रछ्यानमा फालिए जस्तै भएँ। विधिले यस्तै पारी ल्यायो। कर्मले यस्तै खेल खेलायो। कसलाई दोष दिउँ नाति? एउटा छोरो थियो। पापी दैवलाई सैह्य भएन। उसलाई पनि चुँडेर लग्यो। छोरो बाँचेको भए यस्तो दुःख कष्ट खप्नु पर्ने नै थिएन, नाति। छोराले पढ्थ्यो। जागिर खान्थ्यो। म पनि जागिरेकी आमा हुन्थे र मसँग बुहारी र नाति नातिना हुन्थे। अहिले म सबै कि हेला भएकी छु। घर परिवारबाट एक्लिएकी छु। मेरो छोरो बाँचेको भए  म…………..।” भक्कानिदै आँखा बाट आँसु झार्नु हुन्छ।

मेरो मन ढक्क फुलेर आउँछ। म अवाक बन्छु। मलाई समेत नमिठो पीडा हुन्छ। म भित्र भित्रै पिरोलिन्छु। छट्पटिन्छु। र हजुरआमालाई सान्त्वना दिन काँपेको स्वरमा भन्छु, “हजुरआमा ……………। ”

यसरी बुढी हजुरआमाका अन्तर बेदनाहरु मूकदर्शक भएर सुनि रहेको छु। अझै कति अन्तर बेदना सुन्नै बाँकी छ। हजुरआमाहरुले बेदना पोख्न नपाएर छट्पटिरहनु भएको छ। बेदना सुन्ने म जस्तो नाति खोजी रहनु भएको छ।

हजुरआमाले पढ्नु भएको छैन। परम्परा र रुढीवादले उहाँलाई  गाँजिरहेको छ। भगवान हुन्छन् भन्ने विश्वासमा हुनुहुन्छ। जे गर्छन् भगवानलेनै गर्छन् भन्ने  विश्वासमा हुनुहुन्छ। उहाँ भाग्यबादमा विश्वास गर्नु हुन्छ।

भगवानले केही गर्न सक्तैनन् भनेर हजुरआमालाई कसरी भनूँ? भगवान छैनन्। भगवानले दुःख सुख हेर्दैनन् भनूँ भने हजुरआमाको नजरमा म पापी र अधर्मी हुनेछु। हजुरआमाको म माथिको आस्था र विश्वास मनबाट ढल्नेछ। के गर्ने? के नगर्ने? के भन्ने? के नभन्ने? म धर्म संकटमा छु।

हजुरआमालाई कसरी सम्झाउने होला। जीवन संघर्ष पूर्ण छ। आफ्नै मेहनत र परिश्रमले जिन्दगी चल्छ। भाग्य आफ्नै कर्मले बनाउने हो। न कि भगवानले। भगवान हजुरआमाका लागि एउटा भरोसा होला। तर संसार त्यसले चलेको छैन। संसारत मान्छेको कर्मले चलिरहेको छ।

पढाइको सिलसिलामा म पनि बुढी हजुरआमाको घरमा डेरा लिएर बसेको हुँ। भात होटलमा खान्छु।  सुत्ने बस्ने यहाँ गर्छु। दिउँसो कलेज जान्छु। बिहान बेलुका फुर्सदै हुन्छ। फुर्सदको समयमा अध्ययनलाई निरन्तरता दिँदँ केही समय निकालेर हजुरआमासँग गफिन्छु। हजुरआमाका कुरा सुन्छु।

मैले सोचेको पनि थिइनँ। हजुरआमासँग यतिका दुःख पीडा छन्। थुप्रै अन्तर बेदनाहरु छन्। जिन्दगीको याात्रा कष्टपूर्ण ढंगले बितिरहेको छ। नियतिले के के गराउँछ? बुढी हजुरआमाको भविष्य सम्झेर म दुखित हुन्छु। उहाँको मरण कस्तो होला? उहाँलाई कसले स्याहार्ला? हात पाउ चलुन्जेल त ठिकै छ। हात पाउ चल्न छोडे पछि के गर्ने? हजुरआमाका सौतेलो छोरा बुहारी त छन अरे। उनीहरुले हेर्छन् कि हेर्दैनन्? हेरेत ठिकै छ। नहेरे के होला?

“नाति, ए नाति चिया खादैनस्? चिया खान आइज। हरिया मकै पनि पोलेकी छु।” एउटा स्नेह सल्बलाइ रहेको हुन्छ हजुरआमा भित्र। त्यो स्नेहद्वारा  म पगालिएको छु।
हजुरआमाको आग्रहलाई मैले कैहिल्यै पनि तिरस्कार गरिनँ। हजुरआमाको त्यो स्नेह किन मप्रति संवेदनशील छ? के म उहाँको आफ्नै नाति हो त? के को तिर्सना मेटाउन हजुरआमा मलाई असाध्यै माया गर्नु हुन्छ? म मा त्यस्तो के गुण छ र? सबै बेदना पोख्नु हुन्छ।

म अन्यौलमा छु। कहाँ जाने? कसलाई भन्ने? के गर्ने? मलाई बिचलनले पछ्याइ रहन्छ। समाधान के हुन सक्छ? सकेसम्म मैले समाधानको बाटो खोजी दिनै पर्छ। जसले गर्दा हजुरआमाको बाँकी जीवन सुखमय बन्न सकोस्।

हजुरआमा कहिले कही कठोर स्वभावकी देखिनु हुन्छ। चाँडै खुशी हुने र चाँडै रिसाउने पनि गर्नु हुन्छ। मन नपरेको कुरालाई उहाँ आन्द्रा भुँडी खोतलेर छ्यालब्याल बनाइ दिनु हुन्छ। हजुरआमाको यो बानीप्रति म सचेत छु। म हजुरआमासँग बोल्दा नम्र भएर बोल्छु। हजुरआमाको चित्त नदुखोस् भन्ने मेरो अभिप्राय हो।

मेरै कारणले मप्रतिको स्नेह र आस्था नभत्कियोस् भन्ने कुराको हेक्का राखेरै हजुरआमासँग राम्रो व्यवहार गर्छु। हजुरआमाले म माथि गरेको विश्वासको म कहिल्यै पनि घात गर्न चाहन्न।

कही कतै गएर आउँदा म रित्तो हात आउँदिन। हजुरआमालाई केही न केही खाने कुरा लिएरै आउँछु। कहिले बिस्कुट, कहिले नरिवल र मिश्री। तराई झरेको मैका परेमा स्याउ पनि लगि दिन्छु। हजुरआमा खुशी हुनुहुन्छ। मलाई दीर्घायू र सफलताको  आशीर्वाद दिनु हुन्छ।

आज शनिबार। हप्ता भरिको थकाइ मेटाउने दिन। बिहानै उठ्छु। नुहाउँछु। लुगा धुन्छु। समयले बिहानको आठ बजे पार गरिसकेको हुन्छ। हटिया डुल्न जाउँकि? मेरो किन मेल पनि छैन। किन जाने हटिया? मलाई स्वभावैले भीड र हल्ला खल्ला मन पर्दैन। म हटिया नजाने टुंगोमा पुग्छु। र बेली कुकुरका छाउरासँग त्यही आँगनमा खेल्न थाल्छु। पल्लो छेउ जान्छु। छाउराहरु पछि पछि आउँछन। वल्लो छेउ फर्कन्छु। छाउराहरु पनि पछि पछि फर्कन्छन। लाग्छ छाउराहरु दौड प्रतियोगितामा सहभागी छन्। म निर्णायक तिनीहरुको दौड जाँच्ने गर्छु।

म खेलमा मस्त भएको बेला खेल भंग गर्दै हजुरआमा हातमा चियाको ग्लास लिएर आउनु हुन्छ र हाँस्दै भन्नु हुन्छ, “हेर, हेर बिकम पढ्ने मान्छे। केटाकेटी जस्तो छाउरासँग खेलिरहेको। ला चिया, कोठामा बसेर खा।”

म पनि हजुरआमालाई ठट्यौलो पारामा नै जवाफ दिन्छु, “एम.कम.पढ्ने मान्छे त जिस्कन्छन्, खेल्छन्। मत बीकम त हो नि। मैले खेल्न मिल्दैन र? त्यसमा पनि म तपाईंको लागि केटाकेटी नै हैन त?”  “केटाकेटी जस्तै लागेर त चिया पुर्‍याउन आएकी। म बुढी के नै दिन सक्छु र? यही एक कप चिया त हो नि। तँलाई होटलको पैसा तिर्न कस्तो फिटिफिटी परिरहेको छ। भएदेखि आठ दश दिनलाई सापटी दिन्थे नि। म बुढीलाई ऋण   पनि कसले पत्याउँछ र?” हजुरआमा सुस्केरा मिश्रित स्वरमा भन्नु हुन्छ।

म संवेदनशील हुन्छु। मेरो शान्ति भंग हुन्छ। म घायल मृग जस्तो हुन्छु।  म बुढी हजुरआमाको अनुहार तिर हेर्छु। अनुहारमा पीडाका रेखा दगुरी रहेका हुन्छन्। मलाई अभावका गोमनहरुले चारै तिरबाट घेरा बन्दी गरे जस्तो लाग्छ। होटलमा  चार दिन अघिदेखिको कचकच पैसा,पैसा,पैसा।

म चियाको ग्लास समात्दै भन्छु, “तपाईंले के दिनु पर्‍यो र? बस्ने कोठा दिनु भएको छ। बिहान, दिउँसो बेलुकी चिया दिनु भएको छ। सबै भन्दा ठूलो कुरा त स्नेह दिनु भएको छ। यो नै मलाई पर्याप्त छ।

भएदेखि तपाईंलाई पो मैले दिनु पर्ने तपाईंका कमाउने धमाउने नै को छन् र? म त जवान केटो जसरी भए पनि समस्या टारी हाल्छु नि।” म कोठा भित्र पस्छु र घोत्लिन्छु। फेरि एक पटक बुढी हजुरआमाको कहानीले मुटु चिमोटिन्छ र म सम्झन बाध्य हुन्छु।

हजुरआमा कसरी यतिका वर्ष गुजार्नु भयो त भन्दा उहाँले भन्नु भएथ्यो, “खै कसरी भन्नु? नौ वर्षमानै विवाह गरिदिए। अर्काको घर आएँ। पछि बुुढाले कान्छी ल्याए। म हेला भएँ। छोरा छोरी थिए। ती पनि दैवले चुँडेर लगे। काख रित्तै भयो।घरमा बस्ने अवस्था सहज हुन सकेन। म माइती गएँ। त्यसै,त्यसै भौतारिएँ। पिरोलिएँ। माइतीमा पनि सधैं बस्ने कुरा भएन। माइती गाउँकै एक जना साथीसँग पैसा कमाउन भनेर इन्डिया गएँ। काम पनि पाइयो। तर त्यो काम मलाई चित्तै बुझेन। त्यो ठाउँ नै मन परेन। घरायसी काम गर्नु पर्ने। घरका मानिसको व्यवहार ठिक लागेन। भाँडा माझ्नु पर्ने। जूठो समेत खानु पर्ने। लुगा धुनु पर्ने। दुनियाँका जुत्ता चप्पल मिलाउनु पर्ने। मन पटकै अडिएन । म पन्ध्र दिनमै फर्के। अहिले यसरी दुःख जिलो गरिरहेकी छु।”

लाग्छ दन्त्य कथा हो। तर दन्त्य कथा हैन। यो सत्य कथा नै हो। बुढी हजुरआमाको भोगाई हो। जीवन जिउने क्रमको आरोह, अवरोह हो। दुःख, कष्ट, पीडा र जलन हो।
मलाई नमिठो भविष्यले सताइ रहेको छ। बुढी हजुरआमा जस्ता छोरा, छोरी नहुने र घरबाट अपहेलित हुने हजुरआमाहरुको अन्त्य अवस्था कस्तो होेला? के विकल्प होला? बृद्धाश्रम या आफ्न्त नाता गोता?

थाहा छैन, भोलिदेखि बुढी हजुरआमाको बेदना कसले सुन्ने हो? भोलिबाट म हुने छैन। मैले अन्यत्रै जानु छ। भोलिबाट यो कोठा शून्यवत हुनेछ। के गर्ने जीवन जिउँनै पर्‍यो। घर व्यवहारमा टेको पिडो गर्नै पर्‍यो म अस्थायी शिक्षकमा पोष्टिङ भएको छु। मैले दिङ्ला जानु छ। म जहाँ जाँदै छु। त्यहाँ पनि मेरो मावलमा यस्तै बुढी हजुरआमा हुनुहुन्छ।

सुन्दरहरैंचा-६, दुलारी,मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *