श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्ष लुम्बिनी भ्रमणमा, उपाध्यक्ष डा लामाद्वारा भव्य स्वागत
काठमाडौं। श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ। आज लुम्बिनी पुगेका उनलाई कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे।
भेटमा उपाध्यक्ष डा लामाले श्रीलङ्कासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको स्मरण गर्दै बुद्धजन्मस्थल लुम्बिनीले उक्त सम्बन्ध थप प्रगाढ बनाएको बताए। डा लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको उल्लेख गरे।
उपाध्यक्ष डा लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुनुपर्नेमा जोड दिए। त्यस अवसरमा पूर्वराष्ट्रपति राजापाक्षेसँगै नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिराना पनि थिए। पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतका कर्मचारीहरूले स्वागत गरे।
वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलङ्कन मन्दिरको पुनःनिर्माणका लागि अनुरोध गरे। स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गरे। पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गेरको सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले बताए।
परिवारसहित नेपाल आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन पनि गरे। उनले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको बताए। राजापाक्षेले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भबारे पनि जानकारी लिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment