लघुकथा : यथास्थिति
“तिलोत्तमा, किन निराश?” सुलोचनाले प्रश्न गरी।
हेर्न बुबा बिरामी हुनुहुन्छ। उपचार गराउने सामर्थ्य छैन। म के गरौं?” तिलोत्तमाले निराशा व्यक्त गरी। तिलोत्तमा र सुलोचना मामा फुपूका छोरीहरु हुन्। दिदी बहिनीको नाता परे पनि उनीहरु साथी जस्तै छन्। एउटै कलेज पढ्छन्। विचार पनि मिल्छ। दुईटै बामपन्थी विचारसँग नजिक छन्। जनता क्याम्पसका स्व.वि.यु. सदस्य हुन् तिनीहरु।
तिलोत्तमाका बुबा सुगर र प्रेसरको समस्याले ग्रसित हुनुहुन्छ। नियमित औषधि सेवन नगरे स्वास्थ्यमा समस्या आइ हाल्छ। औषधि महँगो छ। औषधि व्यवस्थापन गर्न तिलोत्तमाको परिवालाई सकस परिरहेको छ। तिलोत्तमाकी आमा पनि दमको रोगी हुनुहुन्छ। स्वास्थ्य बीमा गरिए पनि त्यो नाम मात्रैको छ। भनेको समयमा औषधि नै पाइँदैन। किनेर खानु पर्ने हुन्छ।
तिलोत्तमाको भाइ पनि कलेज नै पढ्दैछ। तिलोत्तमा घरकी जेठो सन्तान हो। तिलोत्तमाले नै घर व्यवहार हेर्नु पर्छ। बुवाको पेन्सन र कोठा भाडा नियमित आम्दानीको श्रोत भए पनि त्यो घर व्यवहार चलाउनका लागि पर्याप्त छैन। निम्न मध्यम बर्गाीय परिवार त आर्थिक संकटमा गुज्रिरहेकै हुन्छ भने निम्न वर्गीय परिवारको हालत झन् के होला? बर्गीय खाडल कस्ले पुर्ने? सरकारले नीति ल्याउनु पर्दैन र?
मेरो देश के भै सक्यो? भ्रष्टाचार, कमिशन र तस्करीको चक्रव्यूहमा फसेर थिल थिलो हुँदा पनि सरकारको चेत खुल्न सकेको छैन। सरकार सुशासन देउ। तिमी अब क्रान्तिकारी हुनैपर्छ। आफन्त र आसेपासेका कुरा सुनेर बस्नु मुर्खता हुने छ। विज्ञ, योग्य र सक्षम व्यक्तिहरु समावेश गरी सरकार बनाउ। निराशाका बादल मडारिरहेका छन्। आशाको दियो जगाउ। यथास्थितिमै भौंतारियौं भने धैर्यता टुट्नेछ। आशा र विश्वास मरी तिलोत्तमाका परिवार विद्रोही बन्न के बेर छ र?
सुन्दहरैंचा-६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment