कविता : प्रकाश खतिवडाहरु
यो कविता २०५९ जेष्ठ २८ गते भोजपुरको साङपाङमा लेखिएको हो। जुन बेला देशमा द्वन्द्व चरम उत्कर्षमा थियो। मानिस मारिनु र बेपत्ता पारिनु सामान्य कुरा जस्तै थियो। दैनिक हताहतका घटना भै रहन्थे। मान्छे मारिनु र बेपत्ता पारिनुको प्रतिकात्मक रुप हो यो कविता ।
यो समाधिस्थल हो
म हातमा बाँसुरी लिएर
शोकमग्न उभिएको छु
श्रद्धा सुमनका साथ
शोक धुनहरु बजाउन ।
हिजोसम्म
प्रतिरोधहरु नाचिरहेकै थिए
प्रज्ञाहरु हाँसिरहेकै थिए
सुशीला मेडमहरु
प्रतीक्षा र श्रव्याहरुका साथ
कालोपाटीमा लोरीहरु लेख्दै
लोरीहरु गाइरहेकै थिए।
दर्जनौं प्रकाश खतिवडाहरु
कलम लिएर उभिरहेको बेला
शोक धुनहरु बजाएर
श्रद्धाञ्जली गीत लेख्दै गर्दा
आरोपित हुन सक्छन्
अपहरित हुन सक्छन्
नजिकै समाधिस्थल नेर
दोहोरो ‘फायरिङ’ भै रहेको छ
ग्रिनेड पड्की रहेको छ
बारुदको गन्ध सँगै
मान्छेको चिच्याहट सुनिँदैछ
हो
ठिक त्यही बेला
प्रकाश खतिवडाहरु
समाधिस्थल नजिकैबाट हराउन सक्छन्।
यसरी
प्रकाश खतिवडाहरु हराएपछि
प्रतिरोधहरुको
प्रज्ञाहरुको
प्रतीक्षा र श्रव्याहरुको
जीवन यात्रा त्रासदीपूर्ण हुनेछ
र सँगसँगै
सुशीला मेडमहरुले पनि
कठिन यात्रा तय गर्नु पर्नेछ ।
प्रतिरोध
प्रज्ञा
प्रतीक्षा र श्रव्याहरुले
प्रकाश खतिवडाहरुको बारेमा सोध्दा
युद्धवन्दी या राजवन्दी
जीवित या मृत
पत्ता लगाई
उचित जवाफ दिनु पर्नेछ
सुशीला मेडमहरुको जीवन यात्रा
सहज हुने छैन
त्यो विष्मयकारी
र
प्रलयकारी हुनेछ ।
प्रकाश खतिवडाहरु हराएको पुष्टि भए पछि
रीता मेमहरुले
आकस्मिक बैठक बोलाउनु पर्नेछ
हुलिया वितरण गर्दै
प्रकाश खतिवडाका सहयात्रीहरु
दूरदरार पुग्नु पर्नेछ।
निरन्तर
प्रकाश खतिवडाहरु हराईरहे पछि
रवीन्द्र र गुरुहरुले
श्याम र निमाहरुले
प्रभा र जयाहरुले
कमल र प्रभुहरुले
शान्त र हेमहरुले
गम्भिरता पूर्वक सोच्नै पर्ने हुन्छ
ताकी कसरी हराई रहेछन
दर्जनौ प्रकाश खतिवडाहरु ?
यीनै समाधिस्थल नजिक बाट ।
अलिखित र लिखित समाचार बन्दै
प्रकाश खतिवडाहरु हराई रहेको कुरा
जब ‘रोष्ट्रम’ मा पुग्छ
त्यहाँ हङ्गामा हुन सक्छ
पुनः ‘रोष्ट्रम’ बाटै
केही प्रकाश खतिवडाहरु……….
सभामुख महोदय !
‘रुलिङ्’ को आवश्यकता पर्न सक्छ
किनकि
माधव र देउवाहरु
भट्टराई र कोइरालाहरु
त्रिपाठी र थापाहरु
रोहित र के.सी.हरु
प्रचण्ड र बादलहरु
भयभीत मुद्रामा देखिन सक्छन
प्रकाश खतिवडाहरुकै
प्रतिच्छाया देखेर ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
No ads found for this position
प्रतिक्रिया


Facebook Comment