कविता : बुबाको सम्झना
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
बाबा मेरा परदेश आमा मेरी घर
फेरि भेट हुन्छ हुन्न कसलाई थाहा छ र?
घुमि फिरी रुख माथि ढुकुरका जोडी
टाढा देश जान लाग्यौं बाबा मलाई छोडी
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
गड्याङ्गुडुङ् आकाशमा बिजुली चम्कँदा
धुरु धुरु रुन्छ मन बुबालाई सम्झँदा
बिदेश गई बस्न पनि योग्य छैन आज
छिटै होस् है बाबा ज्यूको स्वदेशमा राज
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
आकाशमा उदाई गए सप्त ऋषि तारा
रोक्दा रोक्दै बर्सि दिन्छ यो आँसुको धारा
चाौतारीको ढल्के बर चरीले टेकेको
मेट्नु पर्छ छैटुङमा भाविले लेखेको
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
हिमालको चुली माथि जोर बत्ती बलेको
कसले देख्छ बाबा हजुर हृदय जलेको
ढुकुर र कुथुर्काले गाउँछ मिठो गीत
भेट हुने आशा टुट्यो बाबा हजुर सित
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
चैत्र बैशाखको चर्को घाम बोल्ने कुक्कु चरी
बित्यो जीवन कुक्कु भन्दै निनको कठै बरी
बाबा स्वदेश फिरौं भनी बोल्देउ काफल पाक्यो
तिम्रो गीतको भाखा सँगै छोडी दिन्छु डाको
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
बिहान उठी धोबिनीले फूलबारीमा गाउने
फूल टिप्दा कता कता बुबाको याद आउने
बोल्नु हुन्थ्यो अमृत भन्दा पनि मिठो बोली
माया दिने चुम्नले दृढ प्रेम खोली
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
कहाँ होला पिताजीको बास बस्ने घर?
फर्किएर आउनु बुबा सरासरि घर
कस्तो रैछ निष्ठुर दैब जीवन रेखा लेख्ने?
पिताजीको कहाँ छ घर कहाँ गई भेट्ने?
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
बताइ दिनु सपनिमा सबै बात खास
चरी बनि आउँला भेट्न पिताजीकै साथ
लागेका ती कोपिला फूल नपाउँदै फुल्न
निष्ठुर भइ परदेशमा लाग्नु भयो भुल्न
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर
कोमलको हृदयको पत्थर बन्यो किन?
उस्तै रात उस्तै दिन उस्तै तारा जून
डाँफे मुनाल गाउने गीत भाखा फेरि फेरि
किन रुन्छ्यौ न्याउली चरी मलाई हेरी हेरी
आँसु बरर बाबा बिदैको बेलामा आँसु बरर।
कल (यन्त्र) का बशमा
प्रति स्टेशन पिच्छे दिन सरि उज्यालो छ निशिमा
दिवा हो वा रात्री रवि शशी दुबैको छ प्रतिमा
जंगलका पंखी झैं विमानहरु उड्छन हररर
गरे पृथ्वी भ्रमण वायु सरि छिनैमा सररर
आकाशका तारा झैं बिजुलीहरु बल्छन झिलिमिली
दिवा हो कि रात्री नयन पनि बन्छन् तिरिमिरी
छुटे रकेट सारा ती पनि कलैका बश परी
कलैका बलले नै पनि जल बीच बनेछन् घर पनि
शहर वा नगरमा बिजुली बल्छन् जुनकिरी सरि
चलेका छन मिल ती उ पनि त कलैका बश परि
पुगे चन्द्रै लोकमा उडी कन ती हावा सरि बनि
परे कलैका बशमा अब त ती तारा गण पनि
कलैका बलले नै अब त पृथ्वी जगमग भयो
दुराशाको कालो अब त हटि हावा सँग गयो
जता जाउँ कलकै झिलिमिली छ यो विश्व भरमा
जीवन कलकै बशमा अब त दुनियाँ छैन डरमा।
सुन्दरहरैचा–६ दुलारी, मोरङ
No ads found for this position


Facebook Comment