लघुकथा : क्षोभ
“बुढा झिरिप्पै भएछन्।” रत्नले जुत्तामा खुटुटा घुसार्दै भन्यो।
“बुढाले यही हिउँदमै अलिनो खुवाउने पो देखें है मैले त।” पुण्य तुना कस्दाकस्दै फुस्फुसायो।
“रोगले भन्दा पनि खान्की नपुगेर गलेका हुन् बुढा।” कुर्सीमा बस्ने पालो पर्खिरहेको शान्तले तर्क गर्याे।
रत्न, पुण्य र शान्त रामशरणलाई भेट्न आएका भाइभतिजा। रामशरण विरामी छन्। ओछ्यानै परेका छन् तर कान सुन्छन्। यी आफ्ना भाइभतिजाले यतिखेर बाहिर बोलेका कुरा पनि रामशरणले स्पष्ट सुने।
रामशरणलाई लाग्यो- आफ्ना भाइभतिजाले जुन स्तरबाट आफ्नो अवस्थामाथि भरखर टिप्पणी गरे, जसरी सोचे, यसरी त शत्रुले पनि सोच्दैन होला।
रामशरणले सूर्यालाई आफू नजिकै बोलाएर भने- “मेरो लास यहीँ मझेरीमै गाडी दिनू। मेरा भाइभतिजालाई दुःख नदिनू। बुझ्यौ?”
गाउँभरि भाइभतिजा हुँदाहुँदै रामशरणले के भनेका हुन्? सूर्याले बुझिनन्, बुझ्दैबुझिनन्।
No ads found for this position


Facebook Comment