शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ। कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो।
शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गरिन्। नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध गराउनका लागि सेवा प्रभावकारी हुने अपेक्षा लिइएको छ।
सिएमएसले सामाजिक उत्तरदायित्व बहनअन्तरगत केन्द्रमा टेलिमेडिसिन सेवालाई अघि बढाएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यो सेवाले विपन्न नागरिक र समयको चाप हुने बिरामीलाई फलदायी हुने बताइन्। यस अघि हप्ताको ६ दिने विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताइन्।
जनताको स्वास्थ्य भन्दा ठूलो कुरा केही नहुने भन्दै उनले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकम गर्दै आएको बताइन्।
भरतपुर १४ मा शिक्षक र आयुर्वेद अस्पताल गरी दुई ठूला संघीय अस्पताल बन्न लागेको उल्लेख गरिन्। यहाँ ३०० बेड क्षमताको संघीय शिक्षक अस्पताल र १०० शैयाको आयुर्वेद अस्पताल निर्माणको चरणमा रहेको छ।
शिवनगर स्वास्थ्य केन्द्रलाई नगर स्तरीय अस्पतालको रूपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने जानकारी दिइन्।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले भर्चुअलबाट विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो।
सिएमएसका व्यवस्थापक डा. सुदिप केसीले स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज हुने उल्लेख गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, सिएमएसका निर्देशक नटराज प्रसाद, भरतपुर महानगर सामाजिक शाखा प्रमुख शान्त कुमारी पौडेल, सिएमएसका डा. सुदिप केसी लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र साखीको अध्यक्षतामा भएको हो।
केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ। पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ। २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन्। यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ। केन्द्रले दैनिक १६५ जना बिरामी सेवा दिने गरेको छ।
Facebook Comment