ग्रामीण विकासको निम्ति शिक्षा

सेती परियोजना : एक विहंगावलोकन

निर्मलकुमार भण्डार
२० असार २०८२ ७:२३

(प्रशस्ति)

ग्रामीण विकासको सोच-राखेर परियोजना।
सेती अञ्चलका पाँचै -जिल्लामा भो प्रवर्धन।।
झण्डै दशक खर्चेर – कार्य सम्पन्न ती गरी।
अल्प्यो परियोजना थुप्रै- शुभकार्य यहाँ गरी।।
।।१।।

राजनैतिक माहौल- हेरफेर भए पछि।
व्यवस्था देशमा अर्कै- दम्भले ल्याइए पछि।।
सिध्यो परियोजना कार्य- कसैले नबुझे पछि।
यथास्थान रह्यो आज- शिक्षाको पथ पद्धति।।
।।२।।

देश व्यापी हुनै पथ्र्यो- यो शिक्षा परियोजना।
ग्रामीण विकासका साथै- शिक्षाका नव योजना।
सहयोग थियो बाह्य- मर्म बुझ्नेहरु नभै।
नबुझ्दा कर्मको मर्म-अन्त्यमा गति हुन्छ यै।।
।।३।।

सुदूर नित्य सम्झन्छ -प्रोजेक्टका सबै कुरा।
सुदूरले गरेकै हो-योजना ती सबै कुरा।।
अँझै अभाव खट्किन्छ- शिक्षाको परियोजना।
किन बुझ्दैन मान्छेले- उत्थान देशको हुन।।
।।४।।

विषय प्रवेश,

तत्कालीन श्री ५ को सरकारका माननीय शिक्षामन्त्री श्री नारायणदत्त भट्टको पालामा उहाँकै चिन्तनात्मक पहल र अगुवाइमा वि.सं २०३७-०३८ सालमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चललाई संकेन्द्रित (Focus) गरेर विदेशी सहयोगी दातृसंस्था- युनेस्को, यु.एन.डी.पी., र युनिसेफ सहयोगमा शिक्षा मन्त्रालय अन्तर्गत क्षेत्रीय स्तरमा रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको संयोजनमा ग्रामीण विकासको निम्ति शिक्षा सेती परियोजना लागु भएको थियो, जसको प्रधान कार्यालय क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीमा रहेको थियो।

जसले नेपालको सुदूर-दूरदराजमा रहेका जिल्लाका ग्रामीण जन बस्तीहरुको शैक्षिक, भौतिक, वातावरणीय एवम् चेतनामूलक कार्य जस्ता सर्वविध पक्षहरुको सर्वाङ्गण समुत्थानका लागि समर्पित उक्त नामांकित विदेशी दातृ संस्थाहरु र तिनका सञ्चालक व्यक्तित्वहरुले सुदूरपश्चिमको विकास र अग्रगमनका लागि जुन त्याग समर्पण लगनशील सक्रियता तथा लगानी गरे त्यो यस सुदूरपश्चिमेली जन जीवन र यहाँ स्थित कतिपय शैक्षिक संस्थाहरुका निम्ति सदा सह्रानीय, अनुकरणीय र अविस्मरणीय कार्य समेत भएको तथ्य कसैबाट पनि छिपेको छैन।

विस्मृत भएको छैन। जसका लागि सुदूरपश्चिमेली धरा नै सेती परियोजना प्रति कृतज्ञ एवम् आभारी पनि छ। सुदूरपश्चिममा सेती परियोजना लागु हुनु भन्दा पहिले यहाँको शैक्षिक क्रियाकलाप शिक्षक केन्द्रित मात्र थियो। विद्यार्थी केन्द्रित थिएन। शिक्षकहरु पनि तालिम प्राप्त थिएनन्।

त्यसैले विगतका पाठशालाहरुको शैलीमा नै कक्षामा अध्यापन कार्य गर्दथे। आफूले पाठ्य पुस्तकहरुको सर्सर्ती पाठमात्र गर्ने र बीच-बीचमा विद्यार्थीहरुलाई “बुझ्यौं ?” मात्रै भन्ने गर्दथे भने विद्यार्थीहरुले पनि नबुझे पनि बुझे झैं गरेर शब्द स्वीकारोक्तिका साथ “बुझ्यौं सर” मात्रै भन्ने गर्दथे।

त्यति बेलाको शिक्षा पद्धति प्रयोगात्मक नभएर ‘रटन्ते’ र ‘घोकन्ते’ शैलीमा आधारित थियो। त्यतिबेलाका बुज्रूग व्यक्ति वा विद्यालयमा पढाउनको निम्ति खटिएका शिक्षकहरु पनि “घोकन्ती विद्या-ध्यावन्ती खेती” सायद यस्तै-यस्तै उखानहरु भनेर विद्यार्थीहरुलाई भनिरहन्थे।

त्यसैले त्यतिबेला शिक्षामा सामान्य साक्षरताको पक्ष भन्दा बाहेक अन्य कुनै सुधार र परिवर्तन भएको थिएन। जसले पाठ्य पुस्तकमा पाठ वा कविता कण्ठाग्र गरेर स्कूलमा शिक्षक सामु सुनाउन वा बुझाउन सक्थ्यो। उही नै सफल सक्षम र जेहन्दार विद्यार्थीको रुपमा मानिन्थ्यो।

अनि जसले कण्ठाग्र गरेर पाठ सुनाउन सक्दैनथ्यो, ऊ कमजोर विद्यार्थीको रुपमा मानिन्थ्यो। समग्रमा त्यतिबेला शिक्षण प्रविधिमा प्रयोगात्मक अभ्यास थिएन। शैक्षिक सामग्रीको नाममा कक्षा कोठामा कालो पाटी र चक डस्टर सम्म पनि थिएन।

शिक्षकले कक्षामा विद्यार्थीहरुलाई सामुहिकरुपमा केही कुरा बुझाउनु र सम्झाउनु पर्दा आफू कुर्सीमा बसेको स्थानमा विद्यार्थीहरुलाई वरिपरि बोलाएर कुनै एउटा विद्यार्थीको कापीमा सिकाउनु पर्ने कुराहरु सामुहिकरुपमा सिकाई दिन्थे। त्यसो गर्दा सबै विद्यार्थीले राम्ररी बुझेर सिक्न सक्दैनथे।

कोही-कोही तिखो ध्यान र समझ भएकाहरुले मात्र थोर बहुत कुराहरु सिक्दथे भने कमजोर मन-मस्तिष्क र परिपक्व समझ नभएकाहरु त्यत्तिकै निरास, उदास र हतास मानसिकतामा देखिन्थे। कालान्तरमा परीक्षामा पनि तिनै विद्यार्थीहरु फेल हुन्थे।

त्यसैगरी आफूसितका साथीहरु पास भएर अर्को कक्षामा पढ्दै गरेका र आफूले पुनः उही कक्षा दोहर्‍याउनु पर्दा उनीहरु माथि हिनताबोध भएर उनीहरु पढाइ छोडेर कुनै घरमै बसी खेतीपातीको कामा सघाउँथे, कुनै बस्तु भाउहरुको गोठालो बन्दथे भने, कुनै-कुनै घरबाट भागेर देश परदेशतिर पनि लाग्दथे। यसो हुँदा त्यतिबेलाको विद्यालय शिक्षाको स्तर एकदम अनपेक्षित, नाजुक र न्यून अवस्थामा रहेको थियो।

एवम् प्रकारले स्थानीय स्रोेत, साधन, श्रम र निजि लगानीमा बनेका विद्यालय भवनहरुको भौतिक अवस्था समेत विद्यार्थी अनुकूल थिएन। जेन-तेन बनेका भवन र टहराहरुमा विद्यार्थी अनुसारका कक्षा कोठाहरु पनि थिएनन्।

बस्ने फर्निचरहरु पनि थिएनन्। घरबाट बोरा–थैलाहरु बोकेर तिनैलाई भुइँमै बिछ्याएर बस्नु पर्दथ्यो। एकै कोठा भित्र पनि मिश्रित कक्षा चलाइन्थ्यो। जसले गर्दा एक-अर्को कक्षालाई पढाइमा अवरोध हुन्थ्यो। खानेपानीको व्यवस्था पनि थिएन। जसो-तसो न्यून पारिश्रमिकमा एक जना कार्यालय सहायक जस्तो मानिस नियुक्त हुन्थ्यो।

उसैले खोला वा नदीबाट यौटा ठूलो गाग्रीमा पानी बोकेर ल्याई विद्यार्थीहरुलाई क्रमशः पानी पिलाउँथ्यो। खेल मैदान पनि उपलब्ध थिएन। स्कूल परिसरमा घेरवार नहुँदा छुट्टीका दिनहरुमा गाउँका बस्तु भाउहरु ढोका नभएका कक्षाकोठाहरु भित्र पसेर गोब्य्राई दिन्थे।

अनि अर्को दिन स-साना विद्यार्थीहरुले त्यो भकारो सोहोरेर कक्षाकोठा सफा गरी बस्नु पर्दथ्यो। खेल मैदानको अभावमा टिफिनको समयमा विद्यार्थीहरु कोही कतै कोही कतै समूहमा बसेर खेलिरहेका हुन्थे। त्यति बेला कक्षा अनुसार शिक्षकको दरबन्दी व्यवस्था पनि थिएन।

५ कक्षासम्मको स्कूलमा मुश्किलले दुई जनामात्र शिक्षक हुन्थे। विद्यार्थीहरुबाट मासिकरुपमा मुष्ठिदान स्वरुप एक-एक माना चामल उठाइन्थ्यो र महिना भरी उठेको चामल पसलमा बेचेर पियनको तलव बनाइन्थ्यो भने, शिक्षकले तलव स्वरुप वार्षिक रुपमा तोकिएको रकम मात्र एकमुष्ट आर्थिक सहायताको रुपमा पाउँथ्यो।

समग्रमा भन्नु पर्दा त्यतिबेलाको हाम्रो देशको शैक्षिक क्रियाकलाप र पठन-पाठनको स्तर साह्रै नाजुक र विषादमय अवस्थामा थियो, जसको भुक्तभोगी प्रस्तुत पंक्तिकार पनि छ। त्यसैगरी देशका सबै ठाउँमा पाठ्य पुस्तकहरु सहज प्राप्तिको अवस्था थिएन।

राजधानीको रत्न पुस्तक भण्डारबाट पहुँच वालाले मात्र आफ्ना नानीहरुलाई पाठ्य पुस्तकहरु मगाउँथे भने निम्न आय भएका असक्षम अभिभावकहरुले अरुका कितावबाट यौटा निङ्गलाको कलमले राम्रो टाँकावाल अक्षरमा पाठ सारेर आफ्ना नानीहरुलाई पढाउँथे।

त्यति बेलाको त्यो दुरावस्थालाई सम्झदा साँच्चै कहाली लागेर आउँछ। त्यो अवस्था सम्भवतः १०४ वर्षे राणा शासन समाप्ति पछिको हो, भन्ने लाग्दछ। त्यसबेला देश सायद सबै परिस्थिति र परिवेशका कारण प्रतिवन्धित र कुण्ठित अवस्थामा थियो।

त्यही भएर सरकारले कतिपय अभावका कारण शिक्षामा आवश्यक लगानी गर्न नसक्दा शिक्षामा देश पछाडि परेको हुन सक्छ। जे होस् पछि शिक्षा क्षेत्रले क्रमशः काचुली फेर्दे आएको अनुभूति हुन्छ। यी त भए शैक्षिक जगतका अतीतका यथार्थ अनुभूति र वास्तविक परिणतिहरु।

स्मरणीय कुरा यो छ कि- वि.सं २००७ सालको राजनैतिक परिवर्तन पछि वि.सं २०१०-०११ साल देखि मात्रै सबै ठाउँमा देशमा क्रमशः विद्यालयहरुको स्थापना हुँदै आएको देखिन्छ भने, स्थापित विद्यालयहरुमा क्रमशः आवश्यकता अनुरुपको शैक्षिक पूर्वाधार र अन्य यथोचित व्यवस्था देखिए पनि त्यो पुरानै शैली अनुरुप चलेको पाइन्छ, किनभने त्यतिबेलाको सरकारले सबै व्यवस्था एकै साथ मिलाउन सकेको थिएन।

जो देशको अवस्था अनुसार क्रमशः हुँदै थियो। साँच्चै भन्ने हो भने हाम्रो देशको विगत देखिकै कुण्ठित एवम् राणा शासन कालदेखि कै प्रतिवन्धित शैक्षिक अवस्थालाई सुधार्न र उकास्नका लागि निश्चय नै पनि कुनै बाह्य शक्ति र संस्थाको आवश्यकता अपरिहार्य थियो। जसको क्रमिक आपूर्ति वि.सं २०३७-०३८ साल देखि ऐ.२०४७-०४८ साल सम्म चलेको सेती परियोजनाले गरिरह्यो।

सेती अञ्चलमा नै परियोजना सञ्चालन किन ?

तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री नारायणदत्त भट्टको पालामा शिक्षा प्रक्रियाद्वारा ग्रामीण विकास गर्ने अवधारणाको रूपमा सेती अञ्चलका विशेषतः ४ जिल्ला- बझाङ, बाजुरा, डोटी, अछाम र जाँदा जाँदै वि.सं २०४७-०४८ साल तिर कैलाली जिल्लालाई समेत स्पर्श गर्दै बदलिदो राजनीतिक परिस्थिति र परिवेशका कारण सेती अञ्चलबाट परियोजनाको परिसमाप्ति भएको थियो।

सेती अञ्चलमा यो परियोजना लागु हुनुभन्दा पहिले पूर्वाञ्चलका केही विकट जिल्लाहरु- रसुवा, कास्की र म्याग्दीमा समेत गएर यसको प्रथम सर्वेक्षण भएको भएतापनि विकासका दृष्टिकोणले सबै कुरामा पिछडिएको तथा राज्यले पनि विविध विषयमा सौताने नजरले हेरिरहेको सुदूरपश्चिमका हरेक गतिविधिहरुलाई शिक्षाको माध्यमद्वारा माथि उकास्ने उद्देश्यले यसको प्रारम्भिक Take off  को कार्य सेतीबाटै सुरु गर्ने की भन्ने सर्वेक्षकहरुको आसय रहेको हुँदा त्यसको सञ्चालन कार्य पनि सेतीबाटै गरिएको थियो, जसको क्रियात्मक प्रभाव समय सापेक्ष त थियो नै भने Local Touch को आअधारमा यस क्षेत्रमा विविध भौतिक शैक्षिक एवम् अन्य प्रयोगात्मक र निर्माणात्मक कार्यहरु सु–सम्पन्न्न भएका थिए। जसको अप्लकालिन एवम् दीर्घकालिन प्रभाव यद्यपि अमिटरूपमा रहेको छ।

ज्ञान सीप र अवधारणालाई जीवन्तता दिन प्रोजेक्टले स्थानीय स्तरबाटै गरे गराएका यावत कर्म-कर्तव्यहरु सत् प्रतिसत सह्रानीय छन्। वस्तुगतरुपमा भन्नु पर्दा यस्तो परियोजना क्रमशः देशका सबै दूर-दराजका जिल्ला क्षेत्र र कुना कन्दराहरुमा लागु हुनु पर्दथ्यो, परन्तु कसैको उदासीनता, बेवास्ता र अकर्मण्यताका कारण दसक भरमै यो Phaseout हुन गएकोमा यस क्षेत्रबाटै यौटा बहुमूल्य वस्तु अनायास हराए जस्तै नमीठो अनुभूति भएको छ।

मूलरुपमा सेती परियोजना सुदूरका दूर-दराजामा रहेका जिल्लाहरुमा लागु हुँदा त्यसले गाउँदेखि शैक्षिक संस्थाहरु सम्ममै यौटा चम्किलो बत्ती जस्तै भएर काम गर्‍यो। ग्रामीण विकासको वृहत्तर सोच र समृद्धिका साथै विद्यालयहरुको भौतिक शैक्षिक तथा सर्वविध स्तर वृद्धि गर्न सेती परियोजनाले जुन पहल गर्‍यो, त्यो राष्ट्रकै निम्ति “न भूतो न भविष्यति” को रूपमा रहेको छ।

त्यस्तो किसिमको सोच र कार्य सेती प्रोजेक्ट पछि अरु कुनै संघ-संस्थाहरुले गर्न सकेको छैन। कुनै विकास र समुत्थानका लागि विदेशी दातृ संस्थाहरुबाट प्राप्त भएका आर्थिक सहायता (AID) हरुलाई भागवण्डा गरी खाने प्रवृत्ति भएको नेपालमा आफ्नो विकास बाहेक अरुको अग्र गमन, समुत्थान र विकासको विषयमा कस्ले किन सोच्थे र ! सम्भवै थिएन।

अतः त्यतिखेरको सेती प्रोजेक्ट सुदूरपश्चिम भेगका लागि ग्रामीण एवम् शिक्षण संस्थाहरुको विकासका सन्दर्भमा यौटा प्रतिनिधिमूलक एवम् उत्कृष्ट दातृ संस्था थियो भन्ने तथ्य सबैको हृदयानुभूत छ। त्यस्तो परियोजना नेपाल देशका सबै क्षेत्रहरुमा क्रमशः लागू हुँदै जानु पर्दथ्यो।

परन्तु त्यतिबेलाको परिस्थिति र परिवेश सायद त्यस परियोजनाको पक्षमा रहन सकेन। त्यो नेपाल र नेपालीहरुको निम्ति विषद् विडम्बनाको विषय हो। वस्तु तथ्यात्मकरुपमा भन्नु पर्दा- हाम्रो सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सेती परियोजना लागु भए पछि उक्त प्रोजेक्टले यस क्षेत्रमा गरे–गराएका विककासात्मक एवम् शैक्षिक स्तरोन्नतिका कार्यहरुको क्रमिक बुँदागत विवरण यसप्रकार रहेको छ :

१.भौतिक एवम् समन्वयात्मक योजनाहरु तर्फः–

(क) सम्भावित स्थानहरुको अवलोकन-अनुगनम- सोधपुछ र भेटघाट।

(ख) स्रोतकेन्द्रहरुको निर्धारण र चयन (एक स्रोतकेन्द्रमा कम्तिमा ५ र बढीमा ८-९ जति समूह विद्यालयहरु समावेश हुने व्यवस्था रहेको।

(ग) विद्यालयहरुमा विद्यमान् भौतिक एवम् शैक्षिक समस्याहरुको पहिचान र टिपोट।

(घ) स्रोत केन्द्रमा शिक्षकहरुको विविध विषयको शुक्रवारे बैठक र छलफल।

(ङ) आवश्यकता अनुरुपका योजनाहरुको वर्गीकरण, छनौट तथा योजना मागका लागि प्रोत्साहन र प्राथमिकताका आधारमा योजनाहरुको स्वीकृति र वितरण।

(च) विद्यालय भवन निर्माण।

(छ) विद्यालयको खेल मैदान नभएको ठाउँमा खेल मैदान निर्माण।

(ज) विद्यालय परिसरमा पक्की घेरवार निर्माण।

(झ) खानेपानीको व्यवस्थाका लागि आवश्यक पाइप र तत् सम्वन्धि सामग्री प्रदान।

(ञ) विद्यालयमा शौचालय निर्माण।

(ट) शैक्षिक सामग्री, खेलकुद सामग्री, सामान्य कृषि औजार, फलफूल र तर्कारीका बिउ र बोट विरुवाहरु वितरण।

(ठ) फष्ट ऐड बक्स वितरण।

२.शैक्षिक एवम् प्रयोगात्मक कार्य योजना तर्फः–

(क) शिक्षकहरुलाई तीनहप्ते आवासीय शिक्षण सीप अभिवृद्धि तालिम स्रोतकेन्द्रमा गराएको।

(ख) पुनः उक्त तालिमको सात दिने रिफ्रेसर तालिम उपर्युक्त तीन हप्ते तालिम प्राप्त शिक्षकहरुलाई स्रोतकेन्द्रमा गराएको।

(ग) शैक्षिक सामग्री प्रयोग सहित नमूना कक्षा प्रदर्शन (शिक्षकबाट)।

(घ) स्थानीय स्रोत साधनहरुबाट शैक्षिक सामग्री निर्माण तालिम।

(ङ) शैक्षिक सामग्रीको प्रयोगद्वारा अध्यापन प्रदर्शन एवम् कक्षा अवलोकन र अनुगमन।

(च) स्रोतकेन्द्रहरुमा शिक्षक सहभागीहरुको श्रम, सहयोग र सहभागितामा स्थानीय स्रोत साधन र सीप प्रविधिको प्रयोग गरी नमूना शौचालय, फोहर खाडल करेसाबारी र फूलबारीको निर्माण र प्रयोग गराइएको।

(छ) सेती प्रोजेक्टको उद्देश्य अनुसार विद्यालय एवम् गाउँमा राम्रो काम गर्ने स्रोत केन्द्रहरु, प्रधानाध्यापकहरु, शिक्षकहरुको उचित आन्तिरक मूल्यांकन गरेर उनीहरुलाई थप प्रोत्साहन प्रदान गर्न छोटो समयको विदेश भ्रमण र सम्मान पुरस्कार आदि दिने गरेको।

(ज) सेती परियोजनाको केन्द्रीय कार्यालयबाट परियोजना लागु भएका जिल्लाहरुको वास्तविक भौतिक एवम् शैक्षिक गतिविधिहरु सार्वजनिक गर्नका लागि द्वैमासिक रुपमा शैक्षिक सेती नामक साहित्यिक एवम् समाचार पत्र जन्य पत्रिका नियमित प्रकाशन गर्ने गरेको।

(झ) विद्यालयका छात्र-छात्राहरुका लागि प्रेरणामूलक कथानकयुक्त सहायक पुस्तिकाहरुको लेखन तालिम, पुस्तक लेखन, प्रकाशन र विद्यालयहरुमा उक्त सहायक पुस्तिकाहरु निःशुल्क वितरण गरी पठन-पाठनमा सहयोग गरेको।

३.अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गतः

(क) स्रोत केन्द्रमा ३५ दिने प्रौढकक्षा सञ्चालक शिक्षक तालिमको व्यवस्था गरेको।

(ख) ३५ दिने प्रौैढ शिक्षक तालिम पश्चात् लगत्तै गाउँ-गाउँमा ६ महिने प्रौढ शिक्षा कक्षा सञ्चालन गरेको। जसको समय कार्तिक अन्तिम हप्तादेखि वैशाख पहिलो हप्तासम्म रहेको थियो। सो प्रौढ कक्षा प्रत्येक दिन राती ८ बजे देखि १०-११ बजे सम्म सञ्चालन हुने गरेको थियो।

(ग) २५ जना प्रौढ सहभागीहरु भएको कक्षाको व्यवस्था गरेको।

(घ) रातीको समयमा कक्षा सञ्चालनको लागि उज्यालोको व्यवस्था, निःशुल्क पाठ्य सामग्री तथा शैक्षिक सामग्री, कालोपाटी, चक-डस्टर, स्लेट पेन्सील, फाइल, मट्टितेल र ५ वटा लाल्टीन बालेर गाउँकै ठूलो घरको बैठक कोठा वा स्वनिर्मित प्रौढ कक्षा सञ्चालन केन्द्रमा कक्षा चल्ने गरेको।

(ङ) महिना–महिनामा उक्त कक्षाको प्रोजेक्टका कर्मचारीहरु द्वारा निरीक्षण अनुगमन र मूल्यांकन हुने व्यवस्था रहेको।

(च) उक्त प्रौढ कक्षामा साक्षरता पक्षलाई मात्र जोड्न दिएर अन्य व्यवहारिक ज्ञान सीप, सर–सफाई र पोषण जस्ता कुराहरुमा ध्यान दिन १८ वटा प्रोयोगात्मक कार्यहरु समेत गर्ने गरेको।

(छ) उक्त १८ वटा प्रयोगात्मक कार्यहरुको विवरण यसप्रकार रहेको छः–

१. प्रत्येक घरमा चर्पी निर्माण र प्रयोग।

२. घर-आगनको नित्य सफाईका साथै फोहरमैलाको ठेगान लगाउन प्रत्येक घरमा फोहर खाडलको निर्माण र उचित प्रयोग।

३. मलखाडल, घरमा रहेका बस्तु भाउको मल-मुत्र तथा अन्य झार–पातहरुबाट कम्पोष्ट मल बनाउन आवश्यक प्रविधि अनुसारको मल खाडल निर्माण गरी राम्रो कम्पोष्ट मल बनाउने कार्य भएको।

४. धुवाँ रहित आधुनिक चुलो निर्माण प्रत्येक घरको भान्साकोठा वा भान्सा घरमा दाउरा कम खपत हुने र घर भित्रको धुवाँ भित्ताको प्वालबाट सबै बाहिर गई धुवाँ रहित भएर घर कालो नहुने किसिमको आधुनिक चुलोहरु सेतीका कतिपय घरहरुमा अँझै चालु अवस्थामा देखिन्छन्।

५. कसेरा बारी निर्माणः नित्य भोजनको साथमा प्रयोग हुने ताजा तरकारीहरु खान पाइने गरी करेसा बारीको निर्माण गराइएको।

६. धारा नाउलाको पसफाईः गाउँमा रहेका कतिपय धारा नाउलाहरु बेला बेलामा सफाई र मर्मत गर्ने गरेको।

७. गाउँघरका बाटाहरुको मर्मत सम्भार र सुधार गर्ने गरेको।

८. पर्यावरणीय एवम् वातावरणीय सुधार गर्ने गरेको।

९. वन जंगलको सुरक्षा गर्ने गरेको।

१०. नून, चिनी र पानीको निर्माण र प्रयोग गर्ने गरेको।

११. सर्वोत्तम पिठोको निर्माण र प्रयोग गर्ने गरेको।

१२. बढी भएका फलफूल तथा तर्कारीहरुको पुनः प्रयोगका लागि जतन र संरक्षण गर्ने काम गर्ने गरेको।

१३. फलफूलका बोट वितरण र संरक्षण गर्ने कार्य गरेको।

१४.विभिन्न तर्कारीहरुका बिउ वितरण एवम् घर-घरमा करेसा बारीको निर्माण गर्ने गरेको।

१५.ग्रामीण वाचनालय निर्माण कार्यमा आर्थिक सहयोग प्रदान गरेको।

१६.ग्रामीण वाचनालयहरुमा विभिन्न विधाका पुस्तकहरु निःशुल्क उपलब्ध गराएको।

१७. ग्रामीण वाचनालयहरु राती ८ बजे देखि ९ बजेसम्म सञ्चालन गर्नका लागि क, श्रेणिका वाचनालयहरुलाई सोलर लाइटहरु प्रदान गरेको।

१८.ग्रामीण वाचनालयलाई Village Reading Centre  मात्र नभएर Village Developing Centre समेतको अवधारणा दिएर तदनुरुप गाउँका हरेक विकासात्मक कार्यको छलफल गर्ने तथा गाउँका अन्य सामाजिक समस्याहरुको समाधान गर्ने केन्द्रको रुपमा मानिएको थियो।

स्मरणीय छ, त्यस्ता वाचनालयहरु र राम्रो किसिमले प्रौढ कक्षाहरु चलेका एवम् निर्धारित १८ वटा प्रयोगात्मक कामहरु सु-सम्पन्न भएका गाउँमा मात्र सञ्चालित थिए भने, ती पनि सु-सञ्चालन र गाउँमा राम्रा गतिविधिहरु गराएका कारण क र ख श्रेणिमा वर्गिकृत समेत गरिएका थिए।

जो अद्यपि कतिपय ठाउँमा सञ्चालित रहेका छन्, परन्तु प्रस्तुत पंक्तिकारको जोरायल बेलटुक्रा स्थित गाउँमा सञ्चालित श्री भागेश्वर ग्रामीण वाचनालयले भने माओवादी द्वन्दकालको मध्य समयतिर वि.सं २०५८-२०५९ सालमा यौटा नमिठो परिणति देख्नु र भोग्नु परेको थियो।

त्यो के भने एक दिन माओवादीहरुको यौटा क्रुर जत्था आएर त्यो वाचनालयको ताला तोडी भित्र भएका कथा र उपन्यासका कितावहरु आ-आफूमा भागवण्डा गरेर झोलामा राखि बाँकी रहेका धार्मिक विधाका पुस्तकहरुलाई वाचनलय बाहिर फ्याँकेर त्यसमा मट्टितेल हाली सबै जलाई दिएको र वाचनालयमा रहेको सोलर लाइट (सौर्य बत्ती) समेत जबरजस्ती लुटेर लगेको दुःखद परिदृश्यको प्रत्यानुभूति प्रस्तुत पंक्तिकारलाई छ।

अब त्यहाँ सेती प्रोजेक्टले दिएको भवन र केही फर्निचरहरु बाहेक अरु केही पनि छैन। तैपनि कुनै सामुहिक छलफल गर्दा सबैको भेटघाट गर्ने थलोसम्म रहेको छ त्यो वाचनालय।

(ज) अनौपचारिक चेलीबेटी शिक्षा कार्यक्रम।

पाँचहप्ते चेलीबेटी शिक्षक तालिम स्रोतकेन्द्रमा सञ्चालन भएको र उक्त तालिम पछि बिहान ७-८ बजे देखि १०-११ बजेसम्म जम्मा ६ महिना सम्वन्धित शिक्षिकाको गाउँमा चेलीबेटी कक्षा सञ्चालन हुने गरेको थियो।

जसमा प्रौढ कक्षा जस्तै २५ जना चेली-बेटीहरु सहभागी हुनुपर्ने व्यवस्था थियो भने, प्रौढ कक्षा जस्तै तर सहज प्रयोगात्मक कामहरु पनि सम्पन्न गर्नु पर्दथ्यो-जसमा साक्षरता, सचेतना तथा जीवनोपयोगी ज्ञान सीप सर-सफाई, शौचालय निर्माण, करेसा बारी बिउ-विरुवा वितरण गर्ने व्यवस्था थियो। उपर्युक्त प्रौढकक्षा तथा चेलीबेटी कक्षाहरुको सेती परियोजनाद्वारा प्रत्येक महिना नीरिक्षण र अनुगमन समेत हुने गर्दथ्यो।

(झ) सेती प्रोजेक्टमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन

– प्रमुख प्राविधिक सल्लाहकार ( C.T.A.),

– सह-निर्देशक,

– योजना तथा मूल्यांकन विशेषज्ञ,

– पाठ्यक्रम विशेषज्ञ,

– प्रौढ तथा चेलीबेटी शिक्षा विशेषज्ञ,

– स्रोतकेन्द्र विशेषज्ञ,

– शिक्षक तालिम विशेषज्ञ,

– इञ्जिनियरिङ्ग विशेषज्ञ,

– को-अर्डिनेटर र सिनियर फिल्ड को-अर्डिनेटर सहित अन्य आवश्यक कर्मचारी तथा कार्यलय सहायकहरु।

तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सेती परियोजनाको सुरुवातदेखि समापनसम्म रहेका प्रमुख प्राविधिक सल्लाहकारहरुमा सुरुमा-Nicolas Benet  र विश्रान्ति तिरPeter Crowley  थिए, जो दुबै विद्वान्, सभ्य, स्नेही, सहयोगी तथा सद्भावकर्ता थिए।

ती दुबै जनाको निर्देशन र अन्य कर्मचारीहरुको सक्रियतामा सेती प्रोजेक्टले यस सुदूरका क्षेत्रहरुमा निक्कै गति र गन्तव्य लिएको कुरा सर्वविदित छ।

प्रसङ्गवस सेती प्रोजेक्टको सुरुवाती समयका सि.टी.ए.निकोलास बेनेटको पालामा विद्यालयहरुमा राम्रो गतिविधि सञ्चालन गरिएको कारण डोटीको जोरायल स्थित श्री शिवपुर प्रा.वि.बाट यो पंक्तिकारलाई छोटो समयको विदेश भ्रमणमा फिलिपिन्स शहरको लागि छनौट गरिएकोमा त्यतिखेर पद्म पब्लिक मा.वि.सिलगढी डोटीका प्र.अ.सीताराम श्रेष्ठले उक्त भ्रमणकालागि लिष्ट नामबाट मेरो नाम काटेर आफ्नो नाम समावेश गरी विदेश भ्रमण लिएकोमा भने मलाई आजसम्म पनि अविस्मरणीय पीडाको अनुभूति भएको छ, जसकालागि सि.टि.ए. निकोलास बेनेट प्रति म कृतज्ञ छु भने, मेरो खुट्टा तानेर आफ्नो अवसर सफल पार्ने पद्म पब्लिक मा.वि. सिलगढी डोटीका तत्कालिन प्र.अ. सीताराम श्रेष्ठ प्रति म आजिवन क्रमवद्ध रहने छु। मलाई दुःखानुभूति भएको यसैमा हो।

समग्रमा सेती प्रोजेक्टको सहयोग र कार्य कुशलताको जति प्रशंसा गरे पनि त्यो कमै हुन्छ। त्यस्तो विकासप्रेमी संस्थाहरु सायद विश्वमै बिरलै भेटिन्छन्। त्यस परियोजनाका सम्पूर्ण क्रियाकलापहरु राम्रा, अति राम्रा एवम् सर्वोत्तम हुँदा-हुँदै पनि नेपालमा वि.सं २०४६ सालको राजनैतिक परिवर्तन पछि वि.सं २०४७-०४८मा यस सुदूर नेपाली परिधि र परिसरबाटै सेती परियोजना फेजआउट एजबकभयगत (समाप्त) गरिएकोमा अत्यन्तै दुःखानुभूति भएको छ। जाँदा–जाँदै त्यतिबेला त्यस प्रोजेक्टमा सेवारत निम्नवत् विद्वान् शुभचिन्तक मित्रहरुलाई म हृदयदेखि नै सम्झन र श्रद्धा व्यक्त गर्न चाहन्छु।

– (Late) C.T.A. Nicolas Benet

-C.T.A. Peter Crowley

– डा.विद्यानाथ कोइराला

– चन्द्रदीप सिंह

– उत्तमप्रसाद उपाध्याय

– दामोदर पन्त

– यज्ञराज पन्त

– सदानन्द कडेल

– स्व.रोहित प्रधान

– इन्द्र बहादुर के.सी.

– गोपाल प्रसाद अधिकारी

– राममणि दहाल

– नन्द किशोर जोशी लगायत अन्य नाम सम्झन नसकेका स्वदेशी तथा विदेशी विद्वान्हरुका साथै अन्य सबै शुभ चिन्तकहरुप्रति प्रगाढ श्रद्धा एवम् सम्झना छ।

विश्रान्ति-

सेतीको परियोजना विलय भो – कर्तव्य राम्रा गरी।
सेतीका घर गाउँ क्षेत्रहरुमा- सद्ज्ञान नौलो छरी।।
संस्था शिक्षणका निमित्त पनि त्यो- आभा बन्यो दीप झैं।
ती जम्मै परिवेश पूर्व दिनका- सम्झिन्छु मैले अँझै।।

सन्दर्भः

१.सेती परियोजना सञ्चालन भए देखि समापन हुँदा सम्मका त्यस संस्थाप्रतिका आफ्ना आत्मिक अनुभूतिहरु।

२. विद्वान् मित्र उत्तमप्रसाद उपाध्यायद्वारा प्राप्त भएका प्रेरण सुझाव र सल्लाहहरु।

३.जनप्रकाश मा.वि. कोल्टी बाजुरा द्वारा वि.सं २०७८ सालमा प्रकाशित शैक्षिक स्मारिकाको अध्ययन र अवलोकनबाट प्राप्त वस्तुगत टिप्पणीहरु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *