१५ जेठमा भिडन्तको संकेत

काठमाडौं। जेठ १५ गते काठमाडौंको स्थिति तनावग्रस्त हुने संकेत देखिएको छ। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएपछि जेठ १५ गते तनावको स्थिति आउने संकेत देखिएको हो।
राजसंस्था पक्षधरले अनिश्चितकालीन आन्दोलनको सुरु गर्ने दिन (जेठ १५ गते) काठमाडौं कब्जा गर्न ओलीले कार्यकर्तालाई निर्देशन दिएपछि स्थिति तनावग्रस्त हुने संकेत दिएको हो।
एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलन गर्ने घोषणा गरेको दिन जेठ १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको हातमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।
जेठ १५ गते काठमाडौं नियन्त्रणमा लिन आजैदेखि तयारी थाल्न उहाँले निर्देशन दिए। राजावादीहरूले काठमाडौंमा गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने उनले ठोकुवा गरे।
‘निर्देशन पछि आउला, १५ गतेका लागि तयारी थाल्नुस्, १५ गते के-के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पनि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्,’ उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यसअनुसार तयारीमा लागौं।’
उनले राजावादीलाई खाओवादीको संज्ञा पनि दिए। हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका? भन्दै ओलीले प्रश्नसमेत गरे। राजावादीको नाममा आतंक मच्चाउनेलाई कुनै स्थान नदिइने उनले स्पष्ट पारे।
‘तथाकथित राजा-साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्,’ उनले भने, ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए ? किन मरेनन् त ? सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता कता जान्छन्।’
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान चलाइरहेको छ। काठमाडौंको जमल क्षेत्रबाट समितिले शनिबार धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो।
कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरू छन्। अभियानका क्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दूराज्य सहितको बहुदलीय प्रजातन्त्र कायम गर्नेसहितको जनआन्दोलनको लक्ष्यका बारेमा जनतासँग साक्षात्कार गरिने संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।
जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनमा सहभागिताका लागि आहृवान सहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यसअघि १५ जेठबाट सुरु हुने आन्दोलनको छेकोमा शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी पुगेर पूजाआजा गरेका थिए। पूजाआजामा उनी परिवारका सदस्यसहित गएका थिए। उहाँको साथमा पूर्वराजा ज्ञानेन्द्रकी पत्नी कोमल, छोरी प्रेरणा र नाति हृदयेन्द्र पनि थिए।
पारस, हिमानी र दुई नातिनीहरू भने थिएनन्। राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिले उपत्यकामा आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। समितिले १५ जेठदेखि उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ।
Facebook Comment