स्वतन्त्रका सत्ताको सात मुक्तक
(१) एउटा नयाँ कुराले निकै चर्चा पायो पत्रपत्रिकमा
रातोरात अचम्मैसँगले तरंगनै छायो पत्रपत्रिकामा।
स्वयम्भूबाट बाँदर हराएको सूचना पढेकै भोलिपल्ट
सिंहदरबारमा भेटिएको खबर आयो पत्रपत्रिकामा।
(२) बनाएर त्यो हृदय पत्थर परिस्थितिलाई देऊ
तिम्रो पनि समर्थन सकभर परिस्थितिलाई देऊ।
एकमाथि दुईको आक्रमण युद्ध नीति विरुद्ध हो
प्रिया अहिलेलाई यो अवसर परिस्थितिलाई देऊ ।
(३) यो संसार कति अनुपम हुन्थ्यो होला
प्रेम र स्नेह अधिकतम हुन्थ्यो होला।
मनुष्यमा वाक शक्ति नै नभएको भए,
जिब्रोले दिने चोट कम हुन्थ्यो होला।
(४) तिम्रो नाम सुन्नै नपर्ने कुनै सहर बताइदेउ
नत्र, तिम्रा याद मात्र मार्ने जहर बताइदेउ।
के देखेर प्रेम गर्यौ र के देखेर छोड्यौ?
कम्तिमा यी दुई प्रश्नका उत्तर बताइदेउ!
(५) प्रहरीलाई जनताको सधै ताली हुनेथियो
बगैंचाको मालिक स्वयं माली हुनेथियो
चोर, ठग र भ्रष्टचारी सबैलाई जेल हुने भए
मेरो देशको सासंद भवन खाली हुनेथियो।
(६) दिन, गते र बर्ष गनेर कहिले सोध्ने हो?
शुभचिन्तक जस्तै बनेर कहिले सोध्ने हो?
मेरो बारे अनावश्यक चासो राख्नेहरु हो,
कहिले मर्छस “तँ” भनेर कहिले सोध्ने हो?
(७) वीरहरूको नै हुँ सन्तान भन्दै सान गरौँ कि नगरौँ?
चलन, चल्ती, धर्म र संस्कृतिको सम्मान गरौँ कि नगरौँ?
मलाइ धारा र मन्दिरमा निषेधित गर्नेहरूले जवाफ देऊ,
कसैलाई रगतको अभाव छ, मैले रक्तदान गरौँ कि नगरौँ?
No ads found for this position




Facebook Comment