राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठले लिए खेलबाट सन्यास
काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय भलिबल खेलबाट सन्यास लिएका छन् ।
सामाजिक सञ्जालमा आज एक श्रव्यदृश्य सन्देश सार्वजनिक गर्दै कप्तान श्रेष्ठले धेरै सोच विचार गरेर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको बताए। नेपाल भलिबल संघले उनलाई गत वर्ष साउनमा राष्ट्रिय भलिबल टोलीको कप्तान पदमा नियुक्त गरेको थियो।
श्रेष्ठले सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए। त्यसयता उनी निरन्तर टोलीमा थिए। श्रेष्ठले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएका कारण आफूले सन्न्यास लिएको बताए।
त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २७ वर्षीय श्रेष्ठले यसअघि राष्ट्रिय बिच भलिबल टोलीको कप्तानीको भूमिका पनि निर्वाह गरेका थिए। नेपालले गत वर्ष उनकै कप्तानीमा १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको थियो । श्रेष्ठ राष्ट्रिय पुरुष भलिबल टोलीको ११औँ कप्तान हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment