पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ

डिसी नेपाल
२४ मंसिर २०८१ २०:०२
80
Shares

फुङ्लिङ। ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन्। विभिन्न क्षेत्रबाट सात वर्षको समय अवधिमा १३ लाख तीन हजार ९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्यांकअनुसार १३ लाख तीन हजार चार सय ९२ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक सूचनामा उल्लेख छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार चार सय ९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्। यो तथ्यांक चालू आर्थिक वर्ष २०८१/८२ को समावेश नगरी तयार गरिएको हो।

तथ्यांकअनुसार सबैभन्दा बढी दर्शनार्थी आर्थिक वर्ष २०७९/८० मा आएका छन्। उक्त वर्ष दुई लाख ८३ हजार नौ सय ४५ जना दर्शनार्थीले पाथीभरामा पूजाआजा गरेका थिए। पछिल्ला केही वर्षमा दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ जना तथा आर्थिक वर्ष २०७७/७८ मा दुई लाख १७ हजार नौ सय ६१ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको तथ्यांक रहेको छ।

यस अवधिमा सबैभन्दा कम दर्शनार्थी आर्थिक वर्ष २०७५/७६ मा आएका छन्। उक्त वर्ष एक लाख एक हजार छ सय पाँच जना दर्शनार्थीले मन्दिर दर्शन गरेका थिए। कोरोना महामारीका कारण केही वर्ष दर्शनार्थीको आगमनमा कमी देखिएको भए हाल स्थिति सामान्य हुँदै गएको छ।

चालु आव २०८१/८२ को कात्तिक महिना मात्रै ६१ हजार एक सय ७३ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेका थिए। असोज महिनामा भने पाँच हजार नौ सय ४९ जनाले मात्र मन्दिरको दर्शन गरेका थिए। तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ। सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ।

क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा यो यात्रा श्रद्धालुहरूका लागि विशेष अनुभव बनेको छ। पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन्। काफ्लेपाटीसम्मको मार्गलाई फाइबर छाना ओढाउने योजना अझै पूरा हुन बाँकी छ।

पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो। प्रत्येक वर्ष लाखौँ श्रद्धालु यहाँ पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाउने हो भने पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *