कविता : बोलिरहेछु शिक्षक म 

प्रकाशचन्द्र खतिवडा
१० साउन २०८२ ७:२१
88
Shares
मस्त निन्द्रामा सुतिरहेका
दुःख र व्यथामा पिल्सिरहेका
स-साना अवोध नानीहरुको मष्तिष्कलाई
सृजनाका बाँसुरी बजाएर
निन्द्राबाट ब्युझाउँदै
इतिहासको किल्ला बाट
यो जंगबहादुर हो
कोतको हत्या काण्डको नाइके भन्दै
बोलिरहेछु शिक्षक म।
पहाड भित्रको एउटा दुर्गम गाउँबाट
व्यथाको विनिमय गर्दा गर्दै
दुखित बाबु आमाहरु
अभिशप्त भोकले पिल्सिएका
छोरा छोरीको निन्याउरो अनुहार हेर्छन्
र माथि डाँडामा भएको
थोत्रे स्कुललाई नियाल्ने गर्छन
म डाँडाबाट उघो फर्किएर
गाउँलेहरुलाई  आह्वान गर्छु
आउ संघर्ष गरौं
नाङ्गो आङ कति दिन बस्ने?
रित्तो पेट कतिन्जेल ठटाउने?
खुला आकाश मुनि बिचरण गरी
हारेर कतिन्जेल बाँच्ने जिन्दगी?
अब हाम्रै हातहरुले सिर्जना रोप्नु पर्छ भन्दै
बोलि रहेछु शिक्षक म।
बोलि रहेछु
कहिले भोकसँग जुझ्दै
कहिले रोगसँग लड्दै
कहिले लाठी र बुटसँग जुझ्दै
कहिले फलामे सिक्रीसँग लछारिँदै
अनवरत बोलिरहेछु
हिटलरको ग्यास च्याम्बरबाट चिच्च्याउँदै।
स-साना नानीहरु इतिहास सोध्ने गर्छन्
म नानीहरुको तर्क सुनेर टोलाउने गर्छु
कठै, यी अबोध नानीहरु
कसरी दुःखका गीत गाउँन खोज्छन्?
कसरी पीडाका भाव साट्न खोज्छन्?
म मुटु गरुङ्गो पार्छु
र सान्त्वना दिँदै भन्छु
एउटा इतिहास सुन
जो क्रुर छ
अत्याचारी छ
निरङकुश छ
यो इतिहासको कालो पानाबाट
धेरै दुःखहरु नकोट्याउ
आउ एउटा कालो युगको अन्त्य गरौ भन्दै
बोलिरहेछु शिक्षक म।
जो कायर थिए
जो निर्मम हत्यारा थिए
तीनै बाट प्रताडित भएर
म शिक्षक पटक पटक मारिएको छु
कायरहरुलाई तह लगाउँदै
सुनौलो इतिहास कोर्ने मूलबाटोमा अघि बढ्दै जाँदा
म तरबारको धारमा रेटिएको छु
बन्दुकको संङ्गिनमा रोपिएको छु
फलामे जान्जिरले बाँधिएको छु
कयौं बज्रपात सहेर पनि
कहिल्यै यात्रामा थाकेको छैन
कहिल्यै युद्ध बाट हारेको छैन
समाजका विकृतिहरु हटाउँदै
अन्ध परम्परा तोडेर
अनवरत
पुनः इतिहासका किल्लाबाट
यो जंगबहादुर हो
कोतको हत्या काण्डको नाइके भन्दै
बोलिरहेछु शिक्षक म।
दुःखित बा-आमाहरु आएर भन्छन
कि मास्टर नानी
कसरी बाँच्ने हो अब ?
कसरी हाँस्ने हो अब ?
यो शरीर जीर्ण भै सक्यो
वर्षौ बाट अत्याचारले पिल्सिँदा
न एक मुठी खानै पाइयो
न त एक आङ लगाउनै पाइयो
हेर्नोस् यी छोरा–छोरीको भविष्य
अन्धकारो गुफामा जाक्कि सक्यो।
म पीडाले रन्थनिएर
क्रुद्ध खहरे जस्तै बन्छु
भावना बहन्छन
म भाववेशमा भन्छु
पख्नोस्
यो आकाश हाम्रै हो
यो धरती हाम्रै हो
क्षितिजबाट नयाँ बिहान भित्र्याउन
सूर्यलाई निमन्त्रणा दिनु पर्छ
यी कर्मठ हातहरुले
देशको रक्तिम इतिहास लेख्नु पर्छ भन्दै
बोलिरहेछु शिक्षक म।
सुन्दरहरैंचा-०६, दुलारी, मोरङ

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *