प्रकाश पन्थीको ‘महबी मिका’ सार्वजनिक

अर्घाखाँचीमा जन्मेर हाल अष्ट्रेलिया बस्दै आएका साहित्यकार प्रकाश पन्थीको पहिलो उपन्यास ‘महबी मिका’ आइतवार काठमान्डाैँमा आयोजित एक कार्यक्रममा विमोचन सगैँ नेपाली बजारमा सार्वजनिक भएको छ । पुस्तक इन्दिगो इङ्कबाट प्रकाशित भएको हाे ।
कार्यक्रममा विभिन्न साहित्कारहरुले समीक्षात्मक विमर्श गरेका छन् । साहित्यकार तथा समीक्षक राजकुमार बानियाँ, लेखक गुरुङ सुशान्त, पत्रकार दीपक सापकोटा र लेक्चरर डा. दधिराम पन्थीले उपन्यासका विविध पक्षमाथि विश्लेषण गरेका थिए। उनिहरुका अनुसार जसरी तत्कालिन समयमा पारिजातको शिरिषको फुलले पाठकलाइ नयाँ स्वाद दिलाएको थियो त्यसरी नै महबी मिकाले पनि नयाँ स्वाद पस्केको छ ।
कार्यक्रमले नेपाली साहित्यमा नयाँ स्वाद र विमर्शको बहसलाई जीवन्त बनाएको छ। समीक्षक बानियाँले ‘महबी मिका’ लाई प्रयोगधर्मी उपन्यासका रूपमा चिनाउँदै भाषा र लेखनशैलीले यसलाई पठनयोग्य बनाएको बताए। उनले भने, “परम्परागत कथा वाचनलाई अस्वीकृत गर्दै लेखकले नयाँ शैलीमा प्रस्तुति दिएका छन्, जुन साहसिक र स्वागतयोग्य छ।” गुरुङ सुशान्तले उपन्यासको भाषा शक्तिशाली रहेको उल्लेख गर्दै काव्यिक लय र अध्यात्मिक स्पर्शले पाठकलाई गहिराइमा डुबाउने बताए। “कतिखेर कविता लाग्छ, कतिखेर अध्यात्म – यो लेखकको विलक्षण शैली हो,” उनले भने।
पत्रकार दीपक सापकोटाले उपन्यासलाई परम्परागत औपन्यासिक लेखनभन्दा अलग स्वाद दिएको प्रतिक्रिया दिए। “गुलमोहर जस्तै टाढैबाट आकर्षक देखिन्छ – यो उपन्यासको डिजाइन विशिष्ट छ,” उनले भने। डा. दधिराम पन्थीले उपन्यासलाई डायस्पोरा साहित्यभित्र मात्र सीमित नगरी समग्र नेपाली साहित्यमा खोजिने र बहस गरिने कृति भएको बताए। उनले भने, “सामाजिक विकृति र विसंगतिप्रति लेखकको व्यंग्यात्मक दृष्टि प्रशंसनीय छ।”
अहिले अस्ट्रेलियामा बस्दै आएका लेखक पन्थीले दुई सातामा उपन्यास लेखिएको अनुभव शेयर गर्दै, आफूले अनुभूति र कल्पनाको फ्युजनमार्फत कथा बुनिएको बताए। कार्यक्रमले नेपाली समकालीन साहित्यमा वैचारिक, भाषिक र सौन्दर्यात्मक नवीनताको आवश्यकता र सम्भावनालाई उजागर गरेको सहभागीहरूको प्रतिक्रिया थियो।
Facebook Comment