खडेरीले खेतका धाँजा फाट्न थालेपछि … (तस्बिर)
रौतहट। रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन।
केहिले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फट्न थालेको छ। रौतहट सहित मधेश प्रदेशका जिल्लामा सिचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ।
चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार आकाशे वर्षा नहँुदा धानबाली सहित जीव-जनावर र मानवलाई समेत समस्या परेको छ।
आफूले मंहगो रकम खर्च गरेर मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फुट्न थालेको गुनासो गरेका छन।

अहिले खडेरीका कारण स्यालो ट्युबवेल र मोटरमा पानी पनि आउन छाडेको उनको भनाइ छ।
‘यहाँ चारैतिर सुक्खा छ,’ उनले भने। आकाशे वर्षा नहुँदा सबैलाई चिन्ता छ। आकाशे वर्षा कुरेर बसेका किसानहरुको रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको उनले बताए।

यस वर्ष धान रोपाइँ कम भएको र खडेरीले जोगाउन मुस्किल भएकाले उत्पादन अपेक्षा अनुसार नहुने उनको दुखेसो छ। यहाँ बाग्मती, चादी, बकैया , झाझ, अरुव नदी तथा नहरको पानीबाट खेतीयोग्य जमिनमा धान रोपाई हुने गर्दछ।
तर नदी तथा नहरको पानी प्रर्याप्त नहुँदा संकट भएको कृषि ज्ञान केन्द्र गौरका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए। अहिलेसम्म ५५ प्रतिशत मात्र धान रोपाइँ भएको उनले जानकारी दिए।

यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६० देखि ६५ प्रतिशत रोपाइँ भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा भने ४५ प्रतिशत मात्र भएको उनको भनाइ छ। रौतहटमा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७ सय हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ।





No ads found for this position

डिसी नेपाल
Facebook Comment