सुदूरपश्चिमसामू पोखरा पाँच रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।
पोखराका लागि एन्ड्रिज गउसले ३६, रेयमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रनको योगदान दिएका थिए।
सुदूरपश्चिमका लागि स्कट कगेलजिनले पाँच विकेट लिए। उनले ३.४ ओभरमा एक मेडियन राखेर १८ रन मात्रै खर्चिए। त्यस्तै, हरमित सिंहले तीन र सैफ जैबले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५३ रन बनाउँदा आरिफ शेखले ४२, ब्रान्डन म्याकमुलनले २३, दीपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ र इशान पाण्डेले १० रनको योगदान दिएका थिए।
पोखराका लागि कुशल भुर्तेलले दुई, रेयमन रेफर, सागर ढकाल र मिचेल लिकले एक–एक विकेट लिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment