कविता : ऐना

तोमनाथ उप्रेती
३ साउन २०८२ ७:०३
56
Shares
ऐना,
तिमी केवल काँचको टुक्रा हैनौ,
तिमी अनुहारको छायाँ मात्र हैनौ,
तिमी हौ आत्माको आवाज,
जो चुपचाप सोध्छ-
‘तिमी साँच्चिकै को हौ?’
तिमीमा हेर्दा देखिन्छन्,
कालो अनुहारका रेखाहरू,
अनगिन्ती इच्छाहरूको बोझ,
अरूको नजरमा राम्रो देखिन खोज्दा
अल्झिएको आत्माको चिसो धुवाँ।
तिमीमा हेरिरहन्छ किशोर,
नाकको उचाई, छालाको रंग,
कपालको तरंग, ओठको मुस्कान-
तर तिमी त भन्छौ,
‘केवल रूप होइन, आत्मा पनि हेर।’
नेपालका गल्लीहरूमा
घाम छायाँ बनेर लुकेका छन्,
नैतिकताका भाषण गर्नेहरूको अनुहार
घुसका दागले भरिएको ऐनामा झल्किन्छ,
अनि प्रश्न उठ्छ-
‘मैले के गरें?’
तिमी देखाउँछौ नेताको भाषण,
घोषणापत्रका रंगीन वाचा,
तर छायाँमा देखिन्छ,
लालचका पखेटा, लोभका आँखा,
कुर्सीमा अडिएको स्वार्थको मुस्कान।
ऐना,
तिमी त गहिरो प्रश्न हौ,
‘के मैले आफ्नो कर्तव्य पूरा गरें?’
‘के मैले अरूको दोष खोज्नु अघि
आफ्नो अनुहार हेरें?’
विद्यालयका डेस्कमा बसेका बालकलाई,
कलेजका गेटमा उभिएका युवालाई,
कार्यालयका फाइलमा हराइरहेका कर्मचारीलाई,
तिमी सोध्छौ-
‘के तिमी साँचो हौ? के तिमी विवेकी हौ?’
समाजले भन्यो-
अरूको गल्ती देख, चुक देख, दोष देख,
तर तिमी भने भन्न थाल्यौ-
‘पहिला ऐनामा हेर,
तिमी आफैंलाई देख, बुझ, बदल।’
तिमीमा मुस्कान सहित हेरियो भने,
सकारात्मक ऊर्जा उम्रिन्छ,
नकारात्मकता पग्लिन्छ,
परिवर्तनको आँधी जन्मिन्छ,
मनको डर हराउँछ।
ऐना,
तिमी क्रान्ति हौ,
नाराका भाषणभन्दा ठूलो,
राजनीतिक पोस्टरभन्दा ठुलो,
तिमी परिवर्तनको ढोका हौ।
हामी तिमीलाई अनुहार मिलाउन मात्रै होइन,
आत्मा सुधार्न हेर्न सुरु गरौं,
हामी तिमीलाई सौन्दर्य जाँच्न मात्रै होइन,
आफ्नो कर्मको मूल्यांकन गर्न हेर्न थालौं।
किनकि ऐना,
तिमीमा देखिन्छ,
सत्यको प्रतिबिम्ब,
आशाको रेखा,
र परिवर्तनको सुरुवात।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *