ओली सरकारप्रति कांग्रेसमा असन्तुष्टि बढ्दो

डिसी नेपाल
५ जेठ २०८२ ७:०९

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढ्दो छ । सदनदेखि सार्वजनिक कार्यक्रमका साथै पार्टीकै बैठकमा सरकारविरुद्ध कांग्रेसको असन्तुष्टि पोखिँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेताहरूले असन्तुष्टि पोखे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले साथ छोड्ने संकेत गरेका छैनन्।

देउवा अहिले तत्कालै सत्तासहकार्य तोड्ने पक्षमा देखिएका छैनन् । यद्यपि, कांग्रेसभित्रैको असन्तुष्टि देख्दा लामो समयसम्म सत्ता सहकार्य हुन्छजस्तो पनि देखिँदैन। आइतबार बसेको प्रतिनिधिसभा बैठकमै ‘सरकार’ सरकार जसरी चल्न नसकेको टिप्पणी कांग्रेस सांसदले नै गरेका छन् । कांग्रेस सांसद सञ्जयकुमार गौतमले कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको सरकारको अनुभूति आफूले नगरेको बताए ।

‘अहिले जुन सरकारमा छौं, कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ, ‘सरकार’ सरकार जसरी चलेको अनुभूति गर्न सकेको छैन,’ कांग्रेस सांसद गौतमले भने । असन्तुष्टि व्यक्त गर्दै उनले अन्य क्षेत्रमा समेत यस्तै हालत रहेको र जनता निराश भएको बताए ।

उनले संसद्मा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन नसकेको भन्दै न्यायपालिकामा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए । सरकार, संसद् र न्यायालयप्रति जनताको भरोसा पैदा गर्न नसकिएको उनले बताए ।

‘संसद् जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘जनता निराश छन्, जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं, एक किसिमको सोच र सम्भावना क्रियट गर्न सकेका छैनौं ।’

उनको असन्तुष्टि यतिमै सीमित भएन । उनले वर्तमान सरकारबाट जनता निराश भएको र आशा भरोसा पैदा गर्न नसकिएकाले राष्ट्रिय सहमतिको सरकार गठन गर्नमा ढिलाइ गर्न नहुने समेत बताए ।

कांग्रेसका अर्का नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाएका छन् । एक सार्वजनिक कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम सरकारले गर्न नसकेको बताए । नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरूप हुने उल्लेख गरे ।

कांग्रेस नेता गौतम र साउद मात्रै नभई महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालालगायतका नेताहरू सरकारसँग सन्तुष्ट छैनन् । ओली नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध उनीहरूले खुलेरै अभिव्यक्ति दिँदै आएका छन् ।

तर, कांग्रेस सभापति देउवा वर्तमान सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताउँछन् । शनिबार देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताए । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै निर्वाचन लड्नुपर्ने बाध्यता रहेको बताए ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा समेत सांसदहरूले ओली सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए । सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । साथै, उनीहरूले गभर्नरलगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए ।

बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्नेलगायतका सुझाव दिएका थिए । बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरणलगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जनाएका छन् ।

संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने कुरा सत्य नभएको दाबी गरे ।

बैठकमा देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा लिन नहुने बताए । देउवाको भनाइ उद्धृत गर्दै घिमिरेले निलम्बित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको बताए । नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने ’boutमा कुनै एजेन्डा नरहेको स्पष्ट पार्दै उनले कांग्रेसले सरकार परिवर्तनका ’boutमा कुनै सोच नराखेको समेत स्पष्ट गरेका छन् ।

सरकार गठन भएको १० महिना पुगेको छ । तर, प्रधानमन्त्री ओली नेतृत्वको सरकार बन्नु अघि भएको दुई दलबीचको सहमतिसमेत कार्यान्वयन हुन नसक्दा नेताहरूले गुनासो पोख्दै आएका छन् ।

संसद्का सबैभन्दा ठूला दुई दल कांग्रेस र एमालेबीच सहमति भई सरकार गठन भएको १० महिना पुगेको छ । गत वर्षको १७ असारमा सातबुँदे सहमति भयो । संसद्को बाँकी कार्यकाल आलोपालो प्रधानमन्त्री हुने सहमतिअनुसार सुरुमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । सहमतिअनुसार सरकारको नेतृत्वका लागि कांग्रेस सभापति देउवाले आफ्नो पालो पर्खिंदै छन् ।

कांग्रेस र एमालेबीच भएको सहमतिमा संविधान संशोधन, राजनीतिक स्थिरता, सुशासन, मुलुकको आर्थिक गतिविधि बलियो बनाउने, सरकारको सेवा प्रवाहलाई बलियो र प्रभावकारी बनाउने सहितका मुद्दा प्रमुख रूपमा उठाइएको थियो । तर, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित अन्य प्रतिपक्षीले मात्रै नभई सत्तारूढ दल कांग्रेसकै नेताहरूले दुई दलका बीचमा भएको सहमति कार्यान्वयन नभएको बताउँदै असन्तुष्टि र आक्रोश पोख्दै आएका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *