एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स
काठमाडौं। क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका छन्। यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन्।
एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगको लागि आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्।
रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन्। सञ्चालक श्रेष्ठले भने, ‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं। उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ। युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ।’
रोड्स, जसले मुम्बई इन्डियन्स र हाललखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन्। क्रिकेटमा आफ्नो प्रभावशाली यात्रा उनले जारी राखेका छन्। पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले भने, ‘यस टिममा हुन पाउँदा म उत्साहित छु। अब म मेरो सीप र अनुभव मार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु।’ उनले उद्देश्यअनुसार जान सकिए खेल सकिँदासम्म प्रत्येक खेलाडी उत्कृष्ट हुने विश्वास लिएका छन्।
रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए। हाल उनी आईपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध छन्।
पोकहरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ। जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्त्वपूर्ण हुने निश्चित छ।
उनी पोखरा एभेन्जर्समा समावेश गरिनुले नेपालको क्रिकेटमा नयाँ युगको सुरुवातको संकेत मानिएको छ। रोड्सको अनुभवले टोलीको प्रदर्शनलाई सुधार्ने र युवा खेलाडीहरूको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ। रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउनेछन्।
उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन्। उत्कृष्ट फिल्डिङका लागि पनि उनी परिचित छन्। रोड्सले विभिन्न राष्ट्रिय टिम र आईपीएलसँगको कोचिङमा सफलतापूर्वक कदम अघि बढाइरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment