चुस्त विपद् व्यवस्थापन गर्न सरकारलाई परिवार दलको सुझाव

डिसी नेपाल
२४ जेठ २०८२ १८:५०
40
Shares

काठमाडौं। नेपाल परिवार दलको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेकाे छ पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यको उपस्थिति रहेको बैठकले हालै अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको राजधानी सिउलमा सम्पन्न इन्टर-पार्लियामेन्टरी स्पिकर्स कन्फेरेन्सबाट अध्यक्ष ढकाललाई महासचिव जस्तो अन्तर्राष्ट्रिय पदमा मनोनयन गरिएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ। बैठकले उक्त जिम्मेवारीको सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष ढकालको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उच्च हुने विश्वास समेत व्यक्त गरेको छ।

त्यसैगरी बैठकमा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटबारे पनि छलफल गरिएको थियो। बैठकले बजेटलाई जिम्मेवार र यथार्थपरक भएको ठहर गर्दै यसको स्वागत गर्ने निर्णय गरेको छ। बजेटले आर्थिक अनुशासन कायम गर्दै मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रयास देखिएको उल्लेख गर्दै बैठकले व्यवसायीलाई प्रोत्साहित गर्ने र प्रभावकारी कार्यान्वयन भएमा देशमा सुशासन र विकासको गति बढ्ने आशा व्यक्त गरेको छ।

मुलुकमा वर्षायाम सुरु भएसँगै आउने सम्भावित प्राकृतिक विपत्तिहरूकाे जोखिमलाई ध्यानमा राख्दै बैठकले पूर्वतयारीको खाँचो औँल्याएको छ। साथै कृषकलाई मल, बिउ सहज उपलब्ध गराउने, सार्वजनिक यातायातमा यात्रुहरूको सुविधा सुनिश्चित गर्ने, सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्ने र समग्र सुशासन प्रवर्धन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

बैठकले मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा) को अवसरमा नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेको छ।

पार्टीका महासचिव सन्तोष कुमार पौडेलद्वारा जारी जानकारीअनुसार बैठकका सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *