कविता : मेरी सुनगाभा

प्रकाशचन्द्र खतिवडा
८ मंसिर २०८१ ७:१६
192
Shares

पोल्टा भरी रहर बोकेर
जीवनको फराकिलो मैदानमा
मेरी सुनगाभा
लगातार यात्रा गरिरहेकी छे
बर्षौं बाट
अनन्त आकांक्षाहरुलाई
कुल्चँदै, कुल्चँदै,

अब त उसका पाइतालाहरु
अभ्यस्त भै सके
काडाँ घारीमा हिँड्नलाई
उष्ण बगरहरु छिचोल्नलाई
रगत पच्छे भएरै पनि
यात्रा चलाइरहेकी छे
आफ्नो गन्तव्य टेक्नलाई,

मेरी सुनु
एकै छिन
विश्राम गरन चौतारीहरुमा
भञ्ज्याङ र देउरालीहरुमा
लेक र बेसीहरुमा
भरियाका सुस्केरा सुन्नलाई
पसिनाको मोल
याद्यपि तिमीलाई थाहा छ
तै पनि भरियाहरुलाई नै सोध न
पसिना कत्तिको मूल्यवान छ ?
जिन्दगी जिउन
कति सजिलो, कति अप्ठेरो छ ?,

मेरी सुनु
तिमीले छोडेका यावत स्मृतिहरु
शायदै कथा होलान् भन्ठान्थे
तर जिन्दगीकै बैशाखी रहेछ
तिमी त भन्थ्यौ
नांलो ठटाएर हाती तर्सँदैन
नांलोमा बिस्कुन सुकाएर
अनिकाल टर्दैन
बादलका मुश्लाहरुले
जति सुकै घमण्ड गरे पनि
सूर्यको प्रकाश कहिल्यै छेकिँदैन
निष्पट्ट औंसीको रातमा पनि
ताराहरुको चमक हराउने छैन
सगरमाथा जति सुकै उँचो न होस्
शिविर पार नगरुन्जेल
यात्रीहरु किन्चित थाक्ने छैनन्,

मेरी सुनु
तिमी कति सत्य बोल्छ्यौ
तिम्रो सत्यताको आभा
गाउँ भरी फैलिएको छ
इमान्दारिताका इँटा थप्दै जाउ
सभ्यताको पर्खाल निर्माण हुँदै आउँछ,

म मुठी उचालेर
गर्विलो विश्वास दिलाउँछु
निरन्तर यात्रा गर्दै जाउ
यात्रा विजयोन्मुख छ
तिमीले जितको निशानी टेक्नै पर्छ
तिमी मुक्ति गीत गाउँदै गर

विजयको विगुल बजाउने नै छु,

सुन, सुनु
यात्रा रोक्नु हुँदैन
यात्रा थाक्नु हँदैन
पर्ख
यो यात्रा भरी
एउटा झण्डा लिएर जाउ।

सुन्दरहरैंचा-६,दुलारी, मोरङ

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *