केही संवाद कविताहरु

प्रकाशचन्द्र खतिवडा
६ पुष २०८१ ७:३४
128
Shares

१.
‘ओ कविजी!
के गर्दै हुनुहुन्छ हो तपाईं?’
‘के गर्नु र यार
बाँच्नै पर्‍यो क्यारे
यसो एउटा प्राइमरी स्कुलमा
पढाउने काम पो गर्दै छु ।’

‘ए!
त्यसैले पो तपाईं त
दुब्लाउनु भएको रहेछ।’

२.

‘ओ कविजी!
के गर्दै हुनु हुन्छ हो आजकल तपाईं?
यसो कविता पढ्न पनि पाइँदैन त
लेख्ने काम छोड्नु भो कि कसो?’

‘हो त नि
ठिकै भन्नु भो
लेखेर के गरौं?
कविताले छाक टर्दैन त।’

३.

‘एउटा कवि
जो कविता लेख्छ
थाहा छ तपाईंलाई?
उ हिजो आज के गर्छ?’

‘अ हँ थाहा छैन’
‘ल त्यति पनि थाहा छैन हजुरलाई?
उ त हिजो आज
भोकको कविता लेख्दै
सडक तिर भौंतारी रा छ।’

४.

‘पर्खन भन्या
एउटा साडी किन्नै परेको छ।’

‘ए!
विवाह पछि निकै फुर्कन्थ्यौं त
थाहा पायौ?
स्वास्नीको गुलाम बन्दा
कस्तो हुँदो रे छ ।’

५.

‘नमस्कार हजुर!

‘नमस्कार!
कति कामले पाल्नु भा हो कुन्नि?’
‘हजुरलाई थाहै छ नि
बढुवाको लिष्टमा
यसपालि त निगाह बक्सन्छ कि?’

‘बुझें
तपाईं पनि
निकै चाकडी बाज पो हुनुहुँदो रे छ।’

६.

‘ए हजुर!
अचेल जागिर कस्तो भा छ?’

‘खै कस्तो भा छ भनूँ?
न निल्नु
न ओकल्नु
न लौरो
न पुच्छर
घाँटीमा झुन्ड्याएको
घाँडो जस्तै भा छ।’

७.

‘ए! सुन्नोस् त
तपाईंले त
कालो पट्टि पनि पो बाँध्नु भा छ त’

‘न बाँधेर के गरौं?
एक महिनाको तलबले
चुलो चौको नै नजल्ने भा छ।’

८.

‘एक मिनेट
त्यो पर के को भीड भाड छ?’

‘ल त्यति पनि थाहा छैन हजुरलाई?
आज जागिरेको सत्याग्रह छ
महँगीको अनुपातमा
तलब भत्ता कम छ भन्छन्
तलब भत्ता बढाउनु प¥यो रे नि त।’

९.

‘हेल्लो कमरेड!
लाल अभिवादन
कता लाग्नु भा हो कस्सिएर?
एक छिन बात मारी बसौन
फुर्सत के कसो छ कुन्नि?’

‘अभिवादन मित्र
म टुँडीखेल जाँदैछु
आज अलि हतारो छ
टुँडीखेल पुगेर
आम सभा स्थल बनाउनु छ
मैले तपाईंलाई निम्तो गरे
झन्डा लिएर आउनु होला
दिनको ठिक बाह्र बजे
हाम्रो पार्टीको र्‍याली निस्कँदै छ।’

१०.

‘हैन कहाँ गएर आउनु भा हो?
निराश पो देखिनु हुन्छ त
के पीर पर्‍यो हजुरलाई?
मनको बह पोख्नु हुन्छ कि?’

‘पोख्न त हुन्थ्यो
पोखेरै पनि के फाइदा छ र?
म त खुत्रुक्कै परे नि
पार्टी सभा पति भइन्छ भनेको
इतर परिएछ
केन्द्रको आशीर्वाद पाउँनै सकिएन
नव प्रवेशिलाई मौका दिएको रे
संघर्ष र बलिदान कता हरायो?
धेर बोल्न मिल्दैन
यो शिशु प्रजातन्त्र रे।’

सुन्दरहरैंचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *