डडुवाका पहिरो पीडित थामी समुदायलाई २२ अस्थायी आवास हस्तान्तरण

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको मजुवा दलेचौरका बाढी पहिरोपीडितलाई अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ।
गएको भदौ ८ गते र असोज १२ तथा १३ गतेको अविरल मुसलधारे वर्षाले सो बस्तीमा बाढी पहिरो जाँदा २७ घरमा क्षति पुगेका थिए।
बाढी पहिरोले जमिनसमेत कटान गरेपछि मानव बस्ती जोखिममा परेको थियो। सो घटनामा पशुपंक्षी तथा चौपाया समेत मरेका थिए।
विपद्पछि पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ र स्थानीय समुदायले प्रयास गर्दै आएका थिए। सोही प्रयासको विभिन्न संस्थाको सहयोगमा अस्थायी आवास निर्माण गरी स्थानीलाई हस्तान्तरण गरिएको हो।
स्थानीय टोल सुधार समितिका संयोजक कुलबहादुर श्रेष्ठको सभाध्यक्षयता र नेकपा एमाले बागमती प्रदेश कमिटीका सल्लाहकार सदस्य समाजसेवी टङ्क चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीयलाई २२ वटा अस्थायी आवास टहरा हस्तान्तरण गरिएका हो।
कार्यक्रममा वडा अध्यक्ष प्रेमकुमार लामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा पीडित बासिन्दाहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि टङ्क चौलागाईंले विपद्का समयमा राजनीतिक, सामाजिक र सामुदायिक तहबाट एकीकृत पहलको खाँचो औँल्याउँदै स्थानीय पीडितहरूको पीडामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे। ‘यो केवल टहरा हस्तान्तरण मात्र होइन, आशा र पुनर्निर्माणको थालनी हो’, उनले भने।
वडाध्यक्ष प्रेमकुमार लामाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे प्रकाश पार्दै आगामी दिनमा थप दीर्घकालीन समाधान खोजिने बताए। उनले अहिलेलाई ओत लाग्ने ठाउँ बनेको बताउँदै अब सुरक्षित बसोबासका लागि जग्गा व्यवस्थापन र स्थायी घर निर्माणतर्फ केन्द्रित हुने जानकारी दिए।
गएको भदौ र असोज महिनामा आएको बाढी पहिराले गाउँ नै बस्न नहुने गरी छियाछिया भएपछि डडुवाका थामी समुदाय घरबार विहीन भएका थिए। एउटै त्रिपालमुनि ३० जनासम्मले सामूहिक रूपमा रात काटेका थिए। स्थानीयले एउटै चुल्होमा महिनौँसम्म खाना खाएका थिए।
ठूलो विपतमा परेको थामी समुदायलाई गैरसरकारी संस्था महासंघ नेपाल रामेछाप र नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको पहलमा जस्ता पाता प्रदान गरिएको थियो। गैरसरकारी संस्था महासंघ नेपाल रामेछापको पहलमा सामाजिक संस्थाहरू मार्फत ५४ बण्डल जस्तापाता उपलब्ध भएको थियो भने वडा पार्टीको प्रयत्न र नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम तथा सल्लाहकार सदस्य टङ्कप्रसाद चौलागाईँको समन्वयमा ८० बण्डल जस्ता पीडित परिवारलाई उपलब्ध गराइएको वडा सदस्य मंगले थामीले जानकारी दिए।
Facebook Comment