गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै
गण्डकी। गण्डकी प्रदेश सरकारले प्रदेशका नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत गरको हो ।
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्रदेश सरकारले यसअघि दुई आयुर्वेद अस्पतालसहित चार अस्पताल स्तरोन्नति गरेको छ । स्तरोन्नति गरिएका १३ वटै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पनि स्वीकृत भइसकेको छ ।
तेह्रवटै अस्पतालमा करारमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको तलबभत्ता अस्पतालको आन्तरिक स्रोतबाटै भइरहकामा दरबन्दी थप गर्दा मन्त्रालयलाई अतिरिक्त आर्थिक भार पर्ने छैन ।
बागलुङस्थित धवलागिरि प्रादेशिक अस्पतालमा स्वीकृत शय्याको सङ्ख्या एक सय पुगेको छ । यसअघि उक्त अस्पतालमा स्वीृकत शय्याको सङ्ख्या ५० थियो । कास्कीस्थित मातृशिशु मितेरी र जनरल तथा सरुवा रोग अस्पतालको शय्या सङ्ख्या २५ बाट ५० पुर्याइएको छ ।
नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय, प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ बाट २५, पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश अस्पताल बुर्तिबाङमा ५० र प्रदेश अस्पताल आँपपिल गोरखामा १५ बाट २५ शय्या पुर्याइएको छ । बागलुङस्थित धवलागिरि आयुर्वेद अस्पताल, कास्कीस्थित गण्डकी आयुर्वेद अस्पतालमा २५ शय्याको व्यवस्था हुनेछ ।
प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० शय्यामा सञ्चालित छन् । प्रदेश सरकारले गोरखाको आँपपिपल र बागलुङको बुर्तिबाङ अस्पताल सञ्चालन गरिरहेको छ ।
यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिएको हो।
हाल ती अस्पतालको वार्षिक आम्दानी रु ६६ करोड रहेको मन्त्री पाठकले बताए। नयाँ व्यवस्था अनुसार हरेक अस्पतालले आफ्नो आम्दानीको १५ प्रतिशत रकम अस्पताल सुदृढीकरण कोषमा छुट्याउनुपर्ने छ । कोषको रकम प्रदेश अस्पताल र स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गर्न नयाँ व्यवस्था भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment