नेपालमा आन्दोलनरत शिक्षकहरू र अविभावक नेपाल सरकारलाई अमेरिकाबाट विशेष सन्देश

कवीन्द्र सिटौला
१७ वैशाख २०८२ १०:१४

नमस्कार ! नमस्ते, नमस्ते, नमस्ते !

म कवीन्द्र सिटौला,

आज एउटा कविता सन्देश लिएर फेरि उपस्थित भएको छु यहाँहरूको समक्ष। यस घडिमा हामी जीवनमा, जहाँ जहाँ छौं, यो जीवन, यो पृथिवीमा हामी जहाँ छौं, सबैलाई हाम्रा जीवन यात्राका, हाम्रो शिशु अवस्थाका पहिला हाम्रा गुरु, माता, पितालाई सम्झूँ यस घडीमा।

हामी प्राथमिक शिक्षाको बेलामा जो हाम्रा गुरुहरू हुनुहन्थ्यो प्राथमिक स्कुल चाहे त्यो गाउँको होस्, चाहे शहरको होस् , हामी जहाँबाट आयौं त्यहाँका गुरुहरूलाई एकपटक सम्झौं जसले हामीलाई पारिवारिक प्राथमिक स्कुलमा ज्ञान दिन शुरु गर्नु भयो। माता पिता गुरुदेखि हाम्रा सबै स्कुलका गुरुहरूलाई यस घडिमा सबैलाई एक पटक सम्झिन अनुरोध गर्दछु।

नववर्ष २०८२ को सुखद् घडीमा सबैलाई शान्ति मिलोस्, समृद्धि मिलोस्, खुसी मिलोस्, आनन्द मिलोस् भन्ने मंगलमय शुभकामना अर्पण गर्दछु। यसै अवसरमा म एउटा कविता पनि लिएर आएको छु फेरि अमेरिकाबाट।

आन्दोलनरत आदरणीय शिक्षकहरू र सबैको अविभावक नेपाल सरकारलाई एउटा विशेष सन्देश दिन चाहन्छु।

आदरणीय शिक्षक महोदयहरू, गुरुज्यूहरू,

मेरो पहिलो कृति हृदयका स्पन्दनहरूबाट यहाँहरूलाई मेरो सिर्जना ‘शिक्षक ज्ञानको श्रीगणेश’बाट सम्मान गर्न गइरहेको छु। यहाँहरूले आफ्नो शैक्षिकक्षेत्रबाट अनवरत गर्दै आएको राष्ट्रसेवाको उच्च सम्मान गर्दै यहाँहरूको अभियान र नेपाल सरकारबीचमा अर्थपूर्ण सहमति हुन सकोस् भन्ने हार्दिक आग्रह र शुभेच्छा प्रकट गर्दै पूर्ण सफलताको शुभकामना ज्ञापन गर्दछु।

श्रद्धेय नेपाल सरकार,

शिक्षा नै राष्ट्रलाई द्रुत गतिमा अगाडि बढाउने सुख, शान्ति, समृद्धि र प्रगतिको आधार हो। शिक्षकहरू यसका मेरुदण्ड र संवाहक हुन् । उहाँहरूका मागहरूलाई सम्बोधन र सहमति हुन्छ भन्ने आग्रह, अनुरोध एवम् विश्वास राखेको छु।

साथै विद्यार्थीको ज्ञान, जीवन, भविष्य र सपनामा परिरहेको प्रतिकूल असरमा श्रद्धेय नेपाल सरकार, आदरणीय गुरुज्यूहरूबाट यथाशीघ्र सहमति भई शिक्षाको सम्मान होस् भन्ने कामना गर्दै, प्रार्थना गर्दै सम्पूर्ण आदरणीय शिक्षकज्यूहरूमा मेरो कविता “शिक्षक ज्ञानको श्री गणेश” समर्पण गर्दछु।

पृष्ठभूमि संगीत सौजन्यको लागि

अपरमिता युट्युब परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

शिक्षक ज्ञानको श्रीगणेश

हे शिक्षक !
तिमी नै मेरो शिक्षाको श्रीगणेश गर्ने
जीवनपथमा ज्ञानको ज्योति फैलाउने
अज्ञानताको अँध्यारो हटाउने
अटुट प्रकाश हौ!
तिमी नै जीवनको पथप्रदर्शक हौ
तिमी नै मेरो जीवनको पथप्रदर्शक हौ
तिमी नै जीवनको पथप्रदर्शक भइरहनेछौ

अक्षर अक्षर आरम्भका प्रत्येक सूत्रहरू-
कपुरी क, कान्दानी का
बाइमात्रा, तलकुरे,
क बाट कलम, ख बाट खरायो
एक, दुई, तीन, एकलाई शुन्ना दश
ए ,वी, सी,डी, ए फर एप्पल, बी फर बस
दुई एकान दुई, दुई दुना चार
तारबाजी लै लै, मामा आए घोडा, माइज्यू आइन् डोली
ट्विङ्कल, ट्विंकल लिटिल स्टार
हाऊ आई वण्डर, ह्वाट यु आर!
ए स्क्वाएर, बी स्क्वाएर लगायत
अरू धेरै अपरिहार्य ज्ञान
सुसूचित गराउँदै औँला समाउँदै
चेतनाको उज्यालो प्रवाह फैलायौ
मलाई अचम्मको संसारमा प्रवेश गरायौ!

हे शिक्षक !
तिमी मेरो पुस्तकको अक्षर, शब्द र पानाहरू हौ!
तिमी नै मेरो वाक्य वाक्यको अर्थ हौ!
तिमी मेरो जीवनको
रहस्यमय ढोका खोलिदिने चाबी,
मेरो जीवनलाई बाटो देखाइदिने सहयोगी,
मेरो हरप्रश्न र उत्सुकताको उत्तर
मेरा हर समस्याको निराकारण तिमी नै हौ!

तिमी वेदव्यास, वाल्मीकि
अरू धेरै धेरै ऋषिमुनि र तपसी गुरुहरू हौ मेरो लागि!
तिमी मेरो मात्र होइन
समस्त मानवको ज्ञान र विज्ञानको
असीमित आकाश हौ! असीमित आकाश!
ज्ञानको बिम्व हौ तिमी, प्रतीक हौ प्रतीक!
नवनव सिर्जना देखाउँदै
तिमी मलाई विश्व देखाइदिने
ब्रह्माण्डको रहस्य बुझाइदिने
सृष्टिसित परिचय गराइदिने
मेरा दुईटा आँखालाई ज्योति दिने
ती आँखालाई पनि दृष्टि दिने
अझ सचेत अन्तर्दृष्टि दिने
सूक्ष्म चेतनाको अन्तर्चक्षु हौ!
तिमी नै मेरो कल्पना र सपनाको स्पन्दन हौ, स्पन्दन!

हे शिक्षक!
तिमी मेरो बाल्यकालको प्यारो साथी
मेरो जीवनको अनुशासन र आधारशिला हौ !
‘एकता नै बल हो’ भन्ने
जीवनको पहिलो मन्त्रको संकेत दिने
हातका पाँच औँला हौ!
मलाई लेफ्ट्, राइठ्, लेफ्ट् गराउँदै
देब्रे, दाईने, देब्रे गराउँदै
रेडी, अण्डर मार्क्
गेट् सेट्, गो गराउँदै
दौडाउने मेरो प्रगतिको गति हौ! गति!
मेरो लक्षको निसाना हौ!
मलाई जीवनको हारजितमा
स्थिर रहन सिकाउने, मेरो धैर्यता तिमी!

यति मात्र होइन,
तिमी राष्ट्रलाई उठाउने
वीर, वीराङ्गना, सहिद, समाजसेवी,
डाक्टर, इन्जिनियर, पाइलट, वकिल, न्यायाधीश,
उद्यमी, वैज्ञानिक, साहित्यकार, कलाकार, प्राध्यापक,
पत्रकार, किसान, खेलाडी, तालिम दिने कोच,
कर्मचारी, सैनिक, प्रहरी, सबै सबै राष्ट्रसेवक,
असल नागरिक
अनि
राष्ट्राध्यक्ष, सुयोग्य सपूतहरू, ऋषिमुनिहरू पैदा गर्ने
आमा हौ
हो, शिक्षक साँच्ची नै तिमी मातृतत्व हौ!

हे शिक्षक !
तिमी नैतिकता, जिम्मेवार र स्वाभिमान सिकाउने पिता हौ पिता
मलाई असल मानव बनाउने श्रद्वेय गुरु हौ
हो, मलाई असल मानव बनाउने तिमी श्रद्वेय गुरु हौ
तिमी स्वयम् नै सरस्वती र भगवानको दूत हौ
तिमीलाई दण्डवत गर्ने कुनै भाव नै बाँकी छैन
मसँग तिमीलाई अभिनन्दन गर्ने कुनै शब्द नै छैन
तिमीलाई बधाई दिने कुनै पुष्पहार नै छैन मसँग।

जो शिक्षक यस समय मसँग छैनौ
भौतिक रूपमा तिमी नभए पनि,
तिमी मेरो प्यारो सम्झनामा छौ
प्यारो सम्झनामा मेरो
तिमी अमर छौ!
तथापि
तिमीलाई श्रद्धाञ्जली अर्पण गर्ने
मेरो अञ्जुलीमा केही पनि छैन!
तिमीलाई चढाउने कुनै भेटी नै मेरो पासमा छैन,
शिक्षक केही पनि छैन!
किनकि
त्यो भन्दा धेरै धेरै माथि छौ तिमी!
त्यो भन्दा धेरै धेरै गहिराइमा छौ तिमी!

हो, त्यो भन्दा तिमी धेरै धेरै उच्च स्थानमा छौ तिमी!
गहिराइमा छौ तिमी!
तिमी मेरो हृदयको केन्द्रबिन्दुमा छौ-केन्द्रबिन्दुमा
मसँग तिमीलाई दिने केवल प्रेमको मुस्कान छ
आत्मीय सम्मान!
मात्र प्रेमको मुस्कान, अनि आत्मीय सम्मान!
मीठो सम्झनाको मुस्कान!
मीठो सम्झनाको मुस्कान।

श्रद्धेय गुरुदेवहरू, गुरु माताहरू!

हामी सृष्टि चक्रसँगै, सृष्टि चक्रको गतिसँगै, समयचक्रसँगै नयाँ युगमा प्रवेश गर्दैछौं, चेतनाको युगमा ! हाम्रो अँध्यारो युगलाई उज्यालो युगमा रूपान्तरण गर्न यहाँहरूको सबैभन्दा ठूलो भूमिका रहनेछ। मैले यहाँहरुलाई एउटा निवेदन पठाएको छु voiceofkabin मार्फत ।

मेरो भर्चुअल घर voiceofkabin.com मा गएर हेरिदिनु हुन र युग परिवर्तनको लागि आफूलाई तयारी अवस्थामा राख्नको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु, आह्वान पनि गर्न चाहन्छु। हामीसँगै हुनेछौं हामी जानकारी गराउँदै हुनेछौं।

हार्दिक धन्यवाद।

तपाईँको जीवन तपाईंको परिवारको जीवन सुखमय होस्, शान्तिमय होस्, समृद्धमय होस्, आनन्दितमय होस्, यति भन्दै यो घडीमा म यहाँहरुबाट बिदा माग्न चाहन्छु।
यहाँहरूको सदा जय होस्
यहाँहरूको सदा जय होस्
यहाँहरूको सदा जय होस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *