राज्यले नचिनेका ‘चिफ सर!’

यमराज जोशी
२ फागुन २०८१ ६:४०
680
Shares

सामान्यतया हाम्रो साजमा नेतृत्व गरिसकेका व्यक्तिका तमाम आलोचक हुन्छन्। कसैले आलोचना हुने गलत काम नै गरेका पनि हुन्छन्। अधिकांश व्यक्ति आलोचित हुने कारण नेतृत्वसँग अपेक्षित हुनु हो। मेरा लागि केही गरिदेवस् भन्ने हुट्हुटीले मानिस आलोचित हुने गर्छन्।

नेतृत्वका आफ्नै पदीय दायरा र मर्यादा हुन्छन्। आर्थिक, कानुनी, सामाजिकलगायत विभिन्न उल्झन हुन्छन्। त्यसकारण व्यक्तिका केही अपेक्षा पूरा गर्न सकिन्छ। केही सकिँदैन। कतिपयले नियतवस पनि काम नगरेको देखिन्छ। अझै भन्ने हो भने कतिपय कुरा त पूरा गर्न सम्भव नै हुँदैनन्।

काम गर्ने चाहाना हुँदाहुँदै पनि विभिन्न कारणले गर्न सकिँदैन। आफूले चाहेको, अपेक्षा गरेको कुरा प्राप्त नहुँदा आफूले आसा, विश्वास गरेका व्यक्तिबाट काम नहुँदा गुनासो गर्नु, चित्त दुखाउनु, आलोचना गर्नु, स्वाभाविक जस्तै हो। संसारका ठूला मुलुकमा पनि यस्तै हुन्छ।

अहिले समाजमा कुनै न कुनै ठाउँमा नेतृत्व गरेका र जिम्मेवारीमा रहेर काम गरेका अधिकांश व्यक्ति आलोचित भएका थुप्रै उदाहरण छन्। आज सामाजिक, राजनीतिलगायत विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका थुप्रै व्यक्तिमाथि मानिसका निराशा छन्।

एकपटक अवसर प्राप्त गरेर नेतृत्व गरेका धेरै व्यक्ति यस्तै कारणले विलीन पनि भएका छन्। तर, कोही यस्ता पात्र छन् जसको नाम सुन्दा गर्वले छाति चौडा र श्रद्धाले शीर झुक्छ। मनदेखि सम्मानको भाव झल्किन्छ। त्यो सबै त्यस्ता व्यक्तिका असल कर्म, मेहेनत, कुनै न कुनै रूपमा इमानदारिता र समाजका निम्ति गरेको योगदानले प्राप्त हुने सम्मान हो।

त्यस्तै माहानता बोकेका व्यक्तिका रूपमा शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्त सर चिनिनु हन्छ। उहाँले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ। उहाँले झण्डै ४२ वर्ष प्राध्यापन गर्नु भएको छ। त्यसमा पनि २२ वर्ष सुदूरश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख, एउटा कार्यकाल झण्डै ५ वर्ष सुदूरपश्चिम विश्वविद्यालयको रजिष्टार जस्ता महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्नु भएको छ।

तर, उहाँप्रतिको आलोचना र नकारात्मकता कहिल्यै सुन्न पाइएन। यतिका समय नेतृत्व गर्दा कैयौं सफलता असफलता होलान्। कैयौका चित्त बुझाउन सकिएन होला, कैयौका अपेक्षा अनुसारका काम गर्न सकिएन होला। तथापि उहाँले ज्ञान, क्षमता र योग्यता प्रस्तुत गर्दै सबैलाई आफ्नो कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल हुनु भयो।

डा. हेमराज पन्तलाई धनगढी उपमहानगरले बुधबार नागरिक अभिनन्दन गरेको छ। सम्मानले सशक्त रूपमा नयाँ कुरा स्थापित गरेको छ कि समाजमा असल व्यक्तिले सम्मान, प्रतिष्ठा पाउँछन्। त्यसैले असल कर्म गर्नुपर्छ। असल कामलाई सम्मानले कुरेर बसेको हुन्छ। अब अन्य व्यक्तिले आफ्नो काम गर्दै गर्दा यो सम्मानलाई पटक-पटक सम्झिनेछन्।

त्यसका निम्ति धनगढी उपमहानगरलाई हार्दिक धन्यवाद छ। अब आउने पिढीलाई हामीले असल कर्म गर्दा के प्राप्त हुन्छ भन्दा इमानदारिता पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने निष्ठाको जीवन बोकेका चिफ सर बन्न सकिन्छ भनेर उदाहरण दिन सक्नुपर्छ।

राम्रो काम गर्नेलाई समाजले यस्तै खालको सम्मान गर्छ भन्ने गतिलो उदाहरण चिफ सर बन्न सक्नु भएको छ। यो उदाहरण पाएपछि नयाँ पुस्तालाई थप अरु सम्झाइ रहनु पर्ला जस्तो लाग्दैन। पन्त सर हाम्रो अमूल्य सम्पत्ति, आदर्श र ज्ञानको भण्डारका रूपमा रहनुभएको छ।

साँच्चै ज्ञान, क्षमता र योग्यताले उहाँसँग आँखा जुधाएर बोल्न सक्ने मान्छे कमै छन्। अहिले उमेर झण्डै ८ दशक पुग्नै लाग्दा पनि उहाँले सक्रिय जीवन बाँचिरहनु भएको छ। उहाँको काम गर्ने ऊर्जा शक्ति साँच्चै लोभलाग्दो छ। उहाँमा जुनुन छ, सपना र योजना छ। त्यही अनुसारको ज्ञान छ। त्यसैले उहाँ हाम्रो अमूल्य सम्पत्ति हो। यो अमूल्य सम्पत्तिलाई हामीले सदुपयोग गर्नै सकेका छैनौं।

मनमा खड्की रहेको यही एउटा कुरा छ। विश्वका विकसित, ठूला मुलुकले देशको टप जनशक्ति र अन्य देशको टप जनशक्तिलाई समेत महँगो शुल्क तिरेर देश विकासमा सक्रिय तुल्याउँछ। राज्यका विभिन्न निकायमा टप जनशक्तिले काम गरिरहेका हुन्छन्

। कानुन निर्माण, योजना निर्माण, त्यसको व्यवस्थित कार्यान्वयन क्षमतावान् व्यक्तिले गर्छन्। त्यसैले त्यो प्रभावकारी पनि हुन्छ। तर, यति अमूल्य सम्पत्तिलाई हामीले सम्मान गरेर कुनामा थन्काउने त होइनौं? यो डर पनि छ। सम्मान साथ राख्नुपर्ने भनेको कमजोर भएर काम नसक्ने अवस्थामा पुगेको बेलामा हो। यति ऊर्जा भएको बेलामा हामीले सदुपयोग गर्ने हो। यति महत्वपूर्ण कुरालाई राज्यका कुनै निकायले सही सदुपयोग गर्न सकेको छैन।

कतिपय साना ठूला निजी संघ संस्थाले ब्यानरमा उहाँको नाम र फोटो मात्रै राखेर भए पनि आफ्नो सेवा र व्यवसाय गरेर सफलता प्राप्त गरिरहेका छन्। उहाँको ज्ञानको सानो अंशले निजी लगानीकर्ताले ठूला/ठूला सफलता प्राप्त गरेका उदाहरण छन।

तर, जहाँ राज्यको लगानी छ, अलिकति पुँजी र अथाह सम्भावना छ, यत्तिको व्यक्तित्वले त्यो सम्भावनालाई साकार गर्ने जिम्मेवारी प्राप्त गर्न सक्ने अवस्था छैन। उहाँ जत्तिको व्यक्तिले त्यस्तो जिम्मेवारी प्राप्त गर्ने भए देशको मुहार फेरिन समय लाग्थेन। राज्यले यस्ता व्यक्तिलाई चिन्नै सकेको छैन। चिन्न नै खोज्दैन।

उहाँहरूको क्षमता सदुपयोगको कुरा त परै छ। स्थानीय तह, प्रदेश वा संघले उहाँ जत्तिको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिनुपर्छ। शिक्षा क्षेत्र, योजना आयोग, वित्तीय क्षेत्र जस्ता महत्वपूर्ण निकायमा उहाँ जत्तिको व्यक्तिको खाँचो छ। यो राज्यले बुझोस्।

नेतृत्वलाई आग्रह छ, यस्ता अमूल्य सम्पत्तिको सही समयमा सदुपयोग गरौं। समयले जन्माएका योग्य व्यक्तिलाई राज्यले समयमा सदुपयोग गर्न सकेन र भोली उहाँहरू नरहँदा जति गुणगान गाए पनि केही हुँदैन। नेताहरू नेपालमा सधैँ कार्यकर्ता र आफन्तको व्यवस्थापनमा तल्लिन देखिन्छन्।

योग्य व्यक्तिको क्षमता सदुपयोग नै हुँदैन। चिफ सर त्यो युगले जन्माएको तर राज्यले चिन्न नसकेको पात्र हुन्। उहाँलाई उपमहानगरले गरेको सम्मान सम्मान योग्य छ। अब राज्यले उचित जिम्मेवारी दिएर सम्मान गरौंस्।

स्ववियु अध्यक्ष, कैलाली बहुमुखी क्याम्पस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *