बुद्ध एण्ड मार्क्स : फिलोसोफिकल इन्ट्याङ्गलमेन्ट

बुद्ध र मार्क्सको खोज : मानव जातिको शान्ति र प्रगतिमा केन्द्रित

लोकबन्धु घिमिरे
२९ वैशाख २०८२ १०:१३

यतिबेला संसारभर अमानवीय युद्धको चिन्ता थपिएको छ, फेरि कतै तेस्रो विश्व युद्ध हुने त होइन भन्ने डरत्रास आम मानिसमा फैलिएको छ। रुस-युक्रेन युद्ध, मध्यपुर्वी हुथी युद्ध, सिरिया युद्ध, इजरेल-गाजा युद्ध त थियो नै त्यसैमाथि थपिएको भारत-पाकिस्तान युद्धले अर्को बैश्विक संकट थपिदिएको छ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी वरीपरी अशान्ति देखिँदै पो छ। यो सबैको कारण अन्याय, गरिवी, दुःख, पीडा, शोषण, दमन र शासकहरुको स्वार्थ–घमण्ड नै हो। आम मानिसहरु अशान्ति र युद्ध कहिलै चाहन्नन्।

इतिहास हेर्दा पनि देखिन्छ कि शासकहरु नै युद्ध पिपासु हुन्छन्। शासकहरु हमेशा भाइ–भाइलाई लडाउछन् र युद्ध थोपर्छन। पुँजीवाद, साम्राज्यवाद, उपनिबेशवाद, नवउदारवाद जस्ता शोषण प्रणालीमा निर्भर सबैखाले अर्थ-राजनीतिक प्रणालीहरु सारमा युद्धउन्मादी हुन्छन्।

तसर्थ आउनुहोस् यस्ता खाले युद्धहरुको बिरोध गरौं र यस बुद्ध जयन्तीका अबसरमा हामीले पनि नागरिक तहबाट संसारभर शान्तिको शुभकामना ब्यक्त गरौं। किनकि युद्ध समग्र मानव जातिको शान्ति र प्रगतिको बाधक तत्व हो।

यसै क्रममा आजभोलि गौतम बुद्धको जन्मजयन्ती मनाइँदै छ। कार्ल मार्क्सको पनि मनाइयो। यथार्थतामा भन्दा यी दुबै दार्शनिकहरु सच्चा शान्तिकामी, जनपक्षीय र अग्रगमनका प्रणेता थिए, उनीहरु हमेसा मानव जातिको प्रगतिको पक्षमा थिए।

हरेक साल बैशाख शुक्ल पूर्णिमालाई गौतम बुद्धको जन्म दिवस मानिन्छ, यसरी नै बैशाखको मध्य (मई ५) मा माक्र्सको सम्झना गरिन्छ। यी दुबै दिनहरु प्रायशः बैशाख महिनामा नै पर्छन् र यी सामिप्य पनि देखिन्छन्।

इतिहासतिर हेर्दा गौतम बुद्धको समयलाई करीब सत्ताइस सयवर्ष अघिको अर्थात प्राचीनकाल भनिएको छ भने माक्र्सको समयलाई आधुनिक काल अर्थात करीब दुई सय वर्ष अघि भनिएको छ। यसरी हेर्दा बुद्ध र माक्र्सको जैविक अस्तित्वको अन्तराल पच्चीससय वर्ष हो भन्न सकियो नै।

उत्पादन प्रणालीका आधारमा हेर्दा बुद्धकालीन समय दास युगीन समाज सामन्तवादतर्फ बिकासक्रमको रेखामा हिँड्दै गरेको पाइन्छ। त्यतिबेला भारतवर्ष मात्रै नभइ युरोप र ग्रीस (ऐथेन्स) मा पनि दास-मालिक उत्पादन सम्बन्ध नै हाबी थियो यसलाई आदिम (घुमन्ते-कबिला-शिकारी-पशुपालन युग) उत्पादन स्थितिबाट अलि बिकसित भएको (सामन्तवादतिर हिँड्न लागेको) सिचाइ ब्यवस्था र खेतीपाती गरिबस्ने एवं राजा रजौटा-महाराज-मालिक-भूपतिहरुकै अधीनस्थ अर्थ ब्यवस्था एवं राजकाज रहने समय देखिन्छ।

यो बेला कच्चा मानबीय श्रम र नोकरचाकर तथा दासदासीकै श्रम शोषणमा टिकेको कमजोर उत्पादन प्रणालीको राज्य सन्चालन समय मान्न सकिने भयो। माक्र्सको समयमा भने पुजीवादी उत्पादन प्रणाली बिकाससहित मेसिन–कलकारखानाको प्रयोग भई उत्पादनस्तर निक्कै माथि पुगेको अबस्था रहेको देखिन्छ।

सिद्धार्थ गौतम बुद्धबाट प्रतिपादित दर्शन-बुद्ध दर्शन (बुद्धिज्म) र कार्ल माक्र्सबाट बिकसित दर्शन माक्र्सवाद (मार्क्सीजम) लाई एकै ठाँउमा राखेर राम्ररी विश्लेष्ण गर्दा सारांशमा यी दुबै दर्शनहरुको खोज लक्ष्य एउटै देखिन आउछ, त्यो हो, यस संसारबाट दुःखको अन्त्य गर्नु।

यही दुःख नै मानव जातिको शान्ति र प्रगतिको बाधक हो। यस संसारमा अधिकाशं मानिसहरुले दुःख मात्रै पाएका छन् अनि यस्तो दुःख किन र कसरी उत्पन्न हुन्छ र यो दुःखको अन्त्य कसरी गर्न सकिन्छ? भन्ने बिबेचनाको उठान र निदानको ढाँचामा हेर्दा यी दुबै दार्शनिकका तर्क उस्तै उस्तै देखिन्छन्।

जसरी आधुनिक क्वान्टम भौतिकीको बिकासले क्वान्टम इन्टेगंलमेण्ट (जुम्ल्याहा पार्टिकल्स) को अबस्थाको संभावना रहने भनी ब्याखा गर्छ।

यसरी दार्शनिक बिचारका तहमा कतै बुद्धिज्म (बुद्ध) र माक्र्सिजम (माक्र्स) का बीचमा पनि यस्तो संलिपना (मेलमिलाप)
अर्थात् नदेखिँदो मसिनो त्यान्द्रोले जोडिएको बैचारिक सम्बन्ध (स्पुकी रिलेसन) त नहोला? भन्ने जस्तै प्रश्न गर्न सकिन्छ।  भनौ कि यिनीहरुको बिचारको न्युल्कियस (सारत्व) जोडिएको पो हो कि भन्ने परिकल्पना निर्माण गर्न सकिन्छ।

यसैले आउनुहोस् यसमा ससानो मन्थन गर्ने कोशिस गरौं। यसलाई हाइपोथेसिस (परिकल्पना) नै मानौं र यसको सत्यता परीक्षण कसैले गलार्न पनि। यसका लागि प्रथमतः यी दुई दर्शनका आधारभुत पक्ष र निष्कर्ष माथि सानो बिबेचना गरौं।

 बुद्ध दर्शन

त्रिपिटक महाग्रन्थमा उल्लेख भएअनुसार गौतम बुद्धले चार आर्यसत्य पत्ता लगाउनु भयो। मानिसहरुले यी ४ आर्य सत्य स्वीकार गरी निर्वाण प्राप्त गर्नु नै दुःखको अन्त्य र सुख प्राप्तिको मार्ग हुने भन्नु भएको छ, ती चार सत्य यस्ता छन्, (क) जीवन दुख हो (ख) दु:खको कारण छ (ग) दुःख बिनास गर्न सकिन्छ (घ) दुःख हटाउने उपाय पनि छन् भनिएको छ।

खासमा गौतम बुद्धको दर्शन जैबिक जीवन दर्शन (अर्गानिक लिभिङ फिलोसफी) भएकाले हामीबाट यस्तो खाले जीवन यापनका विधिहरु अंगाल्न सके संसारिक पीडाका समस्याबाट पार लाग्न सकिने भनेको पाइन्छ।

उक्त समयमा सामाजिक-राजनीतिक कारणहरु (सामाजिक वर्ग संरचनाहरु र राज्यको शोषण) बाट मानिसहरुले पाएको दुःखभन्दा पनि दुःख सृजनाका जैबिक कारणहरु (जन्म, मृत्यु, शोक, रोगव्याधी, घाइते, चोटपटक, हिंसा, सम्पत्ति, धन, लोभलालच) मा बढी ध्यान गएको देखिन्छ।

यसर्थ बुद्धको पीडा निदात्मक उपाय अर्थात् निर्वाणलाई त्यसै वरीपरी रहेको प्राकृतिक–बैज्ञानिक उपाय भएको मान्न सकिन्छ। अष्टागं मार्ग भनिने आठ वटा सम्यक ब्यबहारले दुःख निदान गर्न सक्छन् भनी उहाँबाट सरल र जीवनयोगी उपायहरु सुझाइएको छ। शान्तिपूर्ण समाज र प्रशान्त ब्यक्तिगत जीवनयापनका लागि उहाँको अष्टागं बिचारहरु निकै उत्प्रेरक छन्।

बिचारका हिसाबले उहाँले संसार परिबर्तनशील रहेको भनी क्षणिकवादी दर्शन प्रतिपादन गर्नु भयो। परिबर्तन नै सत्य हो यो बुझ्न सकिन्छ भनिएको छ, यसरी नै संसार ज्ञेयात्मक छ, यो ब्रम्हाण्ड भौतिक पदार्थले बनेको हो, यी पदार्थ अणुबाट बनेकाले यो कुनै रहस्यमय र दैबिक सृजना होइन भन्नेछ, यसर्थ अनिश्वरवादी दर्शन उहाँको बिचारको अर्को पाटो रहेको छ।

साथै उहाँ अनात्मवादी पनि रहनुभयो। मुल बिचारका हिसाबले बुद्धिज्मले प्रत्तीत्य-समुत्पाद प्रकृयाबाट बस्तुको अस्तित्व (एक्जीष्टेन्स एण्ड रियालिटी) उत्पन्न हुन्छ भन्नु भएको छ यो बिचार द्वन्द्वात्मक भौतिकवादसँग मिल्न जान्छ।

एक बस्तु वा पदार्थको अघि अर्को पदार्थ उत्पन्न हुदा कार्य-कारण सम्बन्ध देखिन्छ र सोको प्रतिकृयास्वरुप कारणको खोजी गर्दा तत्तक्षण चेतना निर्माण हुने कुरा पनि त्यहाँ छ।

खासगरी उतिखेर अध्यात्मवादी दर्शन लिएका (परआत्मा र स्वर्गको मोक्षमार्गी आशा देखाउने) हिन्दु पुरोहितवाद, कट्टर ब्रहमणवाद र उदाउँदै गरेको सामन्तवादी शोषणका बिरुद्ध लडाइ छेड्दै आफू जीवित छँदै मानिसले सुख पाउन संभव छ भन्ने उहाँका बिचार नै त्यो बेला समाजलाई बदल्ने जैबिक–यर्थाथतावादी बिचार थिए र त उहाँ बैज्ञानिक, क्रान्तिकारी एवं प्रगतिशील मानिनु भयो।

संघम शरणम गच्छामी भन्दै सामाजिक एकताको अपिल समेत उहाँबाट भएको छ। यो संघको परिकल्पना सरसर्ती हेदा कार्ल माक्र्सको कम्युन र सर्बहारा बर्गको समाजवादी अपिलसँग मिल्छ।

अलि गहिरीएर तर्क गर्दा बुद्धवाद सापेक्षतावादको जननी पनि भन्न सकिन्छ किनभने प्रतीत्य-समुत्पाद थ्यौरीले ब्रम्हाण्डमा एक बस्तु मात्रै अस्तित्वमा रहन असंभव भनेको छ।

एक पदार्थ वा एक घटनालाई दुई चर अर्थात् समय र दिशा (स्पेस टाइम) ढाँचामा हेर्नु पर्छ, यो सापेक्षतावादसँगै पदार्थ बीच तुलना पनि गर्नु पर्छ किनभने परिबर्तन भएको कार्यको नापजाँच र लेखाजोखा गर्न कम्तिमा दुई वा सो भन्दा बढी पदार्थ र चर (समय र दिशा) हुनै पर्छ भनिएको छ जो आइन्सटाइनको सापेक्षतावादसँग ठ्याक्कै मिल्छ।

फेरि सापेक्षतावाद (उर्जा-पीण्ड अन्तरबिरोध) द्वन्द्वात्मक भौतिकवादसँग मिल्छ। द्वन्द्वात्मक भौतिकवादले कार्य-कारण सम्बन्ध र पदार्थको अन्तरबिरोधसँगै बिकासको पनि ब्याखा गर्छ जो परिर्बतनशीलतालाई बस्तुगत कृयात्मकताको उपज मान्छ।

यस मानेमा गौतम बुद्धका यी सत्य बिचारहरु कार्ल मार्क्स र अल्बर्ट आइन्सटाइनले उधारो लिएर थप बिकास गरे कि भनी मान्न सकिने देखिन्छ। माक्र्सले भारतीय इतिहास, अंग्रेजहरुले भारतमा उपनिबेशिकता लादेको र किसानहरु उपर भएको चरम शोषण बारे अध्ययन गरेको कुरा केही बिद्वानहरुले कहिकतै उल्लेख गरेका छन् तर उहाँले बुद्धका बारे अध्ययन गरिएको भन्ने कतै उल्लेखित भएको देखिन्न।

खासमा क्रिष्टियानिटीका बारे रुढीवाद, पश्चगामिता, र धर्मान्धता फैलाएका कारण आम अचेतन मानिसहरु उपर यो धर्म अफिम सरह देखिएको भन्ने मार्क्सले यदि गौतम बुद्धलाई पढन पाएको भए यसमा रहेको मानवतावाद र समाज रुपान्तरणको प्रगतिशील पक्षलाई हेर्न पाउनु हुन्थ्यो होला। खासमा गौतम बुद्ध धर्मप्रचारक भन्दा पनि एक दार्शनिक महामानव हुनुहन्थ्यो भन्ने भेऊ उहाँलाइ हुन्थ्यो पनि।

मार्क्सको दर्शन

कार्ल मार्क्सले आर्थिक उत्पादन सम्बन्धका आधारमा समाजको बिकास हुने र चेतना पनि सोही आधारमा निर्माण हुने बताउनु भएको छ। मानिसहरुले श्रम प्रयोग गरी बस्तु उत्पादन प्रकृयामा भाग लिन्छन् भने आफुबाट उत्पादन भएको बस्तुको निकै थोरै प्रतिफल उनीहरुले पाउँछन्।

उनीहरुको श्रमले सृजना गर्ने अतिरिक्त उत्पादन (अतिरिक्तमुल्य) मालिक बर्ग-शासक बर्गले कब्जा गर्छ। फलस्वरुप कामदार बर्ग हमेसा अभाव, दुःख र पीडामा बाँच्न बिबश रहन्छ। यस्तो दुःख शोषणमुलक उत्पादन प्रणालीले सृजित गर्ने भएकाले सो हटाउन कामदार बर्गले उक्त श्रम शोषणमा आधारित आर्थिक प्रणाली (पुजीवाद) को नै अन्त्य गर्नु पर्छ भन्ने बिचार वहाँको देखिन्छ।

मार्क्सको दर्शन-बिचारलाई द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादका औजारले ब्याखा गर्न सकिन्छ। माक्र्सले पनि संसार परिबर्तनशील छ, यो अन्तरबिरोधमा टिकेको छ, यो निम्नबाट उच्चतिर बिकसित हुँदै जान्छ भनेको पाइन्छ।

आजसम्मको इतिहास कामदार बर्गको श्रमले निर्माण गरेको हो र पुँजीवादलाई चाहिने मेसिन, कलकारखाना, उद्योग जस्ता सबै चीजहरु श्रमबाटै निर्मित भएका हुन। नाफा पनि अतिरिक्त श्रमको जमाबट हो तर यस्तो श्रम गर्ने श्रमिक बर्ग घनघोर दुखमा रुमल्लिएको छ भन्ने संश्लेषण उहाँको रहेको छ।

उहाँको भनाइमा दुःख उत्पन्न हुने कारण आर्थिक राजनीतिक कारण (श्रमको शोषण) हो भन्ने छ। माक्र्सले यस्तो दुख हटाउने उपाय रहेको र त्यो हटाउन शोषणरहित राज्यप्रणाली ल्याउनु पर्ने भन्नु भएको छ। संसार बदल्न सकिन्छ यो कार्य आम मानिसहरुले एकजुट भइ संर्घष र क्रान्ति गरेमा संभव रहेको बताउनु भएको छ।

यहाँनिर माक्र्सले शासनसत्ताको उपरी ढाँचामा रहेका थोरै बर्गले तल्लो भागमा रहेको धेरैको कामको शोषण गर्ने गर्दा यस्तो दुःखदायी समाज बन्ने गरेको बताउनु भएको छ। यहाँ दुखको सृजना मानिसहरु बीचको जैबिक सम्बन्धसँगै पुँजी र मेसिनमा पराश्रित कृत्रिम प्रणालीगत सम्बन्ध (उत्पादन साधनको सम्बन्ध र कारण) बनाइएकाले भएको भनिएको छ।

तर बुद्धले भने यसमा जैबिक कारण देखाउनु भएको छ। समयकाल, परिस्थिति र समकालीन चेतना निर्माण अनुसार वहाँहरुको बिश्लेष्णमा कहीँ कतै फरक हो तर सार भने यी विश्लेषणका आपसमा मिल्दाजुल्दा देखिन्छन्।

दुबैजना आइन्सटाइनसँग पनि मिल्दोजुल्दो

आधुनिक बिज्ञानका जनक भनेर अल्बर्ट आइन्सटाइन (सन् १८७९–१९५५) लाई भनिएको छ। जब कोपनिर्कसले सन् १५४३ मा सौर्यमण्डलको गतिशीलता र यस पृथ्वीलगायत ग्रहीय परिक्रमा बारे नयाँ प्रारुप ल्याए त्यसलाई हेलियोसेन्ट्रीक ढाँचा भनियो, जसले सोभन्दा अघिको सबै ग्रह र सूर्यसमेतले पृथ्वीको वरपरी परिक्रमा गर्छन् भन्ने जिओसेन्ट्रिक संकथन बिस्थापन गर्न सफल भयो र अब पृथ्वी तथा अन्य सबै ग्रह-पीण्डले सूर्यको परिक्रमा गर्छन् भन्ने सत्य स्थापित गर्‍याे।

यसले बिज्ञान, दर्शन, सामाजिक-साँस्कृतिक ज्ञानसहित समग्र चिन्तन ब्यबहारको प्याराडाइम नै सिफ्ट गर्‍याे। हो यसरी नै शास्त्रीय बिज्ञानमा रहेको न्युटनीय प्रारुप (पीण्डबाट सृजित हुने ग्रेभिटी फोर्स) लाई आइन्सटाइनको स्पेस-टाइम फेब्रिक कर्भेचर, भेलोसिटी अफ लाइट एण्ड फोटोभोल्टीक थ्यौरी र मास-इनर्जी सापेक्षतावादी सिद्धान्तले क्वेन्टम बिज्ञानतर्फ संक्रमण गरायो यस्लाई आधुनिक बिज्ञानको प्याराडाइम सिफ्ट मानिन्छ।

किनभने अब पदार्थहरुको गति, उर्जा, स्थिति, बदलाब जस्ता चरित्रको ब्याखा सबपार्टिकल साइन्सले गर्न सक्ने भयो। अर्थात परमाणबिक तहका इलेक्टोन, प्रोटोन, क्वार्कहरुको निर्धारणसहित यीनको अध्ययन बढ्न गयो।

संसारको चालक तत्वहरुमा हिजो ग्रेभिटी फोर्स एकल जस्तो थियो तर अब सोसंगै इलेक्ट्रोमेग्नेटिज्म र न्युकिलयर फोर्स पनि थपिए जसलाई अल्बर्ट आइन्साइनको देन मानिन्छ। यहाँनिर समाज परिर्बतनका चालक तत्व निर्धारणका क्रममा अर्थात श्रम गतिशीलताका सन्दर्भमा  बुद्ध र मार्क्सको बिचार आइन्सटाइनका भौतिकी चर जस्तै देखिन्छन।

र यी तीनै जनाले पदार्थभित्रको अन्तरबिरोध (कन्ट्राडिक्सन)को ब्याखा गरेजसरी नै समाज बिकास र अन्तरबिरोधको ब्याखा ठीक उस्तै तरिकाले गरेको देख्न पाइन्छ। निरन्तर संसार परिबर्तनशील भइ रहने कुरा सापेक्षतावाद, द्वन्द्ववाद र प्रत्युत्य-समुत्पाद (यसभित्रको क्षणिकतावाद) प्रारुपमा एकैतबरले बिबेचना भएको देखिन्छ। यो गज्जबको समानता यी तीनै दार्शनिकहरुमा प्रकटीत भएको देख्न सकिन्छ।

 फिलोसोफिकल इन्टेगंलमेण्टको परिकल्पना

यतिबेला क्वान्टम भौतिकीमा निकै परिचर्चा भएको छ – क्वान्टम इन्टेगंलमेण्टको विषय। यसलाई र्पािर्टकल परमाणुहरुको संलिपना-जुडवापन-जुम्ल्हापना भन्ने नाम पनि दिएको छ। कसैले त परमाणु उल्झन र सरल रुपमा बुझ्न गाह्रो हुने भौतिकी विषय पनि भन्छन्।

यसबाट खासमा पदार्थहरुभित्र रहने इलेक्ट्रोन (परमाणुहरुमा) पनि अथाह शक्ति संचीत र प्रकट हुने कुरा सबैलाई थाहा भयो नै। न्युकिल्यर फिजन र फ्युजन पनि जानकारी भयो पनि।

अल्र्बट आइन्सटाइनले दुई वा सोभन्दा बढी पार्टिकलहरु यो ब्रहाण्डमा जति टाढा भएपनि एक आपसमा संलिपना गरी रहन सक्छन्, यी जुम्ल्हा हुन् र यिनीहरु मध्ये एकको अबस्थाका आधारमा अर्कोको अबस्था समेत जानकारी पाइन्छ भन्दै पार्टिकलहरुको बीच स्पुकी रिलेसन रहने कुरा पत्ता लगाउनु भएको थियो जसलाई नै क्वेन्टम इन्टेगंलमेण्ट अबस्था भनिएको हो।

यस अबस्थामा यी पार्टिकलहरु जति टाढा (नन लोकालिटी) भएपनि यस्तो जुडवा अवस्था र टेलिपोर्टेसन (अवतार प्रकटीकरण) परिदृश्य बनाउन सक्छन् भन्ने दाबी गरेको देखिन्छ। यसले के देखाएको छ भन्दा यस ब्रहण्ड-संसारका सबै पदार्थ र पार्टिकलहरु एक आपसमा जोडिएका छन् र यीनले एक आपसमा इन्फरमेसन साझा गर्न सक्छन् भन्ने छ।

यसरी हेर्दा समान पदार्थहरु एक आपसमा जोडिदा सोही प्रणालीले समान बिचार (इन्फरमेसन, ऊर्जा, तत्वज्ञान र बिचार-इतिहास) पनि जोडन सक्छ भन्ने प्रारम्भिक निर्कौल गर्न पनि सकियो नै। हो अब हामीले यो स्टेटको पनि परीक्षण गर्न सक्नु पर्छ।

जेहोस् बुद्धवाद र मार्क्सवाद हाम्रो इतिहासको रेखीय ढाँचागत दुरीमा अति नै टाढा देखिएपनि यसमा बैचारिकी एकत्व, मानवतावादी पक्ष र प्रगतिशील ज्ञान दर्शन रहदै यीनमा कैयौ बैचारिक समानता समेत देखिएकाले एकै मानिस वा समाजले यी दुबै बिचार अपनाउन सक्छन् पनि भन्न सकिन्छ नै।

अनि यस्ताखाले मानवतामैत्री दर्शनहरुको अनुसरण गर्दै गर्दा संसारका अन्य धर्महरुलाई समेत मानवतामुखी बनाउँदै लैजान उपयुक्त होला भन्ने सुझाव पनि दिन सकियो नै।

तसर्थ, यस बुद्ध जयन्तीका अबसरमा पुनश्चः यस्ताखाले मानवतामुखी दर्शन बिचारहरु उपर समसामयिक मन्थन-छलफल गर्दै मानवता बिरोधी सबैखाले युद्धहरु एवं पश्चगामी युद्धपिपासु बिचारहरु अन्त्यको समेत प्राथर्ना गरौं। अनि संसारभर गौतम बुद्धका सन्देशहरु प्रबाहीत गरी शान्ति र प्रगतिको पैरवी पनि गर्दै गरौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *